सर्वोच्चले भन्यो : ठोरीको सेवा केन्द्र सार्ने निर्णय कार्यान्वयन नगर्नू
वीरगन्ज : सर्वोच्च अदालतले पर्साको ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
माघ १४ गते सबेको मन्त्रिपरिषद बैठकले ठोरी गाँउपालिका वडा नम्बर ५ सुवर्णपुरमा रहेको सेवा केन्द्र , ठोरी गाउँपालिका वडा नम्बर ४ घ्याङडाँडामा सार्ने निर्णय गरेको थियो । सेवा केन्द्र सार्ने सरकारको निर्णय विरुद्ध ठोरी गाउँपालिकाकी उपाध्यक्ष शान्तिमाया थिङले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।
उक्त रिट उपर फागुन १९ गते भएको सुनुवाइ पछि सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिंहको एकल इजालासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णयको कारण देखाऊ आदेश माग्दै अन्तरिम आदेश जारी गरेको हो ।
स्थानीय तह सञ्चालन ऐन २०७४ को कार्यविधी नअपनाइ अवैधानिकरुपमा सेवा केन्द्र परिवर्तनको प्रस्ताव पारित गरेको भनी बहुमत भनिएको निर्णयको आधिकारिकतामाथि जनप्रतिनिधिले प्रश्न उठाएको देखिएकोले दुवै पक्षको तर्फबाट सुनुवाइ गर्न सेवा केन्द्र सार्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले भनेको हो ।
न्यायाधीश सिंहको इजलाशले ठोरी गाउँपालिकालाई फागुन २८ गते पेशी तारेखमा आफ्नो प्रमाणसहित उपस्थित आदेश पनि दिएको छ । अन्तरिम आदेश जारी हुने वा नहुने सम्वन्धमा उपरोक्त बमोजिम छलफल नभएसम्मको लागि माघ २५ गते सरकारले राजपत्रमा केन्द्र परिवर्तन गरेको सूचना कार्यान्वयन नगर्न पनि सर्वोच्चले भनेको छ ।
आदेशपछि ताला खोलियो
सेवा केन्द्र सार्ने सरकारको निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएसँगै सुवर्णपुर संघर्ष समितिले गाउँपालिकाको सेवा केन्द्रमा गरेको एक महिना देखि गरेको तालावन्दी बिहिबार खोलिदिएको छ ।
संघर्ष समितिका संयोजक जरी लामा थिङ लगायतको उपस्थितिमा बिहीबार अपरान्ह तीन बजे सेवाकेन्द्रको मुल गेटमा लगाइएको तालावन्दी खोलिएको हो ।
सरकारले सेवा केन्द्र सार्ने निर्णयको विरोधमा संघर्ष समितिले गत माघ १७ गतेदेखि सुवर्णपुरमा रहेको सेवाकेन्द्रको मुल गेटमा तालावन्दी गरी आन्दोलन जारी राखेको थियो ।
यसअघि गत माघ १४ गते सरकारले सेवा केन्द्र घ्याङडाँडामा सार्ने निर्णय गरेसंगै ठोरी गाँउपालिकाको कार्यालयले भने स्थानीय तहबाट दिइने सेवा तथा दैनिक प्रशासनिक कार्य , घ्याङडाँडाबाट गर्दै आइरहेको छ ।