तुलसीपुरमा अब थ्रमा प्लाष्टिक जेब्राक्रस
दाङ : सडक दुर्घटना न्यूनीकरणका लागि तुलसीपुरको बजार क्षेत्रमा थ्रमा प्लाष्टीक जेब्राक्रस बनाउन थालिएको छ ।
पटक पटक निर्माण गरिएको जेब्राक्रसिङ गुणस्तरहीन देखिए पछि यसपटक उच्च प्रविधियुक्त किसिमको जेब्राक्रेसिङ बनाउन लागिएको हो । तुलसीपुर उपमहानगरपालिका–५ का मुख्य चोकका सडकहरु रातको समयमा टल्कने जेब्राक्रस अर्थात् सीसा मिसाइएको थ्रमा प्लाष्टीक जेब्राक्रस बनाइएको हो ।
सडक डिभिजन कार्यालय दाङका ईन्जिनियर दीपक गौतमले यो जेब्राक्रस गुणस्तरीय हुनु र टिकाउ हुने बताए । राप्ती लोकमार्गका सडकहरुमा यसप्रकारको प्रविधियुक्त जेब्राक्रस बनाउने योजना अनुरुप तुलसीपुरको बजार क्षेत्रमा बनाउन लागिएको गौतमले बताए ।
अब सडक यात्रु र सवारी साधन चलाउने दुबैलाई सहयोग पुग्ने उनले बताए । यस प्रविधिको कुल ८७ स्कवार मिटर क्षेत्रफलमा थ्रम प्लाष्टीक जेब्राक्रस बनाइने छ । जुन प्रति जेब्राक्रस १५ सेन्टीमिटर चौडाई र ३ मिटर लम्बाईका छन् ।
ईनामेलको भन्दा बढी खर्चिलो थ्रम प्लाष्टीक हुने सडक डिभिजन कार्यालयले जनाएको छ । ईनामेल पेन्टका लागि प्रति बाल्टिन ४/५ सय रुपैयाँ लाग्ने हुन्छ भने यस प्रकारको पेन्ट प्रति केजी ८/९ सय रुपैयाँसम्म पर्ने उनले जानकारी दिए । जुन प्रति लेनमा ३÷४ केजीसम्म लाग्ने गौतमले बताए ।
तुलसीपुर उपमहानगरपालिका–५ का सदस्य सुरेशकुमार श्रेष्ठले वीरेन्द्रचोकको ४ वटा सडक, बिपीचोकका ४ वटा सडक, जेसीज चौकका ४ वटा सडक र बाहिनीचोकका ४ वटा सडकमा उक्त प्रविधिको जेब्राक्रस निर्माण सुरु गरिएको जानकारी दिए ।