जीटीभीमा प्रितमको जादु : ढाका टोपी लगाएर भारतीय स्टेजमा
इटहरी : इटहरीका ११ वर्षीय प्रितम आचार्य सानैदेखि गीत गाउँथे। उनी त्यहीँको विश्व आदर्श स्कुलमा पढ्छन्। उनले केही समयअघि नेपाल टेलिभिजनबाट प्रसारित ‘सुरशाला’ नामक रियालिटी सोमा प्रतिस्पर्धा गरे। यसको अन्तिम चरणमा उनी देशभरकै प्रतिस्पर्धीमा दोस्रो बने।
इटहरी र वरपर हुने विभिन्न कार्यक्रममा प्रस्तुति दिएर वाहवाही बटुलिरहेका उनले सोचेजस्तो ठाउँ पाइरहेका थिएनन्। उनका बुवा काशीनाथलाई छोराको स्वर र प्रतिभा अलि धेरैलाई देखाउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो।
त्यस्तैमा भारतीय टेलिभिजन च्यानल जीटीभीबाट प्रसारण हुने बाल गायनको रियालिटी सो ‘सारेगमप लिटिल च्याम्स’का लागि अडिसन सुरु भयो। अडिसनमा उनले पनि भिड्ने निर्णय गरे। ‘नेपालबाट आएको भनेपछि सबैले माया गर्नुभयो’, उनले भने। उनको प्रतिभा देखेर कक्षाका शिक्षकशिक्षिकाले पनि ‘तिमी राम्रो गाउँछौ’ भन्दै प्रितमलाई हौस्याउने गरेका छन्।
अडिसनका सबै राउन्ड पार गरेर प्रितम अहिले प्रस्तुति दिने क्रममा छन्। उनले पहिलो कार्यक्रममा दिएको प्रस्तुतिको प्रोमो जीटीभीले विशेष प्रचारप्रसारसमेत गरेको थियो। ‘सन्देशे आते है’ बोलको हिन्दी गीत गाएका प्रितमको गीतको प्रोमोमा उनको गायकीलाई सुनेर निर्णय मण्डल छक्क परेको छ। ‘मलाई काँधमा बोकेर तिमी भगवान्को बच्चा हौ भनेर भन्नुभयो’, उनले निर्णायकबाट पाएको प्रतिक्रिया यसरी बताए, ‘मलाई सिल्भर मेडल पनि दिनुभयो, यसको महत्त्व धेरै छ।’
जीटीभीले हालेको उक्त प्रोमोका कारण नेपालमा मात्र नभएर भारतमा समेत उनको ख्याति चुलिएको छ। नेपाली ढाका टोपी लगाएर भारतीय स्टेजमा पुगेका प्रितमले समग्र नेपालको प्रतिनिधित्व गरिरहेका छन्। उनले सुरुआतमै आफू हिमालको देशबाट आएको बताएका थिए। लगत्तै टेलिभिजनमा नेपालको हिमाल र संस्कृतिको छोटो परिचयसमेत देखाइएको थियो।
उनले पहिलो टेलिभिजन कार्यक्रम सुटिङ सकेर नेपाल आउँदा विशेष सम्मान पाएका छन्। लिटिल च्याम्सको टप ३० मा पुग्न सफल भएपछि प्रितम जीटीभीको टोलीसहित इटहरी आइपुगेका थिए। यही क्रममा उनलाई लिन इटहरीबाट एक टोली नै काँकडभिट्टा नाका पुगेको थियो। इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी, पूर्वसांसद रेवतीरमण भण्डारी, इटहरीका प्रमुख प्रशासकीय अधिकृत केशव विमली लगायतले उनको स्वागत गरेका थिए। सम्मान थाप्दै प्रितमले आफूले इटहरी र नेपालको नाम विश्वभर फैलाउन चाहेको बताए।
त्यसो त इटहरीका मेयरले जाने बेला दिएको नेपालको झन्डा उनले भारत पुर्याएर ल्याएका थिए। प्रितमलाई अडिसन पास गरिसकेपछि प्रतियोगितामा जान बाटो खर्चबापत पाँच हजार रुपैयाँसमेत मेयर चौधरीले दिएका थिए। अहिले उनलाई देशविदेशबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ। उनी नेपाल आएको समयमा सांगीतिक कन्सर्टमा समेत सहभागी भए।
नेपाली ढाका टोपी लगाएर भारतीय स्टेजमा पुगेका प्रितमले समग्र नेपालको प्रतिनिधित्व गरिरहेका छन्। उनले सुरुआतमै आफू हिमालको देशबाट आएको बताएका थिए।
संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव संगीतकर्मी राजु केसी प्रितमले संसारमै नेपालको नाम चम्काउनेमा ढुक्क छन्। प्रितमलाई निरन्तर प्रेरणा दिँदै उनको भारत यात्रालाई सहजीकरण गरिरहेका केसीले भने, ‘प्रितमले इटहरीको मात्र होइन, नेपालकै नाम विश्वभरि चम्काउँदै छन्, उनलाई अब हामीहरूको मायाको अझै बढी खाँचो छ।’
केसीबाहेक प्रितमलाई उनका परिवार, आफन्त, साथीभाइदेखि विद्यालयसम्मको सहयोग मिलेको छ। उनलाई अहिले आफू पढ्ने विद्यालयले समेत आर्थिक सहयोग गरिरहेको छ। विद्यालयमा उनी ‘हाईहाई’ भएका छन् यति बेला।
प्रितमका बुवा काशीनाथलाई अन्तर्राष्ट्रिय रियालिटी सोमा पनि छोराले राम्रो गर्छ भन्ने विश्वास थियो। उनले बुवालाई निराश बनाएनन्। सबै सोमा उनले लगातार उत्कृष्ट प्रस्तुति दिएका छन्। ‘छोराले प्रतियोगिता जित्छजस्तो लागेको छ, बाँकी सबैको साथ सहयोगमा भर पर्छ’, काशीनाथ भन्छन्।
प्रितमले अहिले भारतीय साथीहरू पनि बनाएका छन्। अहिले उनलाई भारतभरका कला क्षेत्रमा रुचि राख्ने मानिसले चिन्न थालेका छन्। नयाँ ठाउँमा गएर आफ्नो प्रतिभाको आडमा परिचय स्थापित गर्नु सहज पक्कै छैन। तर, प्रितमले गरिछाडे। भाषाको समस्यालाई पनि उनले चिरे। हिन्दी बोल्न धेरै जान्दैनन्, तर पनि प्रतियोगिताका लागि आफूले सकेसम्म राम्रो बोल्ने प्रयास गरेको उनी बताउँछन्। ‘अलिअलि काटकुट पारेर बोलेँ’, उनी भन्छन्।