पानीमा आकाशको भर

पानीमा आकाशको भर

गाईघाट : उदयपुर त्रियुगा नगरपालिका–१४ नेपानेकी नन्दमाया मगरको घर अगाडि सिमेन्टको ट्यांकी छ । आकाशे पानी संकलन गर्न जस्तापाताको छानोबाट पाइप जडान गरिएको छ ।

ट्यांकीमा संकलित पानी ६ जनाले खान–पिउन प्रयोग गर्छन।  स्थानीय यसलाई घैंटे पानी संकलन प्रविधि भन्छन्।  ‘मुहान नजिक नहुँदा पानीको हाहाकार छ’, नन्दमायाले भनिन्, ‘आकाशबाट परेको पानी छानोबाट पाइपमार्फत ट्यांकीमा जम्मा गर्छौं । हामीले यो विधि अपनाएको १३ वर्ष भइसक्यो ।’ स्थानीय रामकुमार राईको परिवार पनि यही विधिबाट संकलित पानी प्रयोग गर्छ । ‘लामो समय वर्षा नभए हामीले पानी 
पाउँदैनौं’, उनले भने, ‘बादल लाग्न थाल्दा पानी पर्छ कि भन्ने आस पालेर बस्नुपर्ने अवस्था छ ।’ 

बस्तीका २३ परिवारको समस्या हो यो । सबै घरका अगाडि सिमेन्टबाट बनाइएका २ हजार लिटर क्षमताका ट्यांकी राखिएका छन्।  वर्षात् भएका बेला संकलन हुने पानी स्थानीयले महिनौं प्रयोग गर्नुपर्ने वडाध्यक्ष कुरुङ राईले बताए । ‘आकाशको पानीले महिनौंसम्म धान्नुपर्ने अवस्था छ’, उनले भने, ‘आकाशको पानी ट्यांकीमा जम्मा गर्न सबैले घरमा कर्कटपाता लगाएका हुन्। ’ 

नन्दमायाका अनुसार नुहाउन, कपडा धुन, पशु–चौपायाको प्यास मेटाउन तीन घण्टा टाढाको खोल्साखाल्सी धाउनुपर्छ । शौच गर्न जंगलतिर जानुपर्ने र सरसफाइका लागि हप्तौं कुर्नुपर्ने बाध्यता रहेको उनले बताइन्। लामो समय झरी नपरे पानी जोहो गर्न एक जना नियमित खटिनुपर्ने उनको भनाइ छ । 

त्रियुगा–१५ को कोप्चे र सिमखेत धाएर पिउने पानी ल्याउनुपर्ने अवस्था रहेको वडाध्यक्ष राईले बताए । ‘खानेपानीको मूल स्रोत आकाशबाट परेको पानी हो’, उनले भने, ‘झरी नपरे तीन घण्टाभन्दा बढी पैदल हिँडेर कष्ट भोग्नुपर्छ ।’ 

नेवाले ट्यांकी निर्माणमा सहयोग गरेको थियो । त्यसले राहत मिलेको स्थानीय हृदयकुमार मगरको भनाइ छ । त्यसअघि खोलाखोल्सी धाएर पानी ल्याउनुपथ्र्यो । ‘जग्गाजमिन छाडेर बसाइँ जाने कुरा पनि भएन’, उनले भने, ‘पानी अभावकै कारण बिक्री पनि हुँदैन ।’ काकाकुल अवस्था बेहोर्नुपर्दा नगरका बासिन्दा भन्न लाजमर्दो रहेको उनले बताए । 

यहाँको समस्या समाधान गर्न खानेपानीमन्त्री बिना मगरसँग पटक–पटक छलफल भएको वडाध्यक्ष राईको भनाइ छ । ‘मन्त्रीलाई पनि गाउँमा पानीको समस्याबारे पटक–पटक कुरा राखेका छौं’, उनले भने, ‘वडा हुँदै नगरसभाबाट पनि योजना माग गरेका छौं ।’ बस्ती अग्लो र मुहान होचो हुँदा धारा बनाउने योजना असफल भएपछि पानी अभाव कायम रहेको उनको भनाइ छ । अँधेरीलाई मुहान बनाएर ल्याउन सके मात्र योजना सफल हुने उनले सुनाए । ‘त्यो पनि धेरै टाढा रहेकाले स्थानीय स्रोतबाट ल्याउन सम्भव छैन’, उनले भने । 

महामारीको जोखिम ट्यांकीमा जम्मा गरेको पानी पिउन योग्य नहुने चिकित्सकले बताएका छन्।  उदयपुर त्रियुगा अस्पताल एन्ड रिसर्च सेन्टरका डा. धनिकालाल यादवले उमालेर वा फिल्टर गरेर मात्र पिउन सुझाव दिएका छन्। ‘कर्कटपाताको छानोमा लामो समयदेखि खिया हुन्छ । त्यहीं परेको पानी ट्यांकीमा जम्मा हुने हो’, उनले भने, ‘आइरन मिसिएको पानीमा जाइडिया किटाणु र विभिन्न ब्याक्टेरिया हुुन्छ । टाइफाइड, झाडापखाला, जन्डिसलगायत संक्रमण हुन सक्छ । यस्तो पानी स्वास्थ्यका लागि एकदमै  प्रतिकूल हुन्छ ।’ 

खियायुक्त पानी पिउँदा विभिन्न रोगको महामारी निम्तने जोखिम रहने उनको भनाइछ । यसलाई मध्यनजर गर्न सकियो भने मात्र स्वास्थ्य रहन सकिने उनले बताए । समस्या तत्काल समाधान नगर्ने हो भने गाउँमा महामारी फैलने खतरा रहने उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.