यसरी भयो पृथ्वीको उत्पत्ति
दोस्रो भाग्यशाली घटना : कुनै ग्रहमा जीवन सम्भव हुनको लागि तापक्रमबाहेक अर्को आवश्यक कुरा मौसममा स्थिरता हो। यो कसरी भयो त भन्ने कुरा जान्नको लागि धर्तीसँग अतीतमा घटेको दोस्रो भाग्यशाली घटनाले सहयोग गरेको वैज्ञानिकहरू मान्दछन्। धर्तीको जन्म भएको केही लाख वर्ष मात्र भएको थियो। धर्ती एक तातो गोलाको अवस्थामै रहेको बेला एक विशाल आकाशीय पिण्ड धर्तीसँग ठोकिने उद्देश्यले तेज गतिमा आइरहेको थियो।
वास्तवमा यसले नवधर्तीलाई विनाश गर्ने उद्देश्य लिएको भए पनि यो दुर्घटना धर्तीको लागि दोस्रो भाग्यशाली घटना बन्नेवाला थियो। लगभग मंगल ग्रह जत्तिकै ठूलो आकारको एक आक्रमणकारी खगोलीय पिण्डले धर्तीसँग भयानक ठक्कर खायो। यस विनाशकारी ठक्करले गर्दा धर्तीको बाहिरी सतहमा रहेका हल्का पर्दाथहरूसँगै उक्त पिण्डका टुक्राहरू उछिट्टिएर बाहिरी कक्षमा पुगेर चक्कर लगाउन थाले। यसरी उछिट्टिएका पदार्थहरू पुनः आपसमा एकत्रित हुँदै गोलाकार पिण्डको रूप लियो र हाम्रो चन्द्रमाको निर्माण भयो। यदि त्यो विशाल ठक्कर नभएको भए आज हामी बिना चन्द्रमाको अवस्था हुने थियौं।
चन्द्रमा एक सानो ग्रह जत्रो आकारको भएकाले उसको गुरुत्वाकर्षण बल यति धेरै छ कि जसले हाम्रो धर्तीलाई निश्चित झुकावमा रहिरहन सहयोग गर्छ। सूर्यको परिक्रमाका दौरान जथाभावी डगमगाउनबाट पनि जोगाउँदछ। चन्द्रमाको कारणले धर्तीको झुकावमा स्थिरता आएको छ, जसले गर्दा धर्तीको वातावरणमा ऋतुहरू तथा जलवायुमा गतिशीलता पैदा गरेको छ। यसरी स्थिर जलवायु र बदलिरहने ऋतृहरूको कारण धर्तीमा जीवन सम्भव हुन सक्यो। हुन त मंगल ग्रहको झुकाव पनि धर्तीको जस्तै छ। तर उसको ठूलो चन्द्रमा नभएको कारण परिक्रमा गर्दा बेला बेला डगमगाउने गर्दछ। अर्थात् त्यहाँ मौसममा स्थिरता छैन। चन्द्रमाको कारणले नै यहाँको मौसममा नियमितता आएको छ जुन जीवनको लागि अति आवश्यक छ। त्यसैले त धर्तीका प्रत्येक जीवलाई मौसममा नियमितता र स्थिरता मन पर्छ।
तेस्रो भाग्यशाली घटना : धर्तीले चन्द्रमा त पायो। तर जीवनको लागि एक आधारभूत तत्त्व पानी थिएन। धर्तीको उत्पत्ति भएको लगभग ५० करोड वर्ष पछि अन्तरिक्षबाट उल्का पिण्डहरूको लगातार बमबारी हुन थाल्यो। यिनले आफूसँगै बरफको रूपमा पानी पनि ल्याउने गर्दथे। करोडौं वर्षसम्म चलेको यस्ता उल्काहरूको वर्षाले यस धर्तीमा अत्यधिक मात्रामा पानी जम्मा हुन थाल्यो। यसरी पानीको वाष्पसँगै कार्वनडाइअक्साइड र नाइट्रोजनजस्ता ग्यासहरूको मि श्रणवाट धर्तीको वायुमण्डलको रचना भयो। वातावरणमा रासायनिक प्रक्रियाको फलस्वरूप एमिनोएसिडको निर्माण हुन थाल्यो। यसको कारण एककोषीय जीवहरू जस्तै ब्याक्टेरिया, अमिबा आदिको जन्म सम्भव भयो।
चौथो भाग्यशाली घटना : अझै पनि यस धर्तीमा अहिलेको जस्तो वायुमण्डल निर्माण हुनका लागि एक आवश्यक तत्त्वको कमी थियो। त्यो हो अक्सिजन। अत्यधिक कार्वनडाइअक्साइडयुक्त वातावरणमा एककोषीय जीवहरू राम्रोसँग फस्टाइरहेका थिए। तर अक्सिजनको उत्पादन कसरी सम्भव भयो त ? त्यस समयमा केही ब्याक्टेरियाहरूले आफ्नो जिउने क्षमतामा अद्भुत विकास गर्न सुरु गरे।
उनीहरूले सूर्यको प्रकाशलाई ऊर्जाको रूपमा प्रयोग गरी आफ्नो खाद्य प्रणालीमा अग्रगामी परिर्वतन गरे। यस्तो प्रणालीबाट अक्सिजन उत्पादन हुन थाल्यो। यस्ता अर्बौंअर्ब ब्याक्टेरियाहरूबाट लगातार अक्सिजन उत्पादन भइरहेका कारण धर्तीको वातावरण अक्सिजनले भरिपूर्ण भइसकेको थियो।
क्रमश : (यसको बाँकी अंश आगामी अंकमा प्रकाशित गरिनेछ।)
प्रस्तुति : विनोद प्रकाश