हार्दिक श्रद्धाञ्जली
सबै दुर्घटना दुःखद हुन्छन् । तर कुनै–कुनै दुर्घटना ठूलो आयतन बोकेर आउँछन् । तिनले ठूलै शोक दिलाउँछन् । मुलुकले त्यही अनुभूत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, व्यवसायी आङछिरिङ शेर्पासहित चढेको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकोप्टरमा सवार सातैजनाको निधन भयो । मन्त्री अधिकारी युवा नेताहरूमा लोकप्रिय मानिन्थे । व्यवसायमा शेर्पाको फट्को पनि अनुकरणीय थियो । साथमा उच्चपदस्थ अधिकारीदेखि राजनीतिक सल्लाहकार र सुरक्षाकर्मीसमेत परेका छन् । यसबाट देशलाई अपूरणीय क्षति पुगेको छ ।
नेपाली आकाश आफैंमा असुरक्षित छ । भौगोलिक बनावट र परिवर्तन भइरहने मौसमको चुनौती त उड्डयन क्षेत्रमा छँदैछ, प्राविधिक असुरक्षा उत्तिकै जिम्मेवार छ । यो दुर्घटनाको भने विस्तृत कारण तत्काल खुल्न सकेको छैन । सरकारले छानबिनबाट पक्कै पत्ता लगाउनेछ । त्यसभन्दा ठूलो कुरा ती कारण निवारणमा दत्तचित्त भएर लाग्नुपर्ने हुन्छ । नत्र पुनः यस्ता दुर्घटना दोहोरिइरहनेछन् । मुलुकले ठूलो क्षति व्यहोर्ने, दुःख व्यक्त गर्ने, शोकाकूल हुने शृंखलामै यो सकिनेछ ।
२०६३ असोज ७ मा ताप्लेजुङको यही इलाकामा हेलिकप्टर दुर्घटना भएको थियो, जसमा तत्कालीन मन्त्री गोपाल राई, विद्वान् डा. हर्क गुरुङलगायतको निधन भएको थियो । पुनः ताप्लेजुङमै अर्का मन्त्री हेलिकप्टर दुर्घटनामै परेका छन् । यहाँको भौगोलिक अवस्थिति, मौसमको प्रतिकूलता वा के समस्या छ, त्यहाँ उडान गर्दा के–के सतर्कता अपनाउनुपर्छ भन्ने विज्ञहरूले पहिचान गर्नुपर्छ । उड्डयनकर्ताले त्यसको पालना गर्नुपर्छ । अर्कोतिर, कतिपय अवस्थामा पाइलटलाई उडाउनैपर्ने दबाब हुन्छ । विशिष्ट पाहुनाको हतारोका ती वाधक बन्न सक्दैनन् ।
एकै दिन धेरै फन्को लगाउनुपर्ने, तराईदेखि हिमालसम्मको मौसममा तत्काल ‘फिट’ हुन सक्नुपर्ने बाध्यता आइलाग्छ । यस्ता कारण पनि विगतमा दुर्घटना भएका छन् । बुधबारको दुर्घटनापछि ताप्लेजुङका सांसद नेकपा नेता योगेश भट्टराईले फेसबुक स्टाटस लेखेका छन्, ‘भीआईपी उडानमा पाइलटसहित पाँचजनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरूले । तर आज मौसम खराब हुँदाहँुदै सातजनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’ किनकि सानो खेलाँचीले ठूलो दुर्घटना निम्त्याउन सक्छ, जसको चोट देशले वर्षौंवर्ष सहनुपर्ने हुन सक्छ ।
सामान्य सावधानी अपनाउँदा टर्ने दुर्घटना पनि दुर्भाग्यवश भइरहेका छन् । नेपालमा बर्सेनि आधा दर्जनभन्दा बढी हेलिकप्टर र जहाज दुर्घटना हुने गरेको तथ्यांक छ । नीतिगत रूपमा मात्र होइन, व्यावहारिक रूपमा पनि उडान सुरक्षालाई प्रभावकारी नबनाइँदा दुर्घटना बढ्दै गएको छ । अधिकांश दुर्घटना खराब मौसमका कारण हुने गरेको प्रतिवेदनहरूले देखाउँछन् । उडान भर्ने क्षेत्रको मौसमी जानकारीविना त्यस क्षेत्रतर्फ जानु, मृतक पाइलटमाथि आरोप थुपारेर भित्री कारण ढाकछोप गर्नुले दुर्घटना झन् बढेका छन् ।
दुई महिनाअघि अल्टिच्युट एयरको हेलिकप्टर जंगलभित्र ठोकियो । पाइलटलाई प्राविधिक हिसाबले भौगोलिक जानकारी नहुँदा उक्त घटना भएको थियो । पाइलटलाई उडान भर्ने क्षेत्रको उचाइ, भौगोलिक बनावट, मौसमको जानकारी अवश्य चाहिन्छ । वायुयानको गुणस्तर, प्राविधिक अवस्था, मर्मत–सम्भारको स्थिति, दक्ष जनशक्ति आदिबारे प्रभावकारी अनुगमन–नियमन उत्तिकै खाँचो छ । सुरक्षित उडानमा सम्बन्धित निकायले कडाइ थाल्नुपर्छ र दुर्घटनाको दरलाई कम बनाउनुपर्छ ।
तेह्रथुमको आठराई चुहानडाँडामा निर्माण गरिने विमानस्थलको अनुगमन गरेर ताप्लेजुङको पाथिभरा हुँदै फर्किने क्रममा मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको थियो । नागरिक उड्ययनमन्त्री आफैं उड्यन असुरक्षामा पर्नु दुःखद हो । हरेक दुर्घटनामा भनिने–लेखिने सुरक्षाका यी विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । भौतिक, प्राविधिक, जनशक्तिगत सबै क्षेत्रमा आवश्यक परे लगानी बढाई सुरक्षाको प्रत्याभूति दिलाउनैपर्छ । जेजसरी हुन्छ, यस्ता दुर्घटना टार्न राज्यबाट पहल हुनैपर्छ । तब मात्र मन्त्री अधिकारी, व्यवसायी शेर्पासहित सबै दिवंगतप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।