कुवेतमा बन्धक बनाइएका तीन नेपाली चेलीको रोल्पाली समाजद्वारा उद्दार

कुवेतमा बन्धक बनाइएका  तीन नेपाली चेलीको रोल्पाली समाजद्वारा उद्दार

रोल्पा : कुवेतमा बन्धक बनाइएकी तीन नेपाली चेलीलाई अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले उद्दार गरेको छ।कास्की पोखराकी सरस्वती बराल, झापा दमकी शोभाकुमारी लिम्बू र करैया-२ उदयपुरकी गीतादेवी चौधरीको उद्दार गरिएको हो।

बन्धक जीवन बिताएरहेकी तीन चेलीलाई पाँच महिनाको अवधिमा उद्दार गरिएको रोल्पाली सेवा समाज कुवेत शाखाले जनाएको छ।समाजका डिबी बुढाथोकीका अनुसार विदेशमा अलपत्र परेका, बन्धक बनाइएका र असाहयलाई सेवा समाजले उद्दार गर्दै आएको छ।

भारतहुँदै दलालले नेपाली चेलीलाई कुवेतमा घरेलु कामदारका रुपमा पुर्‍याउँछन्।कतिपयले त्यहाँ बन्दीसरह जीउनु परिरहेको समाजले जनाएको छ। पोखराकी बराल पनि एक वर्षअघि भारत हुँदै कुवेत बेचिएकी हुन्। घरेलु कामदारको रुपमा कुवेत पुगेकी बराल एक वर्षको अवधिमा कुवेती दलालबाट चारवटा घरमा कामका लागि सारिइन्। सजिलो काम मिलाइ दिने बहानामा एक घरबाट अर्को घरमा सार्ने गरेको बताउँछिन्।

घरेलु कामदार ओसारपसार गर्ने दलालले एक महिनाको तलब समेत नदिएको उनले समाजका पदाधिकारीसँग बताइन् । घरेलु कामदार रहेकी उनले सात महिनाको तलब समेत पाइनन्।मालिक घरबाहिर जाँदा उनलाई ताला लगाएर राख्ने गरेको गुनासो उनको छ।उनी घरेलु कामदारका रुपमा लगेपनि कैदीबन्दी जसरी बस्न बाध्य पारिएकी थिइन्।

उद्दारमा संलग्न समाजका कुवेत शाखा उपाध्यक्ष बलबहादुर जिएमका अनुसार मानसिक र शारीरिक यातना पाएकी उनको उद्धार गरिएको हो। कतारको एक कम्पनीमा कार्यरत पीडित बरालका छिमेकी दाइले बहिनी बन्धकमा परेको सोही कम्पनीमा काम गर्ने राँकका कृष्ण ओलीलाई जानकारी दिएका थिए। कृष्णले समाजका महासचिव लेखप्रसाद रोकालाई उद्दारमा सघाउन भनेका थिए। 

महासचिव रोकाले पीडित बरालको उद्दारको लागि कोषाध्यक्ष प्रेम बुढाथोकीसँग समन्वय गरेका थिए। समाजको कुवेत शाखाको आकस्मिक बैठक बसेर उनको उद्दारको योजना बनाइएको थियो।

उद्दारपछि उनलाई समाजले कुवेतस्थित नेपाली दुतावासको जिम्मा लगाएको छ। यस अघि उद्दार गरिएका दुई चेलीलाई पनि दुतावाससँगको समन्वयमा नेपाल पठाइएको थियो। उद्दार गरिएकी बरालले नेपाल फर्केपछि आफूलाई झुक्याएर कुवेत पठाउने दलाल विरुद्ध उजुरी दिने बताएकी छन्। उनले कम्पनी र दलालको नाम खुलाउन चाहिनन्।

नेपाली दलालले भारतको बाटो हुँदै कुवेतमा चेली पठाउने र कुवेतमा रहेका दलालले लाखौं रकम खाएर निकृष्ट प्रकारको घरेलु कामदारका रुपमा कुवेती घर घरमा पठाउने धन्दा चलिरहेको समाजले जनाएको छ। अवैधानिक बाटो भएर गएको पत्तो नपाउने चेलीले बन्धकसरह काम गर्नु परेपछि मात्र आफूलाई फसाएको बारे थाहा पाउने गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.