गिद्ध दिवस

गिद्ध अनुसन्धान केन्द्र बन्न सक्छ अर्घाखाँचीको घेराभिर

गिद्ध अनुसन्धान केन्द्र बन्न सक्छ अर्घाखाँचीको घेराभिर

अर्घाखाँची : मरेको सिनो खाएर हाम्रो वरपरको वातावरणलाई सफा र स्वच्छ बनाउने गिद्ध प्रकृतिको कुचीकार हो। गिद्धले हाम्रो वरपरको वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउने काम गर्छ।

गिद्धले मरेका जनावरलाई आहारा बनाउँछ। पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राखी पर्यावरणलाई जोगाउन यसको निकै ठूलो योगदान छ। आफैं सिकार नगर्ने तर मरेका जनावरको सिनो मात्र खाने गिद्धले प्रदूषित र दुर्गन्धित वातावरणलाई स्वच्छ राखी महामारी, सरुवा रोगहरू लाग्नबाट जोगाउँछ। 

वातावरणलाई सफा र स्वच्छ बनाउने गिद्धको संख्या पछिल्लो समय घट्दै गएको छ। आजभन्दा करिब ३० वर्षअघिसम्म हाम्रो गाउँ, टोलवरपर सयांैको संख्यामा सिनोमा लुछाचुँडी गरिरहेका गिद्धका झुन्ड सहजै भेटिन्थे। मानवबस्ती वरपर खुला ठाउँमा बस्ने गिद्धका गुँड पनि सजिलैसँग देख्न सकिन्थ्यो। सजिलै र ठूलो संख्यामा देख्न सकिने गिद्ध अहिले झट्ट भेट्न सकिँदैन। 

घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेकका कारण २०५० को दशकमा गिद्ध संसारमा सबैभन्दा तीव्र गतिमा घटेर लोप भएको छ। गाई, भैंसी, घोडा, खच्चड, बाख्रा, सुँगुरजस्ता पशुमा सुन्निएको, ज्वरो आएको र दुखेको निको पार्न व्यापक रूपमा प्रयोग गरिने यस औषधिले पशुचौपायालाई निको पारे पनि उपचार गरेका पशु मरेमा तिनको सिनो खाने गिद्ध भकाभक मरेको गिद्धको अनुसन्धान र संरक्षणमा क्रियाशील कृष्णप्रसाद भुसालले बताए। 

मरेको जनावर गिद्धले समूहमा खाने हुँदा डाइकलोफेनेकले उपचार गरी मरेको पशुको एउटै सिनोबाट पनि ठूलो संख्यामा मर्न पुगे। परिणामत पछिल्ला दशकमा गिद्ध अति विरल भएका छन्। अझ तिनको गुँड त देख्नै मुस्किल रहेको गिद्ध संरक्षणमा क्रियाशील भुसालको भनाइ छ। 

नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजातिका गिद्ध अर्घाखाँचीमा अभिलेख भएको छ। पछिल्लो तथ्यांकअनुसार नेपालमा गिद्धको संख्या करिब २० हजार रहेको छ। नेपालमा गुँड बनाएर बच्चा कोरल्ने छ प्रजातिका आवेशीय गिद्धमध्ये पाँच प्रजातिले अर्घाखाँचीमा गुँड लगाउने गर्छ। जिल्लामा झन्डै दुई सयको संख्यामा गिद्ध रहेको नेपाल पक्षी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम प्रमुख अंकितविलास जोशीले बताएका छन्।

अर्घाखाँचीको मालारानी गाउँपालिकामा पर्ने घेराभिर नेपालको पहरामा गुँड बनाउने सबै तीन प्रजातिले एकै ठाउँ गँुड बनाएको क्षेत्र हो। यसरी तीन प्रजातिका गिद्धले एउटै पहरामा गुँड बनाएको संसारमै अति विरलै अवस्था रहन्छ। नेपालमा हालसम्मको अभिलेखअनुसार घेराभिर मात्र एउटा क्षेत्र हो जहाँ उच्च पहाडदेखि हिमाली भेगमा बस्ने संकटको नजिक रहेका हिमाली गिद्ध र हाडफोर गिद्धका साथै मध्यपहाडमा बस्ने विश्वमै दुर्लभ संकटापन्न सेतो गिद्धको बासस्थान रहेको गिद्धविज्ञ भुसालको भनाइ छ। 

भुसालले भने, ‘घेराभिर र समग्र अर्घाखाँची जिल्लामा विगत १५ वर्षदेखि मैले गिद्ध र अन्य पन्छीहरूको अध्ययन, अनुसन्धान र अनुगमन गरिरहेको छु। वर्षमा कम्तीमा तीन पटक म घेराभिर पुगेकै हुन्छु। तर, हरेक पटक म त्यहाँ पुग्दा उत्साहित हुने गर्छु। असोज कात्तिकबाट जोडी बाँधी गुँड बनाउन सुरु गर्ने गिद्धले करिब दुई महिनाको ओथारो छि पुस माघमा बचेरा कोरल्छन्। करिब तीन महिनापछि बचेरा गुँड छाडेर उड्न सक्ने हुन्छन्।’

