लोकस्टार बन्ने सपना
धनगढी : लोकगीतको माध्यमबाट धमाका मच्चाउने रहर छ, दृष्टिविहीन प्रियंका बस्यालको। सुदूरपश्चिमको पनि सुदूरको जिल्ला बझाङबाट नेपाल लोकस्टारमा सहभागी हुन आएकी उनले भनिन्, ‘लोकस्टार बन्ने सपना छ।’
नेपाल आइडलका हरेक अंक नछुटाई सुनेको बताउने प्रियंका थप्छिन्, ‘आफूले संंसार नदेखे पनि संसारले आफूलाई देखोस् भन्ने चाहना छ।’ मौलिक भाकाको एक गीत गाउँदै उनले भनिन्, ‘मलाई लोकगीत साह्रै मन पर्छ।’
कोई कसैले दिएनन् साथ
तिमी परदेश हौ, हिँडेकै दिनबाट
पानी पर्न हो
अब ठेगान छैन हो, बाँच्नु मर्नको।।
प्रिजज राउन्डका लागि यही गीत गाएर तयारी गरिरहेकी प्रियंकाले एपीवान टेलिभिजनले यस्ता रियलिटी सोमार्फत लुकेका प्रतिभाको खोजी गरिरहेकोमा खुसी लागेको बताइन्। उनका अनुसार अहिले पनि दूरदराजका गाउँगाउँमा गीतसंगीतका प्रतिभा लुकेका छन्। ‘प्रतिभा गाउँमा छन्, उनीहरूले यस्तो प्लेटफर्म पाएका हुँदैनन् तर एपीवानले यस्तो मौका दिएकोमा खुसी छु’, उनले भनिन्।
प्रियंकाजस्तै धेरै दृष्टिविहीनले नेपाल लोकस्टारमा भाग लिएका छन। अझ सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, बझाङ, बाजुरा, डडेलधुरा, अछामका पनि उल्लेख्य प्रतिभाको सहभागिता छ। ‘लोकस्टार बन्नकै लागि आएको हुँ, हेरौं के हुन्छ’, डोटीबाट आएका चन्द्र थापाले भने। उनले लोकगीत क्षेत्रका लागि पनि नेपाली टेलिभिजनको इतिहासमा यस्तो कार्यक्रमले प्रतिभा बाहिर निस्कने बताए। ‘यस्ता कार्यक्रमले प्रतिभा बाहिर निस्किन्छन्, म पनि त डोटीबाट निस्किएँ’, उनले भने।
कैलालीको गौरीगंगा नगरपालिकाको मसुरियाबाट लोकस्टारको अडिसनमा आएकी चाँदनी घिमिरेले पनि आफूलाई लोकगीत मन पर्ने भएकाले आएको बताइन्। ‘म विद्यालयका कार्यक्रम, साथीसँगको पिकनिकमा पनि गीत गाउँछु, धेरैले लोकस्टारमा जा भने, अनि आएकी हुँ’, चाँदनीले भनिन्।
उनको लोकस्टार बन्ने ठूलो सपना छ। ‘सपना त लोकस्टार बन्ने नै छ, पहिलोपटक सहभागी हुँदै छु। नेपाल आइडल सुदूरपश्चिमबाट हुन सक्छ भने लोकस्टार किन हुन सक्दैन’, चाँदनीले थपिन्।
चाहना मिडिया प्रालि र एपीवान टेलिभिजनको सहकार्यमा भइरहेको नेपाल लोकस्टारको धनगढीमा पहिलो अडिसनमै उल्लेख्य सहभागिता रहेपछि आयोजक हौसिएका छन्। हुन त पछिल्लो समयमा नेपाली लोकगीत प्रतिको युवाको अपनत्व कम भएको महसुस लोकगायकले गरेका छन्। ‘त्यसैले पनि नेपाली लोकसंगीतको त्यो मर्म फर्काउन नेपाल लोकस्टार आयोजना गरिएको हो’, चाहना मिडिया प्रालिका प्रमसख सहदेव कोइरालाले भने। ‘नेपाली माटोमा जन्मिएको गीत र गायकको खोजी नै नेपाल लोकस्टार हो।’
नेपाल लोकस्टारको निर्णायकमा वरिष्ठ लोकगायक जयनन्द लामा, दोहोरी गीतका हस्ती रामजी खाँड, गायिका सुनीता दुलाल र बीबी अनुरागी छन्। नेपालीपनको गीतबाट नेपालभरि लुकेका प्रतिभा छान्न आफूहरू तल्लीन रहने निर्णायकमध्येका एक रामजी खाँडले बताए। ‘यो नेपाली लोकसंगीतको एक नक्षत्रको खोजी हो, हाम्रो प्रयास त्यही खोज्ने हुने छ’, उनले भने, ‘लोकगीत देश र आफ्नो माटोको पहिचान गराउने विधा हो।’
हुन त नेपाल आइडलको क्रेजले नै नेपाल गीतसंगीतका प्रतिभाको खानी मान्न सकिन्छ। त्यसैले आफ्नो माटोबाट जन्मिएको गीत र आफ्नो माटो सुहाउँदो संगीतको पहिचानका लागि नेपाल लोकस्टारको जन्म भएको एपीवान टेलिभिजनका निर्देशक सुरेश पौडेलले बताए। ‘नेपालको विविध क्षेत्रमा विविध भाकाका लोकसंगीत लुकेको छ, लुकेका भाका र संगीतलाई बाहिर निकाल्ने प्रयास लोकस्टार हो’, नेपाल लोकस्टारका निर्देशक समेत रहेका पौडेलले भने, ‘धनगढी अझ लोकसंगीतको खानी हो।’
धनगढी अडिसनमा बढीजसो देउडा र स्थानीय डोटेली संस्कृति झल्किने गीत गाइएका छन्। अडिसनमा छनोट भएकाको काठमाडौंमा मात्रै अर्को चरणको छनोट हुनेछ। यो कार्यक्रम जेठदेखि एपीवान टेलिभिजनमा प्रसारण हुने छ।