‘नथिया’, ‘ऐलानी’ र ‘पण्डितबाजेको लौरो’ रोक्न सर्वोच्चको आदेश
काठमाडौं : वादी समुदायको कथामा आधारित तीन कृति ‘नथिया’, ‘ऐलानी’ र ‘पण्डित बाजेको लौरो’ माथि मुद्दा परेकोमा सर्वोच्च अदालतले ती कृतिलाई रोक्न निर्देशनात्मक आदेश जारी गरेको छ ।
सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’, विवेक ओझाको उपन्यास ‘ऐलानी’ र अर्को फिल्म ‘पण्डित बाजेको लौरो’माथि केही महिनाअघि वादी समुदायका अगुवा मिना नेपाली लगायतले मुद्दा दायर गरेका थिए ।
सोही मुद्दाको फैसला गर्दै आज सर्वोच्च अदालतले नेपाल सरकार सहित विभिन्न चार निकायलाई ती कृति रोक्न निर्देशनात्मक आदेश जारी गरेको हो ।
न्यायाधीश बमबहादुर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आदेश जारी गरेको राष्ट्रिय वादी परिषद्का अध्यक्ष केशर नेपालीले जानकारी दिए । उक्त आदेशको व्यहोराअनुसार बजारमा रहेका ती पुस्तक र फिल्म तत्कालका लागि रोक्नुपर्ने छ ।