साफ महिला च्याम्पियनसिपमा मालदिभ्सविरुद्ध भारतको ६ गोल

साफ महिला च्याम्पियनसिपमा मालदिभ्सविरुद्ध भारतको ६ गोल

विराटनगर : उपाधिको प्रबल दाबेदार मानिएको साविक विजेता भारतले विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा मालदिभ्सविरुद्ध ६–० को एकतर्फी जित निकालेको छ।

यसअघिका चारवटै संस्करणको उपाधि जितेको भारतले बुधबार सहिद रंगशालामा भएको खेलमा मालदिभ्सको पोस्टमा आधा दर्जन गोल वर्षाएको हो। जितसँगै भारतले तीन अंक जोडेको छ। भारतले समूह ‘बी’मै रहेको श्रीलंकासँग आइतबार प्रतिस्पर्धा गर्ने छ। मालदिभ्सले भने शुक्रबार श्रीलंकाको सामना गर्ने छ।

मध्यान्तरअघि भारतले मालदिभ्सविरुद्ध पाँच गोलको फराकिलो अन्तर बनाएको थियो। मध्यान्तरपछि दबाबलाई कायम राखे पनि एक गोल मात्रै थप्न सक्यो। भारतको जितमा ग्रेस दाङमिन, सान्धिया र्‍याङगनथान, इन्दुमति खाथिरसान, रतनवालादेवी नङमाइथेनले एक÷एक गोल गरे भने सञ्जुले व्यक्तिगत दुई गोल गरिन्।

भारतले खेलको सातौं मिनेटमै गोलको खाता खोलेको थियो। मालदिभ्सकी गोलरक्षक अमिनाथ लिजा अघि बढेका कारण बललाई नियन्त्रणमा लिन नसकेको मौका छोप्दै भारतकी ग्रेस दाङमिनले गोल गरिन्। त्यसको पाँच मिनेट पनि बित्न नपाउँदै १२औं मिनेटमा सान्धिया ¥याङगनथानले गोल गरिन्। त्यसपछि २२औं मिनेटमा इन्दुमती खाथिरसेन, २७औं मिनेटमा सञ्जु र पहिलो हाफको इन्जुरी समयमा रतनवालादेवी नङमाईथेनले फ्रिकिकमा गोल गरिन्।

मालदिभ्सले दोस्रो हाफमा भने सन्तोषजनक प्रदर्शन गरेको थियो। भारतले पाएका केही राम्रा अवसरलाई मध्यान्तरपछि विफल पारेको थियो।। रक्षात्मक रूपमा उत्रिएको मालदिभ्सविरुद्ध खेलको ८९औं मिनेटमा सञ्जुले ४० यार्ड टाढाबाट व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ६–० को जित दिलाइन्।

खेलपछि मालदिभ्सका प्रशिक्षक मोहमद आतिफले रक्तापंक्तिका मुख्य तीन खेलाडी घाइते भएकाले हार बेहोर्नु परेको बताए। फराकिलो पराजय बेहोरे पनि खेलाडीको प्रदर्शनबाट भने सन्तोष मिलेको बताए।

भारतकी प्रशिक्षक मेमोल रोकीलेले खेलाडीको उत्कृष्ट प्रदर्शन नै जितको मुख्य कारण भएको बताइन्। प्रत्येक खेलबाट सिक्दै आफूहरू अघि बढ्ने क्रममा रहेका कारण आगामी खेलमा झन् उत्कृष्ट प्रदर्शन गर्ने उनले बताइन्।

बिहीबार समूह ‘ए’मा रहेका बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुने छ।

साफमा भुटान र बंगलादेशको अवस्था

बिहीबार प्रतिस्पर्धामा उत्रने बंगलादेश चौथो संस्करणको उपविजेता हो। भुटानले भने अहिलेसम्म कुनै पनि प्रतियोगितामा एक खेल पनि जितेको छैन।

मंगलबार पनि भुटानले घरेलु टोली नेपालसँग ३–० गोलले हार बेहोरेको थियो। साफमा लगातार पराजित रहँदै आएको भुटान जितको खोजीमा छ। बंगलादेशमा सन् २०१० देखि सुरु भएको साफको पहिलो संस्करणबाटै सहभागिता जनाउँदै आएको भुटानलाई हालसम्म पराजयको नतिजा मात्रै हात लागेको छ।

भुटानका दक्षिण कोरियाली प्रशिक्षक सङ जाइ लीले पनि भविष्यमा राम्रो टोली निर्माण गर्न युवा खेलाडी समावेश गरेको बताए। उनले अनुभवका लागि भए पनि साफमा सहभागिता जनाएको बताए।

साफमा भुटानले हालसम्म १२ खेलमा एकमा बराबरी गरेको छ भने अन्यमा हार बेहोरेको छ। भुटानले पहिलो साफमा श्रीलंकाविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो।

बंगलादेश पनि भुटानमाथि दबाब कायम गर्ने दाउमा छ। पहिलो साफबाटै अघि बढेको बंगलादेशले हालसम्म १५ खेल खेलेको छ। जसमा सातमा जित, एकमा बराबरी र सातमा हारको सामना गरेको छ। चौथो संस्करणमा उपविजेता बनेको बंगलादेशले त्यस अघिका दुईवटा खेलमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.