कराँतेमा अब्बल आर्यन
आर्यन रञ्जित ६ वर्षका मात्र भए। क्यामेलिया स्कुल कालिमाटीमा कक्षा ३ मा पढ्ने उनी कराँते खेलाडी पनि हुन्। सानो कदका आर्यनलाई झट्ट हेर्दा कसैले पनि कराँतेका अब्बल खेलाडी हुन् भनेर पत्याउँदैनन्। तर उनले सानै उमेरमा हासिल गरेका सफलता हेर्दा सबैलाई आश्चर्य लाग्न सक्छ। आर्यनले विभिन्न प्रतियोगितामा सहभागिता जनाउने मात्र होइन, थुप्रै पदकसमेत जितिसकेका छन्।
केही महिना अगाडि थाइल्यान्डको राजधानी बैंककमा आयोजित कराँते प्रतियोगितामा पनि उनी सहभागी भएका थिए। काठमाडौंमा आयोजना भएको पहिलो काठमाडौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पनि उनी विजयी भएका थिए। उनले फाइनलमा भारतीय खेलाडीलाई ६–२ अंकले पराजित गर्दै स्वर्ण पदक जितेका थिए। आर्यनले उक्त प्रतियोगितामा स्वर्ण पदक मात्र जितेनन्, प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भए।
यसैगरी गत सेप्टेम्बरमा सिंगापुरमा आयोजना भएको ३८औं इन्टरनेसनल कराँते च्याम्पियनसिपमा पनि आर्यनले कांस्य पदक जिते। करिब दुई महिना अघि भारतमा आयोजना भएको आईमास वल्र्ड कराँते च्याम्पियनसिपमा पनि उनले स्वर्ण पदक जिते। ८–९ उमेरसमूहमा प्रतिस्पर्धा गरेका उनले करिब आधा दर्जन राष्ट्रका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका थिए।
आर्यनले कराँते सिक्न थालेको करिब डेढ वर्ष मात्र भयो। उनका बुवा सञ्जय रञ्जित कराँतेका वरिष्ठ रेफ्री तथा प्रशिक्षक हुन्। आर्यनले बुवाबाटै कराँतेको औपचारिक शिक्षा लिँदै आएका छन्। उनी घरमा त कराँते सिक्छन् नै। स्कुलमा पनि सिक्ने गरेका छन्। उनले प्रतियोगितामा २० किलोमुनिको तौलसमूहमा प्रतिस्पर्धा गर्दै आएका छन्। यसबाहेक कतिपय प्रतियोगितामा उमेरसमूहमा पनि प्रतिस्पर्धा गर्दै आएका छन्।
सञ्जयले विगत १५ वर्षदेखि क्यामेलिया स्कुलमा कराँते सिकाउँदै आएका छन्। स्कुलमा टेबलटेनिस, बास्केटबल, फुटबल, तेक्वान्दोलगायतका खेल सिकाइने भए पनि आर्यनलाई भने कराँते नै मन पर्छ। ‘देशका लागि केही गर्न सक्छु र यसबाटै नाम पनि कमाउन सक्छु भनेर कराँते रोजेको हो’, आर्यनले सटिक जवाफ दिए। भविष्यमा पनि कराँते खेलमा नै लाग्ने उनको रुचि छ।
उनी खेलकुदबाहेक मोडलिङमा पनि सक्रिय रहँदै आएका छन्। उनले धेरै ¥याम्प सोहरूमा मोडलिङ गरिसकेका छन्। ¥याम्पमा उत्रँदा आर्यनले एक पटकको १० हजार रुपैयाँसम्म लिने गरेका छन्।
आर्यन खेलकुदका साथै पढाइमा पनि अब्बल छन्। क्यामेलिया स्कुलका प्रिन्सिपल रुद्रमणि अधिकारी आर्यन पढाइमा राम्रो हुनुका साथै अनुशासित विद्यार्थी रहेको बताए। आर्यनका बुवा सञ्जयले पनि हरेक दिन रुटिन बनाएर खेल्ने र पढ्ने समय मिलाइदिएकाले छोरा खेलकुद र पढाइमा अब्बल रहेको बताए।