पूर्वको पशुपतिनाथ अर्जुनधारामा शिवरात्रीको चहलपहल
बिर्तामोड : पूर्वको पशुपतिनाथका भनेर परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको छ। महाशिवरात्रीका अवसरमा दर्शन र पुजाआजा गर्नका लागि दर्शनार्थीको भीड लागेको हो।
अर्जुनधारा जलेश्वरधाममा प्रदेश १ का जिल्लाहरुकासाथै भारतको सिक्किम, दार्जिलिङ,आसामबाटसमेत दर्शनार्थीहरु आउने गर्छन्। शिवरात्री र सोमबार पनि परेकाले दर्शनार्थीको बाक्लो उपस्थिति रहने अनुमान गरी समितिले आइतबार देखिनै दर्शन तथा पुजाआजाका लागि व्यवस्थापन मिलाइएको थियो।
शिव पुराणलगायतका ग्रन्थहरुकाअनुसार शिवजी उत्पत्ति भएको रात कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्व शिवरात्री हो। शिवरात्रीमा अर्जुनधाराधाममा दशैन गरी पूजा गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।
माघमा महादेवको रुद्रत्व अर्थात् जगत्वलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व) ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्री मनाउने गरिएकोे भनाइ छ।