'राज संस्था र हिन्दु राष्ट्रका लागि लडिरहन्छौं'
विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति सम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले संवैधानिक राज संस्था र धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रका लागि लडिरहने उद्धघोष गरेका छन्।
विराटनगरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले पहिल्यैदेखि उठाउँदै आएको मुद्दामा आफूहरु अडिग रहेको स्पष्ट पारेका छन्। उनीहरुले नेपालमा प्रजातान्त्रिक शासन पद्धतीलाई बलियो बनाउन पनि पार्टीले विगतदेखि नै उठाएका मुद्दा स्थापित हुन आवश्यक रहेको जिकिर गरे। 'जनताले सबैलाई स्वीकार्य हुने राज संस्था चाहेका छन्। त्यही भएर पार्टीले यो मुद्दालाई प्राथमिकतामा साथ उठाएको हो,' अध्यक्ष जबराले भने, '८१ प्रतिशत हिन्दु धर्मावलम्बीको देश नेपाल भएकाले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापना गरिनुपर्छ भन्नेमा हामी अडिग छौं। हिन्दू राष्ट्रमै नेपालको पहिचान र अस्तित्व पनि कायम रहन्छ।'
जबराले संवैधानिक राज संस्था र हिन्दू राष्ट्रका लागि बैशाखबाट आन्दोलन थाल्ने जानकारी दिंदै भने, 'पहिला आन्दोलन थाल्छौं। त्यहाँबाट कस्तो निस्कर्ष निस्कन्छ हेरेर पछि अरु निर्णय गर्छौ।'
चैतसम्म संगठन सदृढीकरण अभियान सञ्चालन गरिने र त्यसपछि पार्टीको मुख्य मुद्दा स्थापित गराउन आन्दोलन थाल्ने जानकारी उनले दिए। उनले संघीयता पार्टीलाई स्वीकार्य रहेको बताउँदै प्रान्तीय व्यवस्था स्पष्ट नहुँदा धेरै अन्योल र कार्यान्वयन गलत भएको भन्दै चिन्ता व्यक्त गरे।'स्थानीय र संघीय सरकार अधिकार सम्पन्न छन्,' उनले भने, 'तर बीचको प्रदेश सरकार भने अधिकारविहीन जस्तो छ।'
जबराले प्रान्तीय व्यवस्थालाई सदृढ र स्पष्ट बनाउँदै सही ढंगले कार्यान्वयन गरेर अन्योलताको हल गर्न सके मात्रै मुलुक संघीयताको मर्म र भावनाअनुरुप अघि बढ्न सक्ने स्पष्ट पारे।
अर्का अध्यक्ष डा. लोहनीले नयाँ संविधानमा पार्टीको आलोचनात्मक समर्थन रहेको बताउँदै संविधान कार्यान्वयन हुनुपर्छ भन्नेमा चैं पार्टी प्रतिवद्ध रहेको जानकारी दिए। उनले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै जनताका कुनै पनि काम सरकारले गर्न नसक्ने जिकिर गरे। 'अहिलेको मजबुत सरकारसँग जनताले सुशासनलगायत धेरै कुराको अपेक्षा गरेका थिए,' लोहनीले भने, 'भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले सुशासनलाई कुसाशनमा परिणत गरिदियो।'
पार्टीका दुवै अध्यक्षले कमल थापा नेत्रृत्वको राप्रपासँग पनि एकताका लागि ढोका खुल्ला राखिएको जानकारी दिए। 'भावना र विचार मिल्ने सबै पार्टीलाई एकताका लागि ढोका खुल्ला राखेर हामी बसेका छौं,' दुबै अध्यक्षले भने, 'विचार मिल्नेसँग एकता गर्न हामीलाई कुनै गाह्रो छैन।'
थापा नेत्रृत्वको राप्रपासँग एकता गर्न पाए हिन्दू राष्ट्र र राज संस्थाको मुद्दालाई स्थापित गराउन थप मद्धत पुग्ने जबरा र लोहनीको बुझाइ छ। पार्टी एकताका लागि कमल थापासँग कुनै बृहत असहमति भने नरहेको उनीहरुको भनाइ छ।
'चार÷पाँच दिन जति समय माग्दा थापाजीले समय नदिएपछि उहाँको पार्टीसँग एकता हुन नसकेको मात्रै हो। चुहाव चिन्हका विषयमा पनि कुरा मिल्न सकेन,' जबराले भने, 'हामीले चुनाव चिन्ह हलो छाडेनौं। उहाँले गाई नछाडेपछि पनि कुरा मिल्न नसकेको हो।'
उनले मुद्दा र विचार मिल्ने भएका कारण अझै पनि थापा नेत्रृत्वको राप्रपासँग पार्टी एकताका लागि पर्याप्त आधार र सम्भावनाहरु भने जीवितै रहेको बताए। डा. लोहनीले पनि मुल एजेन्डाको परिधिमा रहेर कमल थापासँग पार्टी एकता हुन सक्ने जानकारी दिए। ‘उहाँको पार्टीले पनि हिन्दू राष्ट्र र राज संस्थाकै मुद्दा बोकेको छ,' उनले भने, 'हामी समेत यो मुद्दामा लडिरहेका कारण विचार मिले पनि पार्टी मात्रै एक हुन नसकेको हो।'
संविधानका केही विषयमा चित्त नबुझेका कारण आफ्नो पार्टीले थाल्न लागेको आन्दोनलमा कमल थापाले समेत साथ दिने आस गरिएको उनले बताए। 'चित्त नबुझेका कुरामा आन्दोलन गर्न पाउने व्यवस्था संविधानले गरेको छ,' सरकारप्रति लक्षित गर्दै डा. लोहनीले भने, 'हामीले आन्दोलन गर्दा कसैले थुन्छ भने थुनोस्।' उनले सरकार भ्रष्टाचार, अनियमितता र कुसाशनतर्फ अग्रसर भइरहँदा प्रमुख प्रतिपक्षी दलका हैसियतमा कांग्रेसको भूमिका पनि प्रभावकारी बन्न नसकेको टिप्पणी गरे।