अर्घाखाँची जिल्लाका अर्घा, धारापानी, पकले, नरपानी, डिभर्नाका पहरामा संकटापन्न सेतो गिद्धले गुँड बनाएर यतिबेला बचेरा हुर्काइरहेका छन् भने विश्वमै दुर्लभ अति संकटापन्न डंगर गिद्ध र सुन गिद्धले अर्घा र छत्रदेवका सल्लेरी जंगलमा गुँड बनाएर बचेरा उडाइसकेका छन्। 

पाँचथरी गिद्ध सधैं भिर बस्ने रैथाने भए पनि समयसमयमा सानो खैरे गिद्ध, खैरो गिद्ध र राज गिद्ध पनि बसाइँसराइ गरेर घेराभिर क्षेत्रमा आउने जाने गर्छन्। दुर्लभ गिद्ध र चिरकालिजको बासस्थान भएकोले घेराभिर र त्यस आसपासको भू–भागलाई समेटी चरामा विश्वव्यापी रूपमा काम गर्ने वैज्ञानिक संस्था बर्डलाइफ इन्टरनेसनल र नेपाल पन्छी संरक्षण संघले अर्घा महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र घोषणा गरेका छन्।

विश्वमै परीचित यस अर्घा महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रबाट हालसम्म २ सय ३९ प्रजातिका चराहरू अभिलेख गरिएको अनुसन्धानकर्ता मित्र पाण्डेले बताएका छन्।

  •     घेराभिर तीन प्रजातिका गिद्धको बासस्थान
  •     अर्घाखाँचीमा पाइन्छन् हिमाल, पहाड र तराईका गिद्ध

अन्यत्र विरल हुँदै गएका दुर्लभ गिद्ध, तिनको गुँड र प्रजनन गतिविधिको अवलोकन, अनुसन्धान र फोटोग्राफीका लागि घेराभिर एक उत्तम स्थान रहेको छ। घेराभिरको शिरमा रहेको मालारानी मन्दिरबाट अर्घाखाँची, गुल्मी र प्यूठानका तरेली परेका पहाड, सम्म फाँट र धौलागिरी, अन्नपूर्ण र मनास्लुको सुन्दर हिमशृंखला पनि देखिन्छ। चैत्र वैशाखको याममा यहाँ ढकमक्क लालीगुँरास फुलेका हुन्छन्। यस क्षेत्रको थप अध्ययन, अनुगमन र प्रवद्र्धनका लागि नेपाल सरकार र सरोकारवाला निकायबाट पहल गर्नुपर्ने आवश्यकता छ। 

यस क्षेत्रको प्रवद्धन गर्ने सके देश विदेशका अनुसन्धानकर्ता तथा पर्यटकहरू दुर्लभ गिद्ध, चिरकालिज र यहाको सुन्दर भू–दृश्यको अवलोकनका तथा फोटोग्राफीका लागि आउन सक्ने सम्भावना प्रचुर रहेको वरिष्ठ वन्यजन्तु फोटोग्राफर चुङ्बा शेर्पाले बताए। 

विगत १५ वर्षदेखि नेपालमा गिद्धको अनुसन्धान र संरक्षणमा क्रियाशील भुसालले ‘गिद्ध : प्रकृतिका कुचीकार’ पुस्तक पनि प्रकाशन गरेका छन्। जसमा गिद्धको समग्र अवस्थालाई चित्रण गरिएको छ। 

नेपाल पक्षी संरक्षण संघका अनुसार १० वर्ष अघिसम्म नेपालमा पाँच लाख र भारतमा १६ करोड गिद्ध थिए। विगत १० वर्षयता नेपाललगायत दक्षिण एसियामा ९५ प्रतिशतभन्दा पनि धेरै गिद्ध लोप भए। संरक्षणमा ध्यान नदिए बाँकी भएका गिद्धहरू सबै लोप भएर जानेछन्।

विश्वकै दुर्लभ लोपोन्मुख डंगर गिद्धका ६ बचेरालाई १३ वर्षअघि अर्घाको गर्ताखोला, खहरेखोला र गर्लामका वनबाट चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध प्रजनन तथा संरक्षण केन्द्रमा समेत लगिएको थियो। प्रकृतिबाट सदाका लागि लोप हुने खतरा भएपछि प्रजनन केन्द्रमा लगिएको ती बचेरालाई सुरक्षित वातावरणमा हुकाई तिनबाट पनि बचेरा कोरली विगत सात वर्षदेखि सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको छ। 

त्यसरी छाडिएका गिद्धको अनुगमनका लागि ढाडमा स्ईंटेलाइट ट्याग लगाइएका ती गिद्ध बेलाबेला अर्घाखाँची जिल्लामा पनि आइरहने स्ईंटेलाई ट्यागबाट प्राप्त जानाकारीमा देखिने गिद्ध विज्ञ भुसालले बताए। अर्घाखाँचीका अलावा लुम्बिनी प्रदेशका अन्य जिल्लामा पनि गिद्धको बासस्थान भए पनि यहाँ जस्तो धेरै प्रजातिको उच्च घनत्वमा भने नपाइएको अनुसन्धानकर्ताको दाबी छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.