पूरा होला मन्त्री अधिकारीको घोषणा ?

पूरा होला मन्त्री अधिकारीको घोषणा ?

तेह्रथुम : तेह्रथुमको चुहानडाँडामा तीन वर्षभित्रमा विमानस्थल बनिसक्ने घोषणा गरेको तीन घन्टा पनि नबित्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी संसारबाट बिदा भएका छन्। आठराई गाउँपालिका–६ चुहानडाँडाको थुम्कीमा बुधबार आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले विमानस्थल बन्ने प्रतिबद्धता जनाएपछि खुसीयाली मनाइरहेका आठराईबासी अहिले स्तब्ध बनेका छन्।

थुम्की हवाईमैदान अध्ययन र भ्रमणका लागि मन्त्रीको टोली आठराई आउने निश्चित फागुन १२ गते मात्रै भएको थियो। उच्चपदस्थ व्यक्तित्वहरू आउने भएपछि स्थानीयबासीले थुम्की क्षेत्र सजिसजाउ गरेका थिए। मन्त्रीको स्वागतका लागि बुधबार बिहान ७ बजेदेखि आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूलगायतका जनप्रतिनिधि र स्थानीय बासिन्दा हातमा फूलको माला बोकेर कार्यक्रमस्थलमा भेला भएका थिए।

बिहान करिब ९ः४३ तिर ६ जनाको साथमा मन्त्री अधिकारी हेलिकप्टरबाट थुम्कीमा अवतरण गरे। सयौंको उपस्थितिमा आयोजित भव्य कार्यक्रममा मन्त्री अधिकारीले आफ्नो भनाइ राख्दै तीन वर्षभित्र थुम्कीमा विमानस्थल बनिसक्ने घोषणा गरे। ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको निर्देशनमा म यहाँ आएको हुँ,’ उनले भनेका थिए, ‘अब जसरी पनि एयरपोर्ट बन्छ। तेह्रथुमेलीको समृद्धिको ढोला खुलिसक्यो।’ उनले विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकनका लागि एक साताभित्र वातावरणविद्को टोली पठाउने घोषणा पनि गरेका थिए।

मन्त्री अधिकारीले सरकारले एकपछि अर्को गर्दै सफलता हासिल गरेको जानकारी गराएका थिए। ‘जसले जे भने पनि हामी जनताका लागि गर्न भनेर मन्त्री भएका हौं,’ उनले भनेका थिए, ‘तपाईंहरू ढुक्क रहनुहोस्, अबको तीन वर्षपछाडि यहाँका जनताले गाउँबाटै हवाई यात्रा गर्न पाउनुहुनेछ।’

मन्त्रीको बोलीले विमानस्थल नै बनिसके जस्तो भान गराएको आठराई गाउँपालिका–६ का वडाध्यक्ष तेजप्रसाद लिम्बूले बताए। ‘मन्त्रीको बोलीमा एक किसिमको जादु थियो। उहाँले गरेका प्रतिवद्धताले ठूलो आशा र खुसी पलाएको थियो,’ उनले भने, ‘उहाँ बोलुन्जेल हामी सबैले मन्त्रमुग्ध भएर सुनिरह्यौं। तर तीन वर्षभित्रमा विमानस्थल बनिसक्ने खुसी र आशा बोकेर बसेका सिंगो तेह्रथुमे जनतासामु त्यो खुसी तीन घन्टा पनि टिक्न पाएन।’

मन्त्रीले उपयुक्त हिसाबबाट मुआब्जा वितरण गरिने बताएपछि विमानस्थल छेउका बासिन्दा पनि खुसी भएका थिए। मन्त्रीअघि प्रदेश सांसद तेजमान कन्दङवाले मात्र मन्तव्य राखेका थिए। लगत्तै गाउँपालिका अध्यक्ष लिम्बूले कार्यक्रमको समापन गरे। अर्गानिक गाउँले भोजन गरेपछि मन्त्री अधिरकारीले भनेका थिए, ‘यहाँसम्म आएपछि मुलुककै प्रसिद्ध तीर्थस्थल पाथीभरा पुगेरै फर्किनुपर्ला।’ कार्यक्रम सकेर बिहानको ११ः४२ मा अधिकारीसहितको टोली ताप्लेजुङको पाथीभरातर्फ लाग्यो।

पाथीभरा पुग्नै लाग्दा ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित तारेढुंगापारिको भीरमा हेलिकप्टर ठोकिएर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित हेलिकप्टरमा सातैजनाको ज्यान गयो।

विमानस्थलको लामै कथा

मन्त्री अधिकारीले तीन वर्षभित्रमा बनाइसक्ने घोषणा गरेको विमानस्थलको कथाचैं लामै छ। २०३२ सालमा चुहानडाँडा हवाई मैदान सरोकार समिति गठन गरेर आठराईबासी एयरपोर्ट बनाउने प्रक्रियामा अगाडि बढे। तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा २०३५ सालमा विमानस्थल बनाउने क्षेत्रको अवलोकन मात्र भयो। २०४९ सालमा प्रारम्भिक प्राविधिक सर्भे र २०६८ सालमा विस्तृत सर्भे भयो। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले विमानस्थलको नाम परिवर्तन गरेर भक्तराज स्मृति हवाईमैदान कायम गराए। भक्तराज तत्कालीन नेकपा माओवादीका पूर्व केन्द्रीय सल्लाहकार सदस्य थिए।

२०७१ मा विमानस्थलको अन्तिम सर्भे गरेर आर्थिक वर्ष २०७२/७३ मा ८७ करोड लागतमा स्टिमेट तयार भयो। तर काम अगाडि नबढेपछि गत वैशाखमा स्थानीय बासिन्दा सम्मिलित हवाई मैदान निर्माण समितिको टोली प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डेलिकेसन गएको समितिका सचिव रामचन्द्र थपलियाले बताए। ‘प्रधानमन्त्रीले एक वर्षभित्रमा विमानस्थल बन्ने प्रक्रिया सुरु हुन्छ भन्ने आवश्वासन दिनुभएको थियो। त्यसकै फलस्वरुप पर्यटन मन्त्रीसहितको टोली आउँदा हामी धेरै खुसी एका थियौं,’ उनले भने, ‘तर मन्त्री अधिकारी आएको दिन हाम्रा लागि निकै दुर्भाग्यपूर्ण बन्न पुग्यो। मुलुकमा केही गरौं भन्ने एक होनहार जनताका छोरालाई हामीले गुमाउन पर्‍यो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.