घरेलु मैदानमा फेरि चुक्यो झापा, आर्मी बन्यो च्याम्पियन
बिर्तामोड : विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी चौथो झापा गोल्डकप फुटवलको च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५-३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
उपाधि चुमे सँगै आर्मीले नगद १२ लाख ५५ हजार सहित ट्रफी हात परेको छ । उपविजेतामानै सिमित झापा ११ ले नगद ६ लाख ५ हजारमा चित्त बुझाएको छ ।
सोमबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा आर्मीले जितका लागि पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरको थियो । झापाले भने पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल मात्र गर्न सक्यो ।
पहिलो हाफको २४ मिनेटमा आर्मीका सन्तोष तामाङले फ्री किक मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले व्यत्तिगत २ गोल गरे । आर्मीको जितका लागि क्याप्टेन भरत खवास, टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठले गोल गरेका हुन् । झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फान्सिस् र भिक्टोरले गोल गरे ।
झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । झापा ११ भने चौथो पटक फाइनलमा पुगे पनि उपाधि हात पार्न सकेको छैन ।
दर्शकको बलियो समर्थन पाएको झापा तीन विदेशी खेलाडीसहित आफ्ना नियमित स्ट्राइकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्रेको थियो ।
आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोल रक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित झापासँग भिडेको थियो । विजेतालाई प्रमुख अतिथि कांग्रश नेता कृष्ण प्रसाद सिटौला र प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पुरस्कार प्रदान गरेका छन् ।