सफल उद्यमी आङछिरिङको अवसान

सफल उद्यमी आङछिरिङको अवसान

काठमाडौं : सोलुखुम्बुको पाङगोममा जन्मिएका आङछिरिङ शेर्पा २०३० तिर काठमाडौं प्रवेश गरेका थिए। दिदी आङदामी शेर्पाले सञ्चालन गरेको ‘शेर्पा सोसाइटी ट्रेकिङ एजेन्सी’ बाट ४० वर्षअघि भरिया बनेर पर्यटन क्षेत्रमा संलग्न आङछिरिङ नेपालका उत्कृष्ट व्यवसायी बन्न सफल भए। २०४० देखि थामसेर्कु ट्रेकिङ कम्पनी स्थापना गरी पर्यटन व्यवसायमा लागेका शेर्पाको मृत्युले देशकै अर्थतन्त्रमा क्षति पुगेको छ।

अब्बल व्यवसायी शेर्पाको बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भयो। ताप्लेजुङमै हेलिकप्टर दुर्घटनामा परी व्यवसायी शेर्पा, पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत सातजनाको मृत्यु हुँदा भयानक घुन्सा दुर्घटनाकै स्मरण भयो। ताप्लेजुङकै घुन्सामा २०६३ असोज ७ गते हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङलगायत २४ जना संरक्षणकर्मीको निधन भएको थियो।

आङछिरिङ परिवारमा भएको यो तेस्रो दुर्घटना हो। २०५५ सालमा उनका कान्छा भाइ टेन्डी शेर्पाको उद्धारमा खटिँदा सोलुखुम्बुको बासामा एमआई १७ हेलिकप्टर दुर्घटनामा ज्यान गएको थियो। भाउजू पासाङल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथा आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भएको थियो। पासाङल्हामु सगरमाथा आरोहण गर्ने प्रथम महिला हुन्। उनलाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेको छ। लाक्पा सोनाम, आङछिरिङ र टेन्डी शेर्पा तीन भाइमध्ये दुईजनाको हेलिकप्टर दुर्घटनामै ज्यान गयो।

आङछिरिङ होटल, एयरलाइन्स, हेलिकप्टर र दर्जनौं कम्पनी सञ्चालक थिए। पछिल्लो सयममा नेपालको नागरिक उड्डयन क्षेत्रको प्रभावशाली व्यक्तित्वको पहिचान बनाएका शेर्पा आन्तरिकतर्फ यती एयरलाइन्स, तारा एयरलाइन्स, एयर डाइनेस्टी र अन्तर्राष्ट्रिय उडानमा हिमालयन एयरलाइन्स सञ्चालन हुन्। यस्तै थामसेर्कु ट्रेकिङ एजेन्सी पर्यटन क्षेत्रकै उत्कृष्ट नाम हो। सफल व्यवसायीका रुपमा परिचित शेर्पा उत्कृष्ट राजस्व बुझाएबापत तीन वर्षसम्म निरन्तर पोजेरो गाडी उपहार पाउने व्यक्ति हुन्। आङछिरिङका पत्नी चन्दा राईसहित पासाङ र नुर्बु गरी दुई छोरा छन्। पासाङ र नुर्बु पनि विमान चालक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.