बिर्सिएकी छैनन् निरुता
काठमाडौं : नायिका निरुता सिंहले नेपाली चलचित्र उद्योगमा काम गरेको २५ वर्ष भयो। अभिनय र नृत्य कलामा उनी पारंगत छिन्। चलचित्र ‘दक्षिणा’बाट अभिनय यात्रा सुरु गरेकी निरुता अझै उस्तै सुन्दर लाग्छिन्। आठ वर्षपहिले नेपाली चलचित्र उद्योगको वातावरण बिग्रिएको भन्दै उनी भारत पलायन भइन्। अहिले पुनः ‘नाइँ नभन्नु ल–५’, ‘दालभात तरकारी’ र ‘क्याप्टेन’ फिल्मबाट उनको चर्चा चुलिएको छ। भन्छिन्, ‘यो क्षेत्रलाई माया मार्न सक्दिनँ। अभिनयको किरो जो ममा छ।’
निर्देशक तुलसी घिमिरेले निरुतालाई नेपाली फिल्म उद्योगमा ल्याएका थिए। सन् १९९३ आएको ‘दक्षिणा’पछि २००१ मा आएको ‘दर्पणछायाँ’ फिल्मले निरुतालाई लाइमलाइटमा ल्यायो। निरुता ती दिन सम्झँदै भन्छिन्, सुटिङ भन्नेबित्तिकै प्रत्येक दिन मलाई पहिलो दिनजस्तो लाग्थ्यो। सुटिङस्थलमा पुग्न हतारो हुन्थ्यो। बिहानै उठेर सबै कुराको तयारी जबरर्जस्त गरिन्थ्यो।’
निरुताले दपर्णछायाँमा कलेज गर्लको भूमिका निर्वाह गरेकी थिइन्। यो फिल्म नेपाली फिल्म उद्योगकै ठूलो ब्लकबस्टर्ड फिल्म साबित भयो। यही फिल्मले निरुता यस क्षेत्रमा बलियो अभिनेत्रीका रूपमा उभिइन्।
निरुताको जन्म सन् १९७२ अगस्ट १२ मा भारतको दार्जिलिङमा भएको हो। एकपछि अर्को हिट फिल्म दिँदै आएकी उनी एकाएक भारत पलायन भइन्। यसले नेपाली फिल्म उद्योगलाई ठूलो झट्का लाग्यो। फिल्मी वातावरण बिग्रिन थालेपछि आफूले यो क्षेत्रबाट ब्रेक लिएको निरुता बताउँछिन्, ‘त्यो समय मनोरञ्जन क्षेत्रलाई भद्दा रूपमा पर्दामा उतारियो।’
निरुताले इन्डस्ट्री छोड्ने समयमा नेपाली फिल्म उद्योगमा चारैतिरबाट लगानी भित्रिएको थियो। तर त्यसको सदुपयोग सही ढंगबाट हुन नसक्दा फिल्मी वातावरण बिग्रिन पुग्यो। फिल्म मेकरहरू सबै जानेर र बुझेर आएका थिएनन्। रहरको भरमा आएका थिए। निरुता भन्छिन्, ‘म यो क्षेत्रलाई पूजा गर्ने मान्छे। समय र अनुशासनमा बस्ने मान्छे। अग्रजलाई ढोग्ने मान्छे। तर उद्योगमा प्रवेश गरेका केही व्यक्तिले यी सब कुरालाई तोडे।’
नेपाली फिल्म उद्योगलाई निरुता सधैं माथि उठेको हेर्न चाहन्थिन्। अहिले त्यो सम्भव देखेको उनी बताउँछिन्। ‘कलाकारको क्षमताको कदर हुन थालेको छ’, उनी भन्छिन्। निरुताले ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छन्। हाल फिल्म उद्योगमा उनको पुनः उपस्थिति भएको छ। ‘फर्किन पाएकोमा म निकै खुसी छु’, उनले भनिन्, ‘यो सब नेपाली दर्शकको माया हो। मलाई त लागेको थियो सबैले मलाई बिर्सिसके।’
यति लामो ग्यापमा चलचित्र निर्माणमा धेरै परिवर्तन पाएकी छन् निरुताले। ‘प्रविधिमा निकै अघि बढेको पाएँ’, उनले भनिन्। लामो समयपछि क्यामराको अगाडि नृत्य गर्न लाग्दा निरुताले कोरियोग्राफर कविराज गहतराजलाई भनेकी थिइन् रे, ‘ननाचेको धेरै भयो। कम्मर मर्काउन सक्दिनँ होला।’ तर अभिनयको किरो त उनको रगत मै थियो।
फिल्म ‘दालभात तरकारी’मा उनले नृत्य गरेकोे ‘भिजिट भिसामा’ बोलको गीत युट्युबमा ट्रेन्डिङमा रहनु, फिल्म ‘क्याप्टेन’को ‘कर्लीकर्ली कपाल’ बोलको गीत धेरैले मन पराउनुमा निरुताको अभिनयकलाको ठूलो हात छ।
निरुता एकदमै धेरै रिहल्सल गर्ने नायिका हुन्। सकेसम्म वान टेकमै अभिनय गर्न सकियोस् भन्ने ठान्छिन्। अहिले फिल्म बनाउन नेपाली मेकरको लगाव देखेर निरुता दंग छिन्। आफ्नो प्रतिभालाई अहिलेका फिल्म क्षेत्रले मनन गरेको उनी ठान्छिन्। उनी हाँस्दै भन्छिन्, ‘अहिले थुप्रै फिल्म र आइटम सङका लागि अफर आइरहेको छ।’