झापा गोल्डकप : पहिलो भिडन्त झापा र पोखराको

झापा गोल्डकप : पहिलो भिडन्त झापा र पोखराको

बिर्तामोड : प्रत्येक वर्ष झापाको बिर्तामोडमा हुँदै आएको झापा गोल्डकपको चौथो संस्करण शनिबारदेखि सुरु हुँदैछ। 

बिर्तामोडको डोमलाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा–११ ले सहारा क्लब पोखराको सामना गर्दै छ। दुवै क्लबले शनिबारको खेलमा जित हात पार्ने बताएका छन्। 

शुक्रबार आयोजित प्रिम्याच कन्फरेन्समा उनीहरूले जित्नैका लागि मैदान उत्रिने बताए। घरेलु टोली झापा–११ यसअघिका तीनवटै संस्करणको उपविजेता हो। यस सिजनमा खेलेका तीनवटा प्रतियोगितामा पनि झापाले एउटाको उपाधि जितेको छ।

घरेलु दर्शकको साथ नै जितको मुख्य आधार हुने झापाका प्रशिक्षक प्रवेश कटुवालले बताए। यसपटक टिम राम्रो बनेको बताएका प्रशिक्षक कटुवालले चार जना अफ्रिकन खेलाडीसमेत टोलीमा रहने जानकारी दिए। कप्तान कर्ण लिम्बू, विशाल राई, दिलेन लोक्ताम, दिनेश थापामगरजस्ता पुराना र अनुभवी खेलाडी रहेको झापामा केही नयाँ अनुहारसमेत देखिने छन्।

झापाका कप्तान कर्ण लिम्बूले जित्नैपर्ने दबाबमा रहेको बताए। ‘विभिन्न प्रतियोगिता खेलेर हाम्रा खेलाडी निकै फिट छन्’, उनले भने, ‘नयाँ खेलाडी पनि निकै उत्साहित छन्। टोलीको कम्बिनेसन पनि राम्रो छ।’

सहारा क्लबका प्रशिक्षक प्रह्लाद हिराचनले झापाको मैदानमा खेल्न केही कठिनाइ भए पनि आफ्नो टोलीले जित निकाल्ने बताए। उनका अनुसार यस सिजनमा खेलेका दुईवटै प्रतियोगितामा उपाधिविहीन रहेको सहारा झापा गोल्डकपको उपाधि रक्षा गर्ने तयारीका साथ आएको छ। पोखरा क्लब बूढासुब्बा गोल्डकपमा पुलिस र आहा रारा गोल्डकपमा एपीएफसँग पराजित भएको थियो।

सहाराका कप्तान मनबहादुर तामाङले लामो यात्रा गरेर झापा आएकाले केही थकान भए पनि खेलका लागि तयारी राम्रो रहेको बताए। पोखराले तीनजना अफ्रिकन खेलाडीलाई खेलाउनेछ।

२७ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन्।

प्रतियोगितामा झापा, त्रिभुवन आर्मी क्लब, एपीएफ र नेपाल पुलिस क्लबका साथै मनाङ मस्र्याङ्दी, थ्रीस्टार, मोरङ–११, रूपन्देही फुटबल क्लब, सहारा क्लब र हङकङको नेप्लिज एकेडेमीले सहभागी हुने छन्।

प्रतियोगिताका लागि डोमालाल राजवंशी रंगशालामा बाँसको पाँचतले अस्थायी प्यारापिट निर्माण गरिएको छ। प्यारापिटमा आठ हजार दर्शक अटाउने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.