वाह ! सारस
लुम्बिनी : लामो ठुँड, रातो टाउको, खैरो प्वाँख, अग्लो खुट्टा सारसको खास पहिचान हो। सारस प्रायः जोडीमै भेटिन्छ। प्रेम र समर्पणको प्रतीक मानिने सारस बुद्ध जन्मस्थल लुम्बिनीको नगर पन्छी हो। लुम्बिनी आसपासका क्षेत्रमा बसोबास गर्ने सारसलाई शान्तिको प्रतीकका रूपमा लिँदै संरक्षणको थालनी गरिएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारस संरक्षण अभियान नै चलाएका छन्।
लुम्बिनीमा सारसका लागि निश्चित स्थानसमेत तोकिएको छ। विश्वशान्ति स्तूपा रहेको पश्चिमतर्फको भागलाई सारस क्षेत्र भन्दै संरक्षण गरिएको हो। यहाँ कैयौं जोडी सारस भेटिन्छन्। सारस संरक्षण गरी यसलाई पर्यटनसँग जोड्न लुम्बिनीमा केही महिनाअघि पहिलोपटक पन्छी महोत्सव भयो। महोत्सवमा सारसलाई नगर पन्छी घोषणा गर्दै संरक्षण अभियान चलाउने योजना थालिएको हो। पश्चिम नेपालको रूपन्देही र कपिलवस्तुमा सारसको बाक्लो बासस्थान छ।
लुम्बिनी क्षेत्रका खेतखेतमा सारस बस्ने र त्यहीँ प्रजनन गर्ने भएकाले लुम्बिनीलाई सारस संरक्षण क्षेत्रका रूपमा विकास गर्न लागिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्त बताउँछन्। ‘सारस शान्तिको प्रतीक रहेकाले यसको संरक्षण गर्न अपरिहार्य छ’, उनले भने, ‘संरक्षण गर्नकै लागि सारसलाई नगरपन्छी घोषणा गरिएको हो।’
लुम्बिनी र कपिलवस्तु क्षेत्रमा सारसकै अध्ययन र रहनसहन हेर्न कैयौं पर्यटक आउने गरेका छन्। सारसलाई सामाजिक प्राणीका रूपमा समेत लिइन्छ। एउटा सारस मरेमा अर्काे सारस शोकले नै मर्ने अध्येताहरू बताउँछन्। नवविवाहित जोडीले सारसको जोडी हेर्दा शुभ हुने विश्वाससमेत यो क्षेत्रमा छ।
लुम्बिनी क्षेत्रमा मात्रै करिब एक सय ५० सारस रहेको चराविद् दिनेश गिरी बताउँछन्। लुम्बिनीमा सारसले अन्डा पार्ने र कोरल्ने भएकाले यसलाई महŒवपूर्ण क्षेत्र मानिएको उनको भनाइ छ। लुम्बिनी आसपासको कृषि क्षेत्रमा सारस र किसान सँगसँगै देख्न सकिन्छ। यहाँका किसानले पनि सारस संरक्षण गर्नुपर्छ भन्ने बुझेको गिरी बताउँछन्। लुम्बिनीको कम्पाउन्डभित्र र बाहिर खेतमा सासरले अन्डा पार्ने र कोरल्ने गर्छ। शान्ति स्तूपा क्षेत्रमा गौरचन हुँदा सारसलाई कठिन भइरहेको गिरी बताउँछन्।
विश्वकै दुर्लभ सूचीमा रहेको सारस संरक्षणका लागि तिनाउ र दानव नदीमा हुने प्रदूषण रोक्नुपर्ने चराविज्ञको भनाइ छ। दानव नदी क्षेत्रमा मात्रै एक सय चारवटा सारस फेला पारेका गिरीले त्यहाँको प्रदूषण जोखिमपूर्ण रहेको बताए। ‘आहारा र पानीका लागि सारस दानवको छेउछाउमै बसोबास गर्छ तर त्यहाँका उद्योगबाट निस्किएको रसायनयुक्त पानीले सारसललाई कठिन पारेको छ’, उनले भने।
लुम्बिनी विकास कोषभित्रै रहेको सारस संरक्षण क्षेत्रमा हुने आगजनी, रूख कटानीले असुरक्षा हुने गिरीले बताए। सारस संरक्षण अभियानसँगै त्यस क्षेत्रका पोखरी सुकाएर माछा मार्ने र विषादी राख्ने प्रवृत्ति रोक्नुपर्ने उनले सुझाव दिए।
लुम्बिनी क्षेत्र सारस मात्रै नभई अन्य चराको पनि बाक्लो बासस्थन र घुमफिर गर्ने स्थान हो। लुम्बिनीमै करिब तीन सय प्रजातिका चरा रहेको विज्ञहरू बताउँछन्। नवलपरासी, रूपन्देही र कपिलवस्तुका सिमसारमा चार सय ५८ प्रजातिका चरा छन्।
लुम्बिनी विकास कोषले शान्तिका लागि सारस भन्ने नारासहित आगन्तुक चराको स्वागत गर्छ। यसले चराप्रतिको प्रेम बढ्ने विश्वास कोषले लिएको छ। लुम्बिनीमा सारस, कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, भुँडीफोर, घोगीफोर, लोभिपापी भुँडीफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, बगाले सिमकुखुरा, लामोऔंले, मरुल, जलअप्सरा, हुटिट्याउँ, टमटमे, आँसीठुँडेलगायत तीन सय प्रजातिका चरा पाइन्छन्।
कोषका उपाध्यक्ष मेत्तेयले लुम्बिनी परिसरकै पोखरी, तलाउ क्षेत्रको संरक्षणको थालनीसमेत महोत्सवसँगै सुरु भएको बताए। ‘चराको बासस्थान बढ्दा यहाँको सौन्दर्य थप वृद्धि हुनेछ’, उनले भने।