युद्ध होइन समाधान खोजौं

युद्ध होइन समाधान खोजौं

भारत–पाकिस्तानबीच बढ्दो तनावले दक्षिण एसियालाई आक्रान्त बनाएको छ। कस्मिरका स्थानीय थातथलो छाडेर भाग्न थालेका छन्। ७१ वर्षअघि बेलायतीले रोपेको बीउ कस्मिर क्षेत्रका लागि दीर्घरोग बनेको छ। यही क्षेत्रको विषयलाई लिएर पटक–पटक भएका लडाइँपछि दुवै देशले निकास निकाल्दै आएका थिए। कस्मिरलाई एकअर्कामा भाग लगाइयो। अनि भनिएको छ, भारत प्रशासित र पाकिस्तान प्रशासित जम्बु–कस्मिर। काल्पनिक धर्का अर्थात् लाइन अफ कन्ट्रोल (एलओसी)। त्यही क्षेत्रमा लगातार गोली हानाहानका साथै बमसमेत प्रहार हुन थालेपछि दुवै मुलुकबाट प्रशासित कस्मिर नागरिक थातथलो छाड्न बाध्य भएका हुन्।

कतिपय लामो समयदेखि उपयोगमा नआएका बंकरमा गुजारा गर्ने तयारीमा छन्। केही नयाँ बंकर निर्माणमा जुट्दै। इन्टरनेट काटिएको छ, फोन पनि भरपर्दो छैन। बालबालिका, गाईवस्तुसहित आ–आफ्ना सामान बोकेर सुरक्षित स्थलको खोजीमा हिँडेको हृदयविदारक दृश्य सार्वजनिक भइरहेका छन्। अनि, दुवैतिरका प्रशासनले आ–आफ्ना नागरिकलाई बंकरको तयारी गर्न भनिरहनुले ‘सर्जिकल स्ट्राइक’ ले परम्परागत युद्धको रूप लिने त्रास पनि उत्तिकै छ।

यतिबेला विश्व शक्ति र उदाउँदा शक्तिहरूले युद्धतिर उन्मुख नगराउन भूमिका खेल्न आवश्यक छ। भारत र पाकिस्तान दुवैले कुनै पनि रूपबाट तनाव बढाउन नचाहने बताउँदै आएका छन्। भारतले आफ्नो जिम्मेवारी बुझेको र संयमपूर्वक काम गर्ने पनि जनाएको छ। भारतको माग पाकिस्तानले संरक्षण दिएको आतंककारीलाई कारबाही गर्न पाउनुपर्ने हो। पाकिस्तानको प्रमाणबिना तुक नहुने जवाफ नै अहिलेको द्वन्द्वको कारण हो। पाकिस्तानस्थित आतंकवादी समूह जैस इ मोहम्मदलाई भारतमा बेला–बेलामा भएका आतंककारी हमलाको आक्रमणको अरोप छ। त्यो समूह कस्मिरलाई भारतबाट अलग पारेर पाकिस्तानमा गाभ्न चाहेको भारतीय बुझाइ छ।

दुवै मुलुक कस्मिरलाई स्वतन्त्र छाड्न पनि चाहँदैनन्। भारतीयले आक्रमण गरेपछि आफ्ना सेनाले बाध्यतावश जवाफ दिनुपरेको जिकिर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको छ। देशवासीका नाममा बुधबार सम्बोधन गर्दै उनले दुवै मुलुकसँग भएका हतियारसहित युद्धमा गए त्यसको परिणाम अकल्पनीय हुने भन्दै लचकताको साथै भारतलाई आफू कम नभएको सन्देश पनि दिए, ‘युद्धका कैयन् आकलन गलत हुन्छन्। लडाइँ अगाडि बढ्दा कुन रूप लिन्छ कसैलाई थाहा हुँदैन। त्यसमा सोच्नुपर्छ। बढ्दै गए, न मेरो, न नरेन्द्र मोदीको नियन्त्रणमा हुनेछ।’

आतंककारीको कुनै सीमा हुँदैन। यसलाई तह लगाउनैपर्नेमा दुवैको मत मिल्छ। समस्याको जड अविश्वास हो। पाकिस्तानको सहयोग भारतले खोज्ने तर भारत प्रमाण नदिने। पुलवामा आक्रमणपछि भारतलाई अनुसन्धानमा सहयोग गर्छौं भन्दै गर्दा भारतले हमला गरेको धारणा पाकिस्तानको छ। सार्कका यी दुई सदस्यबीचको समस्या समाधान गर्न नेपालले आफ्नो धारणा राख्दै शान्तिपूर्ण वार्तामा बस्न सुझाएको छ। उग्रराष्ट्रवाद भन्दा पनि सकारात्मकतामा सञ्चार क्षेत्रले पनि भूमिका खेल्न जरुरी देखिन्छ।

आक्रमण र प्रतिकारले यस क्षेत्रमा युद्धको त्रास बढेको भन्दै नेपालले क्षेत्रीय शान्ति र स्थायित्वमा जोड दिएको छ। युद्धका बादल फटाउन यस क्षेत्रको नेतृत्व गरिरहेको नेपालले संयमता अपनाउन दिएको सन्देश आफैंमा सकारात्मक पहलकदमी हो। लामो समय दुईपक्षीय धम्की र युद्धको त्रासमा रहेको अमेरिका र उत्तरकोरियासमेत वार्ताको टेबुलमा बसेर समाधान खोजिरहेको अवस्थामा एकै क्षेत्रका मुलुक किन वार्तामा नबस्ने ? सार्क सदस्य मात्र होइन, अर्को उदीयमान शक्ति चीनमा द्वन्द्वको असर पर्छ। बाछिटाबाट टाढा रहन सक्दैन। यसलाई ध्यान दिएर साना मुुलुकको प्रयासलाई प्रेरित गर्न सक्नुपर्छ।

दुवै आणविक राष्ट्रबीचको यो तनाव संवादमा फर्काउन यस क्षेत्रले मात्र होइन शक्ति मुलुक पनि सक्रिय हुनुपर्छ। सार्कको अध्यक्षको हैसियतमा नेपालले शान्तिका लागि आग्रह गर्ने र विश्वको ध्यान खिच्दै अमेरिकाले यस क्षेत्रमा भूमिका खेल्न अग्रसर होस् भनेझैं भूमिकामा उत्रन सक्नुपर्छ। नेपाल यतिबेला सुझबुझसाथ सक्रिय हुन सके मृतझैं बनेको सार्कले पनि पुनर्जीवन पाउनेछ। राष्ट्रसंघ यस्ता विषयमा चुप लागेर बस्न हुँदैन। दुवै मुलुकलाई शान्तिवार्तामा ल्याएर मात्र हुन्न कस्मिर समस्याको निकास खोज्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.