गरिबीको कारक भ्रष्टाचार

गरिबीको कारक भ्रष्टाचार

आर्थिक र राजनीतिक क्षेत्रबाट लैंगिक विभेद हटाई राजनीतिमा महिलाको प्रचुर उपस्थिति भए भ्रष्टाचार कम हुन्छ ।


भ्रष्टाचारको प्रसंग चल्दा प्रश्न उठ्न सक्छ– के महिला पनि भ्रष्टाचारी छन् ? संसारका १२५ राष्ट्रमा गरिएको अध्ययन–अनुसन्धानअनुसार न्यून संख्यामा महिला भ्रष्टाचारमा संलग्न देखिएको पाइयो। महिला भ्रष्टाचारी छैनन्। बरु उनीहरू भ्रष्टाचारबाट प्रताडित छन्। भ्रष्टाचारीहरू राष्ट्रका स्रोतहरूको दोहन मात्र गर्दैन, आम जनताको पनि शोषण गर्छन्। संसारमा अधिकांश महिला अशिक्षित, बेरोजगार र गरिब छन् तापनि सिंगो परिवारको सम्पूर्ण जिम्मेवारी उनीहरूले नै बहन गर्नुपरेको छ।

जीवन निर्वाहका लागि कुनै काम गर्नुपर्दा भ्रष्टाचारको सामना पनि गर्नुपर्ने हुन्छ। तथापि अध्ययनबाट केही मुलुकका जिम्मेवार पदमा बसेका महिलामाथि अपवादका रूपमा भ्रष्टाचारको आरोप लागेको देखिएको छ। भारत, सिंगापुर, इन्डोनेसिया आदि मुलुकका केही महिला नेत्री र सार्वजनिक पदाधिकारीविरुद्ध मुद्दा चलेको पुष्टि भएको छ। 

ट्रान्सपरेन्सी इन्टरनेसनलको अध्ययन

ट्रान्सपरेन्सी इन्टरनेसनलले युरोपियन कमिसनको सहयोगमा सन् २०१६ मा प्रकाशित एक पुस्तकमा उल्लेख भएअनुसार गरिब र कमजोर वर्गलाई भ्रष्टाचारले नराम्रोसँग प्रभावित गरेको छ। त्यसैकारण पनि महिला जोखिममा रहेकाले यसबाट नकारात्मक असर परेको छ। लैंगिक समानताअन्तर्गत महिला वर्गले उपभोग गर्ने नागरिक र सामाजिक अधिकारमाथि पनि भ्रष्टाचारले अवरोध पुर्‍याएको छ। ट्रान्सपरेन्सीका अनुसार भ्रष्टाचार समस्या समाधान गर्ने एउटा बलियो पक्षधर महिला हो।

अध्ययनबाट के देखिएको छ भने जुन मुलुकमा अत्यधिक संख्यामा राजनीतिक र आर्थिक क्षेत्रमा महिलाको नेतृत्व छ, त्यहाँ भ्रष्टाचारका अपराध निश्चय नै कम हुन्छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको अर्को दाबीअनुसार स्वयं महिलाहरू घुस आदानप्रदान गर्न डराउँछन्। अतः सार्वजनिक क्षेत्रमा महिलाको सहभागिता गराउनेबारेमा सम्बोधन हुन जरुरी छ। साथै लैंगिक विभेद र महिला पुरुषबीचको असन्तुलन आर्थिक र राजनीतिक क्षेत्रबाट हटाउन जरुरी छ। 

यूएनडीपीको अध्ययन

यूएनडीपीले लैंगिक समानता र भ्रष्टाचारबारेमा अध्ययन–अनुसन्धान गरी सन् २०१२ मा प्रकाशित गरेको प्रतिवेदनअनुसार बालबालिकालाई विद्यालयमा भर्ना गर्दा, नोकरी, व्यवसाय र रोजगार प्राप्त गर्न जाँदा, घरेलु हिंसा वा परिवारले गर्ने दुव्र्यवहारबारेमा उजुरी गर्न जाँदा प्रहरी प्रशासन। न्यायालयबाट हुने भ्रष्टाचारका कारण महिलाले न्याय नपाउन सक्छन्, जसबाट उनीहरूमाथि ठूलो अन्याय हुन सक्छ। कहाँसम्म भने कहिलेकहीं रोजगार प्राप्तिका निम्ति यौन सम्बन्ध कायम गर्ने नियुक्तिकर्ताबाट माग हुन सक्छ। भनिन्छ– भ्रष्टाचारको यो पनि एउटा पाटो हो। महिलासँग पैसा नहुँदा सट्टामा यस्ता दुव्र्यवहार हुन सक्छ।

