साफ महिला फुटबल : उद्घाटन खेलमा भुटानविरुद्ध नेपालको सहज जित
विराटनगर : विराटनगरमा मंगलबार सुरु महिला साफ च्याम्पियन्यसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध ३-० गोलको सहज जित दर्ता गराएको छ।
उद्घाटन खेलमा नेपालले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा १ गोल गर्न सफल भयो । विराटनगरको सहिद रंगशालामा भइरहेको उद्घाटन खेलमा नेपालका लागि १३ औँ मिनेटा मञ्जलीकुमारी योञ्जनले पहिलो गोल गर्दै अग्रता दिलाउन सफल भएकी थिइन् ।
त्यसको तीन मिनेट नबित्दै नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारीले गोल गरेपछि नेपालले २-० को अग्रता बनाउन सफल भयो । हरि खड्काको प्रशिक्षणमा भुटानविरुद्ध उत्रिएको नेपालले केही राम्रा अवसर भने आवश्यक तालमेलको अभावमा खेर फालेको थियो ।
सावित्रा भण्डारी र अनिता बस्नेतले वान भर्सेस वान को अवस्थामा पनि गतिला अवसरलाई जाली चुमाउन सकेनन् । कमजोर मानिएको भुटानले डिफेन्स लाइनमा सुधारिएको प्रदर्शन गर्दै नेपाललाई थप गोल हुनबाट रोक्यो ।
खेलको दोस्रो हाफमा पनि नेपालले आक्रमक खेलिरहेको छ । नेपालले दोस्रो हाफमा पनि अर्को गोल थप्न सफल भएको छ । खेलको ५४ औँ मिनेटमा निरु थापाले बललाई जाली चुमाउँदै अग्रता ३-० मा पुर्याउन सफल भएकी हुन् ।
भारतमा भएको हिरोकपमा उपविजेता बनेको नेपाल यो पटक नेपाल घरेलु भूमिमा साफ फुटबलको उपाधि जित्ने लक्ष्यका साथ खेलिरहेको छ ।
च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्स सहभागी छन्। खेलअघि सोमबार विराटनगरमा नेपालका प्रशिक्षक हरि खड्काले खेलाडीले उपाधि लक्ष्यसहित उच्च मनोबलका साथ प्रदर्शन गर्ने बताएका थिए।
नेपाली टोलीकी कप्तान नीरू थापाले घरेलु मैदानको फाइदा उठाएरै छाड्ने दाबी गरेकी थिइन्। नेपालसँग भिडिरहेको भुटानी टोलीले यसअघि नेपालसँग भएका कुनै पनि प्रतिस्पर्धामा सफलता भने पाउन सकेको छैन। घरेलु मैदान र यसअघि जित्न नसकेका कारण पनि भुटानमाथि जित निकाल्न त्यति गाह्रो नभएको नेपाली टिमको विश्लेषण छ।
नौ वर्ष अघिबाट सुरु भएको साफमा हालसम्म नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ। भारतले चारैपटक उपाधि हात पारेको छ। समूह ‘ए’मा नेपाल, भुटान र बंगलादेश छन्। ‘बी’मा श्रीलंका, माल्दिभ्स र भारत छन्।