बस र सुमो ठोक्किँदा ६ घाइते, एकको अवस्था गम्भीर
सिन्धुली: मध्येपहाडी लोकमार्गअन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिका-५ स्थित झगरेमा बिहीबार दिउँसो बस र सुमो ठोक्किँदा ६ जना घाइते भएका छन्। काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा ४ ख ४४३४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना १ ज ७०९४ नम्बरको टाटा सुमो ठोक्किँदा सुमोमा सवार ६ जना यात्रु घाइते भएका हुन्।
घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र अन्य पाँचजनालाई समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। दुर्घटनामा परी सुमोमा सवार लेले गाउँपालिका-१ सोलुखुम्बुकी ८० वर्षीया देउकुमारी खत्री गम्भीर घाइते भएकी छन्। उनको दाँया हात भाँच्चिएको छ भने टाउकोमा गम्भीर चोट लागेको प्रहरी उपरीक्षक सिंहको भनाई छ।
यस्तै सोही ठाउँका ३८ वर्षीया कृष्णकुमारी खत्री, मुगारी गाउँपालिका-३ सोलुखुम्बुकी २२ वर्षीया धनकुमारी सार्की, सोलुखुम्बुकै थोलुङ्ग गाउँपालिका- १ बस्ने ४५ वर्षीय जङ्म्मु शेर्पा र उनकी ३ वर्षीया छोरी साङ्गे शेर्पा सामान्य घाइते भएका छन्।
उनीहररु सबैको टाउको, आँखा र हात खुट्टामा चोट लागेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। सुमोका चालक लिसङ्खु गाउँपालिका- ५ सिन्धुपाल्चोकका २४ वर्षीय राजेन्द्र बानिया पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। उनको पनि अवस्था सामान्य रहेको छ।
सिंहका अनुसार दुर्घटनापछि घाइते सबैको उपचारका लागि उदयपुरको घुर्मिस्थित आस्था लाइफ केयर अस्पतालमा पठाएको छ।दुर्घटनापछि बसका मालिक र बसलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार छन्।
बस र सुमो ठोक्किँएपछि केही समय मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको थियो। तर, स्थानीय र प्रहरीको सक्रियतामा बस र सुमोलाई साइड लगाइएपछि अहिले यातायात सूचारु गरिएको छ। सुमो पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ। दुर्घटनास्थल सिन्धुली सदरमुकामबाट झण्डै ८० किलोमिटर पूर्वमा पर्दछ।