यूएनडीपीको अध्ययनअनुसार महिलाहरू शिक्षित भए पनि भ्रष्टाचारको कारण सार्वजनिक क्षेत्रका ठूलो पदमा वा राजनीतिक पदमा प्रवेश पाउँदैनन्। किनकि उनीहरूसँग ठूलो रकम लेनदेन गर्नु हुँदैन। भ्रष्टाचारबाट आय बनाउन नसक्दा र निर्धक्क भ्रष्टाचार गरी नियुक्तिकर्तालाई रकमको आदानप्रदान गर्ने हिम्मत पनि नहुँदा तेस्रो मुलुकका महिला पछाडि परेका छन्। महिलामा ठूलो रकम आर्जन गर्ने र कमाउने आँट नहुँदा पनि भ्रष्ट नियुक्तिकर्ताले महिलालाई ठूलाठूला पदमा नियुक्ति गर्दैनन्। यूएनडीपीको अध्ययनको सारांशअनुसार महिलाले मुलुकभित्र हुने भ्रष्टाचारविरुद्ध लडाइँ गरेमा सबै क्षेत्रमा पुरुषसरह अवसर पाउनेछन्। यथार्थमा जहाँ भ्रष्टाचार कम हुन्छ त्यहाँ लैंगिक असमनता पनि न्यून हुन्छ। तसर्थ भ्रष्टाचार र लैंगिक असमानताबीच अन्तरसम्बन्ध छ। 

महिला र भ्रष्टाचार सम्बन्धमा अन्य अध्ययन

अन्तर्राष्ट्रिय क्षेत्रमा भ्रष्टाचार सम्बन्धमा भएका अध्ययनअनुसार महिलाले भ्रष्टाचार गर्दैनन्। त्यसको मूल कारण हो– उनीहरूमा उक्त अपराधमा पक्राउ परिने डर हुन्छ। त्यसले गर्दा पनि उनीहरू राम्रो व्यवहार गरी आपूmलाई इमानदार भई प्रस्तुत हुन चाहन्छन्। त्यस्तै आफूले काम गर्दा सही कुराको निर्णय लिन चाहन्छन्। अध्ययनअनुसार जुन कम्पनीका मालिक महिला हुन्छन् त्यस्ता कम्पनीबाट घुसको आदानप्रदान कम भएको देखिन्छ। त्यस्ता कम्पनीभित्र घुसको कारणबाट वाधा र विवादको समस्या पनि देखिँदैन। किनकि महिला भ्रष्टाचारको जोखिमको मोल लिन चाहँदैनन्।

भ्रष्टाचारको समस्या समाधान गर्ने एउटा बलियो पक्षधर महिला हो। जुन मुलुकमा अत्यधिक संख्यामा राजनीतिक र आर्थिक क्षेत्रमा महिलाको नेतृत्व छ, त्यहाँ भ्रष्टाचारका अपराध कम रहेको अध्ययनहरूले देखाएका छन्। 

कारण महिलाले घरभित्रका सन्तान, आमाबाबु र वृद्ध सासूससुराको पनि हेरचाह गरेका हुन्छन्। यति भ्रष्टाचार वा कुनै पनि अनियमितताको अपराधमा उनीहरू मुछिएर जेल गएमा त्यस्ता कुरा १२५ मुलुकमा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा चन्दन झा र सुदिप्ता सारंगीले विस्तृत रूपमा उल्लेख गरेको पाइन्छ। यी दुई अर्थशास्त्रीको अध्ययनको सारांश महिलाहरू भ्रष्टाचारी छैनन् भए पनि पुरुषको तुलनामा न्यून संख्यामा छन्। 

महिलाले सार्वजनिक जीवनमा सहभागी भएमा के भ्रष्टाचार कम हुन सक्छ ?       

अध्ययनबाट के प्रस्ट छ भने राजनीतिक तथा सार्वजनिक जीवनमा महिलाको प्रचुर उपस्थिति भएको मुलुकमा भ्रष्टाचार कम हुन्छ। तसर्थ कतिपय मुलुकमा नीतिनिर्माताले राष्ट्रको नीति निर्माण गर्दा भ्रष्टाचार न्यूनीकरणनिम्ति सार्वजनिक क्षेत्रका महिलाको उपस्थिति अनिवार्य हुनुपर्छ भनी जोड दिएका छन्। तथापि केही विद्वान्को तर्कअनुसार भ्रष्टाचार सम्बन्धमा मुलुकको संस्थागत संयन्त्र र संस्कृति पनि जिम्मेवार हुन्छ। लैंगिक असमानताबाट पनि भ्रष्टाचारको स्तरबारेमा अमूक मुलुकमा भ्रष्टाचार कति हदसम्म छ भन्ने विषयको मूल्यांकन गर्न सकिन्छ। जहाँ लैंगिक समानता कायम छ, त्यहाँ भ्रष्टाचार कम भएका उदाहरण अध्ययनहरूले देखाएका छन्। जहाँ व्यापक विभेद छ, त्यहाँ भ्रष्टाचार बढी छ।

