चारदिने अश्वमेध महायज्ञ समापन

चारदिने अश्वमेध महायज्ञ समापन

वीरगन्ज : नेपालमै पहिलो पटक वीरगन्जमा आयोजित अश्वमेध गायत्री महायज्ञले विश्वमा मानवता र भाइचाराको सन्देश दिन सफल भएको दाबी गरिएको छ।

अखिल विश्व गायत्री परिवारले वीरगन्जको आदर्शनगर रंगशालामा आइतबारदेखि आयोजना गरेको चारदिने अश्वमेध गायत्री महायज्ञ बुधबार समापन गरिएको हो।

महायज्ञ समापन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भौतिकवाद सुखशयल र सम्पत्ति मोह डुबेको विश्व समुदायलाई वीरगन्जको महायज्ञले मानवता र भाइचाराको सन्देश दिन सफल भएको बताए।

‘अहिले विश्व नै भौतिकवादमा डुबेको छ, कसरी हुन्छ धन कमाउ भन्ने लालच मात्रै छ, मानवता र आध्यात्मिकताको कमी देखिएको छ,’ मुख्यमन्त्री राउतले भने, ‘यस्तो अवस्थामा वीरगन्जको अश्वमेध महायज्ञले विश्व समुदायलाई भाइचरा राख्न र मानव सेवामा लाग्न सन्देश दिन सफल भएको छ।’

संसारमा मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देश दिने उद्देश्यले महायज्ञ आयोजना गरिएको उनले बताए। उनले भने, ‘महायज्ञ आफ्नो उद्देश्य प्राप्तिमा सफल भएको महसुस भएको छ।’

महायज्ञको आयोजक अखिल विश्व गायत्री परिवार नेपालका अध्यक्ष एवं एनआरएनका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोले नेपाल र नेपालीको सुखी , समृद्धि र समुन्नतिका लागि अश्वमेध गायत्री महायज्ञ आयोजना गरिएको बताए। उनले महायज्ञको आयोजनाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिमा महायज्ञ फलदायी भएको बताए।

‘यज्ञ आफ्नो परिवारका लागि, महायज्ञ समाज र राष्ट्रका लागि तथा अश्वमेध महायज्ञ पूरा विश्वको कल्याणका लागि गरिन्छ,’ उनले भने, ‘विश्व कल्याणका लागि नेपालमै पहिलो पटक अश्वमेध महायज्ञ गर्न पाउँदा सम्पूर्ण नेपालीले सौभाग्यशाली महसुस गरेका छन्।’

समापन कार्यक्रममा प्रवचन दिँदै देव संस्कृति विश्वविद्यालय हरिद्वार भारतका उपकुलपति चुनमय पाण्डयाले सृष्टिलाई जब आवश्यकता पर्छ अश्वमेध यज्ञ हुने गरेको बताए।

समापन कार्यक्रमममा बालगुरु आदित्य पनि सरिक भएका थिए। उनले पनि हवनकुण्डमा देवपूजन र हवन गरेर आहूति दिएका थिए।

महायज्ञको समापन समारोहमा प्रधानमन्त्री केपी ओली आउने भनिए पनि अन्तिम समयमा उनको वीरगन्ज भ्रमण रद्द भएपछि महायज्ञको समापन प्रदेश २ का मुख्यमन्त्री राउतले गरेका थिए।

प्रधानमन्त्री ओली बुधबार दिउँसो १२ बजे नै महायज्ञको समापन समारोहमा आउने तय भए पनि अस्वस्थताका कारण काठमाडौं त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरापी सेन्टरमा भर्ना भएपछि भ्रमण स्थगन भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।

महायज्ञको समापनमा वीरगन्ज आउन नसकेपनि प्रधानमन्त्री ओलीले पठाएको लिखित शुभकामना सन्देश, महायज्ञको आयोजक अखिल विश्व गायत्री परिवार नेपालका अध्यक्ष डाक्टर उपेन्द्र महतोले पढेर सुनाएका थिए। सन्देशमा अश्वमेध महायज्ञले विश्वमा शान्ति र समझदारीको भाव फैलाओस् भन्ने कामना गरिएको थियो।

अश्वमेध गायत्री महायज्ञस्थलमा बनाइएका दुई सय ५१ हवनकुण्डमा नेपाल, भारत तथा अन्य मुलुकका गरी ६० हजार भक्तजनले देवपूजन र हवन आहूति दिएको आयोजकले जनाएको छ।

महायज्ञमा नेपाल, भारतलगायत मुलुकबाट गरी दुई लाख ५० हजारभन्दा बढी भक्तजन र आगन्तुकले पूजाअर्चना तथा दर्शन गरेको आयोजक समितिका वीरगन्ज संयोजक एवं वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए।

अश्वमेध गायत्री महायज्ञमा विभिन्न ४० देशबाट ५ लाख भक्तजन आउने भनिए पनि महायज्ञ चलेका बेला मौसममा आएको खराबीका कारण भारतबाट खासै भक्तजन आउन नसकेको सरावगीले बताए। महायज्ञमा तेस्रो दिन मंगलबार बेलुकी तीन लाख दियो बालेर दीपमहायज्ञ पनि गरिएको थियो।

महायज्ञ अवधिभर वीरगन्ज महानगरमा माछामासु र मदिरा किनबेच तथा सेवनमा प्रतिबन्ध लगाइएको थियो। चार दिनसम्म महानगरपालिकाका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय पनि बन्द गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.