आत्माघाती गोलको उपहारले आर्मी झापा गोल्डकपको फाइनलमा
झापा : साविक विजेता त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी चौथो झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा आर्मीले पाहुना टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० गोलले हराउँदै फाइनलमा आयोजक झापासँगको भेट पक्का गरेको हो।
आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा तय गरेको हो। भरत खवासले दिएको पासमा नवयुग श्रेष्ठलाई मार्क गरिरहेका दाउफिन्सका सिलो नांगाले चेस्ट गर्न खोज्दा बलले जाली चुमेको थियो। खेलको २३औं मिनेटको त्यही आत्मघाती गोलको मद्दतले आर्मी उपाधि नजिक पुगेको हो।
उत्कृष्ट प्रदर्शन गरे पनि फिनिसिङ फितलो हुँदा दाउफिन्सको फाइनल यात्रा टुंगियो। पहिलो हाफमा खासै मुभ बनाउन नसकेको दाउफिन्सले दोस्रो हाफमा उत्कृष्ट खेल खेलेको थियो। खेलको ४५ औं मिनेटमा दाउफिन्सका अहन्दा इसाको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले विफल पारेका थिए।
५२औं मिनेटमा टिना टिनाको प्रहार गोलरक्षक कुथुले नै विफल पारे। ५७औं मिनेटमा दाउफिन्सका पेटांगाले खाली पोस्टमा गोल गर्न नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो। ६३ औं मिनेटमा उनकै प्रहारले पनि विपक्षी बार भत्काउन सकेन।
आर्मीका टेकबहादुर बुढाथोकीले खेलको ३१औं मिनेटमा खाली पोस्टमा गरेको प्रहार बाहिरिएको थियो। जितसँगै झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले तेस्रोपटक फाइनल खेल्ने भएको छ। आर्मीले पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो।
आर्मीले हालसम्मका फाइनल जितेका सबै खेलमा झापासँगको प्रतिस्पर्धा गरेको थियो। योपटक पनि आर्मीको भेट झापासँग नै भएको छ। झापा–११ भने चौथोपटक फाइनलमा पुगे पनि उपाधिबाट विमुख बनिरहेको छ। फाइनल खेल सोमबार हुनेछ। शनिबारको खेलको म्यान अफ दी म्याच त्रिभुवन आर्मी क्लबका विमल पाण्डे भए। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाए।
आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्नो धेरै खेलाडी घाइते भएकाले अपेक्षा अनुकूल प्रदर्शन गर्न नसकेको बताए।
दाउफिन्सका म्यानेजर आशिक थापामगरले उत्कृष्ट प्रदर्शन गर्दा पनि स्कोर हुन नसकेको बताए। खेलमा पाएका अवसरलाई सदुपयोग गर्न नसकेका कारण खेलबाट बाहिरिनु परेको थापाले बताए।