बुद्धका मूर्ति चोरी गर्ने दुई पक्राउ
दुनै, डोल्पा : वर्षौ पहिला हराएका बुद्धका बहुमूल्य मूर्ति चोरी गर्नेहरूलाई प्रहरीले एकपछि अर्को गर्दै पक्राउ गरिरहेको छ।
पछिल्लोपटक गएको जेठ २७ गते शे फोक्सुण्डो गाँउपालिका ८ रिग्मोको थासुङछोलीङ गुम्बाबाट मुर्ति चोरी गर्ने २ जना पक्राउ परेका छन्। गुम्बाका मुल पुजारी लटई लामामा दाई साङ्गे लामाको घरमा परापूर्व कालदेखि पूजा हुँदै आएका पूरातात्विक मूर्तिहरू ७ थान चोरी गर्नेलाई पक्राउ गरी प्रहरीले सार्वजानिक गरेको छ।
पक्राउ पर्नेमा शे-फोक्सुण्डो गाउँपालिका ८ रिग्मो गाउँका ४० वर्षिय छुल्डीम नाम्क्याल रोक्का र त्रिपूरासुन्दरी नगरपालिका ७ छल गाउँका वर्ष ४० कै ईन्द्रबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीका अनुसार गुम्बाबाट चोरी हुने डरले वर्षौ पहिला लटईका बाबु युङडुङले यी मूर्ति आफनै घरमा राखेका थिए। वर्षमा एक पटक आफूले पूजा गर्ने गरेको लटई लामाले जानकारी दिएको प्रहरीले बताएको छ। उनीहरूले ८ मध्ये ७ मूर्ति चोरी गरेका थिए।
साङ्गे लामाका परिवार यार्सागुम्बा टिप्न पाटन गएको बेला छुल्डीम र ईन्द्रले छलगाउँमा योजना बनाइ मूर्ति राखिएको घरको साङले कब्जा लगाएका ४ वटा ढोका फोडेर चोरी गरेको स्वीकार गरेको प्रहरी नायव उपरीक्षक अवदेश बिष्टले जानकारी दिए।डिएसपी बिष्टले मूर्ति बेचेपछि एकजनाको भागमा एक करोड भन्दा धेरै रकम आउने देखेपछि चोरी गरेको र छिमेकी देशमा निर्यात नभएको बताएकाले मूर्तिहरू नेपालमै हुन सक्ने बताए। उक्त चोरीमा संलग्न एक जना अझै फरार रहेको डिएसपी बिष्टले बताए।
डोल्पाको माथिल्लो भोटमा रहेका गुम्बाबाट बुद्धका बहुमूल्य मूर्तिहरू चोरी भएका छन्। वर्षौ पहिला हराएका शे फोक्सुण्डो गाउँपालिका ४ को राहप गुम्बा, शे गुम्बा, थासुङछोलीङ गुम्बा, डोल्पाबो बुद्ध गाउँपालिकाको धोमा रहेको गाकार गुम्बा, मेकिङ्क गुम्बा र काइके गाउँपालिकाको गाउको गुम्बामा रहेका मूर्तिहरु चोरी भएका थिए।