नृत्यमा अब्बल आर्शिना
आर्शिना एस इन्टर स्कुल फेस्टिभलमा एकल नृत्यतर्फकी विजेता हुन्। गत शनिबार तीनकुनेस्थित एस स्कुलले आयोजना गरेको दोस्रो सुपर जुनियर कलिडोस्कोप २०१९ अन्तर्गत सम्पन्न २० विद्यालयका ३० प्रतिस्पर्धीमध्ये उनी विजेता बनेकी हुन्।
फेस्टिभलमा चित्रकला, खाना बनाउने कला, गायन, कवितावाचनसँगै सृजनात्मक र मनोरञ्जनात्मक प्रतियोगिता समावेश थिए। बालबालिकालाई फरक परिस्थितिमा घुलमिल गर्न सक्ने बनाउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
गत वर्ष किड्स क्यापिटल प्रतिस्पर्धामा ‘मस्ट ट्यालेन्टेड अवार्ड’ जितेकी आर्शिनाले चलचित्र ‘लभ यु वाबा’ र ‘ब्वाईफ्रेन्ड’ मा बाल कलाकारको भूमिकामा अभिनय गरेकी छिन्। उनले ‘स्वास्नीले पछारी’ लोक विधा र ‘जब देखेँ तिमीलाई’ आधुनिक विधाको म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन्। ‘ज्याकपट’ चाउचाउ र ‘प्युरेक्स’ साबुनको विज्ञापनमा पनि उनलाई देख्न पाइन्छ। नृत्य होस् या गायनमा निर्धक्क स्टेजमा प्रस्तुति दिन सक्ने आर्शिनाले एलकेजी कक्षामा पढ्दापढ्दै ‘सिसा (लिड) नभएको रङ लगाउनोस्, हामीलाई बचाउनोस्’ भनेर सार्वजनिक टेलिभिजन सन्देशमा आफूलाई प्रस्तुत गरेकी थिइन्।
घट्टेकुलोको स्याब पब्लिक स्कुलका कक्षा २ मा पढ्ने उनमा हाउभाउ मिलाएर नाच्न सक्ने क्षमता छ। ‘एस स्कुलको कम्पिटिसनमा जाने बेला मैले प्राक्टिस नै गर्न पाइन’ प्रतिस्पर्धाका बारेमा बेलिबिस्तार लगाउँदै उनले भनिन्, ‘अघिल्लो दिन स्कुलबाट मामुलाई खबर आएछ। मलाई त जाने आँट थिएन। सुरुमा मामुले र दिदीहरूले भन्दा त मैले नाइँ भनेँ। पछि गजित मामाले जाउ हिम्मत हार्नु हुँदैन भनेपछि गएकी हुँ।’ गीतको कम्पोज उनकी संगम दिदीले गरेकी हुन्। अघिल्लो दिन गीत कम्पोज गरेर भोलिपल्टै उनले देखाइन्।
मेरो घरमा त सबैजना कलाकार हुनुहुन्छ। उनले मामाघरतिरको कुरा सुनाउँदै भनिन्, ‘गजित मामा नायक, गम्भीर मामा कोरियोग्राफर, निश्मा माइजू हिरोइन, संगम दिदी कलाकार, अहिले त डान्स टिचर भइसक्नुभयो। सौगात दादा निर्देशक, उहाँको त गिनिज बुकमा पनि नाम छ, कान्छो चलचित्र निर्देशक भनेर। आयोनेस दादा पनि राम्रो नाच्नुहुन्छ।’ आर्शिना राम्रो पढेर असल मान्छे बन्न चाहन्छिन्। ‘ठूलो भए पछि म राम्रो कलाकार बन्न चाहन्छु’, उनले आफ्नो लक्ष्य यसरी बताइन्।