रोल्पामा चौंथो पटक हिमपात : विद्यालय बन्द, युवापुस्ता हिउँमा रमाउँदै
रोल्पा : भारी हिमपातले रोल्पाका पहाड र गाउँ सेताम्मे भएका छन्। बुधबार बिहानैदेखि हिमपात भइरहेको छ। हिमपातका कारण उत्तरी भेगका विद्यालय बन्द भएका छन् भने जनजीवन कष्टकर बनेको छ। रोल्पामा एक महिनामा चारपटक हिमपात भएको छ।उत्तरी भेगमा वर्षेनी पटकपटक हिमपात हुने गरेको भएपनि जिल्लाको मध्यपहाडी गाउँमा हिमपात वर्षौंपछि भएको हो। 'फागुनको आधाआधीमा हिमपात विरलै हुन्छ। यस साल अचम्मै भयो,' माडीगाउँपालिका-६ कोर्चाबाङका कमन बुढामगरले भने।
हिमपातले जनजीवन कष्टकर भएको गंगादेव गाउँपालिका कार्यपालिका सदस्य तुलबहादुर जीएमले बताए।बिहानैदेखिको लगातार हिमपातले गाईवस्तु गोठमै थुनिएका छन्। विद्यालय खुलेका छैनन्। रोल्पा नगरपालिका-९ लिउनस्थित बागेश्वरी माध्यमिक विद्यालयकी शिक्षिका हुमाकुमार घर्तीमगरले भारी हिमपातले विद्यालय बन्द गर्नु परेको बताइन्। 'घण्टौं टाढाबाट विद्यार्थी स्कुल आउनुपर्छ। हिमपातले घर बाहिर निस्क नसक्ने अवस्था छैन, शिक्षिका घर्तीमगरले भनिन्, 'चिसोले कठ्यांग्रिने डरले स्कुल बन्द गरिएको हो।'
यहाँको उत्तरी भेग हिउँले ढाकिएको छ। अग्ला पहाड र गाउँ हिउँले छपक्कै छोपिएका छन। उत्तरी अग्लो पहाड जलजला, थबाङ, कुरेली, मिरुल, उवा, गाँम, सिउरी, सेरममा भारी हिमपात भैरहेको छ।सदरमुकाम लिबाङको सातदोबाटो डाँडामा पनि हिउँ परेको छ। थबाङ, सुनछहरी र परिवर्तन, गंगादेव, माडी गाउँपालिका र रोल्पा नगरपालिकाका उत्तरी भेगका करिब एक सय विद्यालय बन्द भएका छन्। हजारौं विद्यार्थीको पढाई प्रभावित भएको छ ।
हिउँदे बाली लगाएपछि वर्षात नहुँदा चिन्तित भएका यहाँका किसान एक महिना अघि हिमपात हुँदा खुशी भएका थिए। सिंचाईको सुविधाविहीन किसान हिउँदको वर्षा र हिउँको भरमा बाली सप्रने आशामा छन्। हिउँ नपरेपछि गहुँ, जौं बारीमै सुक्न थालेका थिए। हिउँ परेपछि गाउँले 'सुविकाल' (अन्न बाली उब्जनी बढ्ने) आशामा छन् । लगातारको हिमपातले भने जनजीवन प्रभावित भएको छ।
हिउँ परेपछि धाराको पानी समेत जमेको छ। 'गाईवस्तु गोठमै छन्। घाँसपात गर्न कठिनाई छ।चिसोले बालबालिका, वृद्धवृद्धा, दमका रोगीलाई अप्ठ्यारो परेको छ। पटकपटको हिमपात भएपछि बैंशालु पुस्ता भने हिउँसँगै सेल्फी खिच्न र हिउँमा रमाउन व्यस्त छन्। लगातारको वर्षातले ग्रामीण कच्ची सडक अवरुद्ध भएका छन्। सडक हिलाम्मे र चिप्लो भएकाले साना ठूला सवारी साधन चल्न कठिन भएको छ।