रोल्पामा पनि बन्दको असर
रोल्पा : नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले आव्हान गरेको राप्ती बन्दको असर रोल्पामा पनि परेको छ। बिहीबार बिहानैदेखि रोल्पामा यातायातका साधन चलेका छैनन् भने बजार ठप्प छ। शैक्षिक क्षेत्र समेत प्रभावित बनेको छ।
केही दिनअघि रोल्पा र दाङमा आफ्ना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा नेकपाले बिहीबार बन्द गरेको हो । राप्ती व्युरो इन्चार्ज केशबहादुर बाँठा 'सुवास' ले बुधबार विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेका थिए। बन्दका कारण जिल्लाबाट लामो र छोटो दूरीमा चल्ने कुनैपनि साधन चलेका छैनन्।
जिल्ला भित्रिने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्।सवारी साधन नचल्दा यात्रु हिँड्न बाध्य भएका छन्। बन्दकर्ता कोही कतै नदेखिए पनि यातायात, बजार र शिक्षण संस्था बन्द भएका छन्।गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले भाडामा प्रयोग गर्दै आएको गाडीमा आगजनी भएपछि जिल्लामा त्रास फैलिएको छ।
बुधबार त्रिवेणी गाउँपालिकाको गाडीमा तोडफोड र विष्फोटक पदार्थ छोडिदिएको भोलिपल्ट गरिएको बन्दले मानिस त्रसिएका छन्। वार्षिक परीक्षा नजिकिँदै गएको समयमा विद्यालय बन्द हुँदा हजारौं विद्यार्थीको पढाई प्रभावित भएको छ ।
विद्यालय गएका विद्यार्थी बन्दकारण घर फर्किरहेका छन् । जो कसै बन्दकर्ताले शैक्षिक क्षेत्र बन्द नगर्ने संस्कृतिको विकास गर्न शैक्षिक अभियन्ताको माग छ। नेकपाले आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको विना शर्त रिहाईको माग गर्दै बन्द गरेको जनाएको छ ।
रोल्पामा सुरक्षा व्यवस्थालाई प्रहरीले कडा पारेको छ।बन्दका बेला कुनै घटना हुन नदिन पनि सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताए।
केही हप्ताअघि सुलिचौरमा रहेको नेपाल टेलिकम र गजुलमा रहेको एनसेल टावरमा विप्लव नेतृत्वको नेकपाले आगजनी गरेपछि सुरक्षा बढाइएको हो। जिल्ला प्रहरी प्रमुख खड्का अनुसार नेकपाका तीन नेतालाई पक्राउ गरी मुद्दा चलाइएको छ।नेकपाका महासिच नेत्रविक्रम चन्द 'विप्लव' का विरुद्ध पनि मुद्दा दायर गरिएको छ।उनीसहित दर्जन बढीको नाममा मुद्दा दायर गरिएको छ।