हराएको ड्रइङ बक्स
काशीराम विरस ।
स्कुलमा टिफिन टाइमको घण्टी बज्यो— टि...नि...नि...नी...! घण्टीपछि सबै विद्यार्थी टिफिन खानतिर लागे। विनिताले टिफिन बक्स निकाल्न झोला खोलिन्। झोला खोल्ने बितिक्कै उनी झसंग भइन्। टिफिन बक्स सँगै ड्रइङ बक्स नदेखेपछि उनी हड्बडाउनु स्वाभाविक थियो। झोला दोह्र्याइतेह्र्याइ खोतलखातल गरिन्। तर अहँ बक्स भेटिएन।
उनको मनले भन्यो, ‘ला ड्रइङ बक्स त साँच्चिकै हराएछ कि क्या हो !’ उनको बोली फुटेन। विनितालाई टिफिन खान मन लागेन। उनको भोक, प्यास हरायो। हराएको बक्सकै बारेमा मात्र मनमा कुरा खेलिरह्यो। विनिता टिफिन नखाई त्यसै टोलाएर बसेको देखेर उनको साथी निकिताले सोधिन्, ‘विनिता ! ए.. विनिता ! तिमीले आज किन टिफिन नखाएको ? ’
निकिताको प्रश्नले विनिता झस्किन् ! उनले टोलाउँदै भनिन्, ‘आज मलाई टिफिन खान मन छैन।’
—सञ्चो भएन कि तिमीलाई ?
— हैन त्यस्तो केही भा ‘छैन।
—अनि किन त ?
—अँ...त्यत्तिकै।
उनले ड्रइङ हराएको भन्न सकिनन्। टिफिन लगत्तै ड्रइङको क्लास थियो। हिजै ड्रइङ टिचरले भनेका थिए, ‘आज वातावरण प्रदूषण हुने कारणहरूवारे ड्रइङ गर्न सबैले घरमा अभ्यास गरेर आउने !’ अब ड्रइङ केले गर्ने भनेर विनिता चिन्तित भइन्। स्कुल नजिक स्टेसनरी पसल पनि थिएन। त्यसैले उनको मनमा अनेक सोचले डेरा जमाउन थाल्यो।
ड्रइङ बक्स हरायो भनेर सरलाई भनुँ भने गाली खाइने हो कि भन्ने डर। सरले कक्षामा उनले गरेको चित्र अरूको भन्दा राम्रो भनी प्रशंसा गरेकोमा उनी दंग पर्थिन्। हराएको बक्सको सामग्रीहरू ब्रस, पेन्सिलले चित्र कोर्न थालेदेखि राम्रो भएको उनलाई महसुस भएको थियो। त्यो सम्झेर विनितालाई रुन मन लाग्यो।
त्यही बक्स प्रयोग गरेर आजै चित्र वनाउने अभ्यास गरेकै हो। सकेपछि बक्सभित्र सबै सामग्रीहरू सफा गरी बक्सभित्र राखेकै हो। होमवर्क सकेपछि स्कुल जाने बेला टिफिन बक्स र ड्रइङ वक्स सधैं झैं सँगै झोलाभित्र राखेर खाना खान हिँडेको सम्म उनलाई सम्झन भयो। उनको मन निकै अत्तालिएको थियो।
हिजो ड्रइङ टिचरले दिएको विषयमा चित्र कोर्न नपाइने हो कि भन्ने चिन्ताले विनिताको मनमा डर पैदा भइरह्यो। यही बीचमा उनले मनमनै बिचारिन्, ‘आज साथी निकिताको बक्स आलोपालो गरेर काम चलाउनु पर्ला। स्कुल छुट्टी पछि बाआमालाई हराएको बक्सबारे जानकारी गराउनु पर्ला।’
टिफिन टाइम सकिन लागेको थियो। त्यसैले, टिफिन बक्स बोकेर विनिता आफ्नो क्लासरुम भित्र छिरिन्। टिफिन बक्स झोलाभित्र राखी ड्रइङ कापी खाज्ने क्रममा सोही कापीको भित्रपट्टि उनको दृष्टि पुग्यो।
उनलाई आश्चर्य लाग्यो। कापीको भित्री भागमा ड्रइङ बक्स देखियो। बक्स आफ्नै झोलामा भएको देखेर खुसीले विनिताको आँसु छचल्कियो। हत्तेरिका ! म पनि कस्तो हुस्सु। बिहान ड्रइङको अभ्यास सकेर कापीभित्र बक्स राखेको मैले कस्तो भुसुक्कै बिर्सेछु। हराएको बक्सबारे उनले बिहानको घटना स्मरण गरिन्।
यसरी बक्स हरायो भन्दै मनमा पालेका अनेकथरी डर, चिन्ता पलभरमै हरायो। एकातिर सरले दिएको विषयमा राम्रो, सफा चित्र कोर्न पाइने भयो भनेर विनिता खुसी भइन्। अर्कोतिर आफैंले राखेको ठाउँ एकाएक बिर्संदा आफैंलाई लज्जानुभूति पनि भयो। त्यतिन्जेल ड्रइङ टिचर क्लासमा प्रवेश गरिसकेका थिए।
राम्रो चित्र बनाएको भनेर विनिताले आज पनि ड्रइङ टिचरको स्याबासी पाइन्।