उदयपुरको शाहीखोलामा निःशुल्क स्वास्थ्य शिविर
गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका-१६ शाहीखोलामा बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। त्रियुगा नगरपालिका, आधारभूत स्वास्थ्य सेवा तथा सरसफाइ कार्यालय र १६ नम्बर वडाको आयोजनामा भएको शिविरमा पाठेघर खस्ने रोगीको स्क्रीनिङ, रिङपेशरी तथा भीआइएसम्बन्धी जाँच गराइएको थियो।
शिविरमा सबैखाले साधारण चेकजाँच, परामर्श तथा औषधि वितरण गरिएको थियो। स्वास्थ्य कार्यालय उदयपुर, ओरेक नेपाल उदयपुर र रक्तमाला सामुदायिक वन उपभोक्ता समूह शाहीखोलाको सहयोग रहेको शिविरमा नगरपालिकाभित्र रहेका दुर्गम गाउँवस्तीका सर्बसाधारणले स्वास्थ्य जाँच गराएका थिए।
आधारभूत स्वास्थ्य सेवा तथा सरसफाइ प्रमुख रामसेवक यादवका अनुसार शिविरमा महिला चिकित्सक तथा कर्मचारीको व्यवस्था मिलाइएकाले स्वास्थ्य जाँच गराउने महिलाको संख्या बाक्लो थियो।
शिविरमा अधिकांश महिलाले पाठेघरसम्बन्धी चेकजाँच गरेको सिनियर अहेव अवधनारायण यादवले बताए।जनचेतना, आर्थिक लगायतका कारणले स्वास्थ्यको पहुँचबाट टाढा रहेका वडाबासीलाई गाउँघरमै सुविधा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको वडाध्यक्ष मानबहादुर राईले बताए।
स्वास्थ्य शिविरसँगै अन्य जनताको कामहरु पनि शिविरमा गरिएको उनले बताए। वडाबाट हुने सर्बसाधारणको सिफारिस, व्यक्तिगत घटना दर्ता जस्ता कामका साथै विउविजन वितरण र वृद्धवृद्धालाई न्यानो दोसल्ला वितरण कार्यक्रम पनि भएको थियो।