महिला समानता र असमानताकै कारण पनि भ्रष्टाचार हुने र नहुने भन्ने हुँदोरहेछ। मुलुकभित्र भएका संस्कृतिले पनि भ्रष्टाचारसम्बन्धी विषयमा जनताका अवधारणा बनाएको हुन्छ। परापूर्वदेखि भ्रष्ट संस्कृति छ र भ्रष्टाचारलाई जीवनको एक पद्धति मानिआएको तथा भ्रष्टहरूको दमन चलिआएका मुलुकमा निर्वाध रूपमा भ्रष्टाचार हुने र त्यहाँको संस्कृति नै भ्रष्ट हुनु स्वाभाविक हो। अस्ट्रेलियाका महिला भ्रष्टाचार सम्बन्धमा शून्य सहनशीलता राख्छन् र पुरुषभन्दा न्यून भ्रष्टाचारी छन्। 

हाम्रो मुलुकको इतिहास हेर्दा भानुभक्तको कविताबाट पुष्टि हुन्छ– उहिले पनि केही न केही भ्रष्टाचार हुने गरेको रहेछ। अन्तर्राष्ट्रिय क्षेत्रमा भएका भ्रष्टाचारसम्बन्धी अध्ययनबाट के पुष्टि भएका छन् भने महिलाले सार्वजनिक पदमा रहेर ठूलाठूला निर्णय गर्नुपर्दा कम भ्रष्टाचार गरेको पाइन्छ। केही विद्वान्ले अध्यायनबाट के पुष्टि गर्न चाहेका छन् भने नवप्रवेशीमा भ्रष्टाचारबारे न्यून ज्ञान हुँदा उनीहरूले भ्रष्टाचार गर्दैनन्। त्यस्तै महिलालाई सार्वजनिक पदमा नियुक्ति गरिँदैन। जब नियुक्ति हुन्छ, उनीहरू त्यो पदमा नयाँ भइन्जेल भ्रष्टाचार गर्दैनन्। 

नेपालमा महिला र भ्रष्टाचार

नेपालमा पनि सार्वजनिक र राजनीतिक क्षेत्रमा महिलाको उपस्थिति न्यून छ। हुन त संविधानले ३३ प्रतिशत कायम गरे पनि संसद्मा समानुपातिकको माध्यमबाट उपस्थिति भए पनि प्रत्यक्ष निर्वाचनबाट चुनिएर आउने महिलाको सहभागिता कम छ। प्रशासनलगायत अन्य क्षेत्रमा नगन्य देखिन्छ। त्यस्तै निर्णायक पदमा पनि महिलाको उपस्थिति नगन्य देखिन्छ। पुरुषप्रधान मुलुक भएकाले हामीकहाँ पुरुषले महिला क्षमतालाई अवमूल्यन गरेको पाइन्छ। उनीहरूको एउटै भनाइ हुन्छ–महिलाहरू सक्षम छैनन्। जेजति महिला सार्वजनिक पदमा छन्, तिनका विरुद्ध भ्रष्टाचार मुद्दा न्यूनरूपमा चलेको देखिन्छ। अझ महिला प्रमुख प्रतिवादी भएको मुद्दा छैन भने पनि हुन्छ। धेरैजसो मुद्दामा भ्रष्टाचार मुद्दा चलेको पुरुषको पत्नी, छोरी, बुहारी, आमा, सासूहरूविरुद्धका मुद्दा प्रतिवादीका रूपमा चलेको पाइन्छ। अर्थात् मुख्य प्रतिवादीको सम्पत्ति धारण गर्ने महिलाका रूपमा मुद्दा चलेका छन्। 

नेपालमा भ्रष्टाचारसम्बन्धी ऐन २०५९ को दफा ४७ मा सम्पत्ति जफत हुने प्रावधान राखिएको छ, जुन यस प्रकार उल्लेख भएको पाइन्छ। कुनै व्यक्तिले यो ऐन वा प्रचलित कानुनबमोजिमा भ्रष्टाचार गरेको मानिने कुनै कार्य गरी आर्जन गरिने सम्पत्ति र सोबाट बढे÷बढाएको अन्य सम्पत्तिसमेत आफ्नो वा अरू कसैको नाममा राखेको प्रमाणित भएमा त्यस्तो सम्पत्ति जफत हुनेछ। तर त्यस्तो सम्पत्तिका हकमा कसैलाई हस्तान्तरण गरिसकिएको र त्यस्तो हस्तान्तरणमा थैली कायम भएको रहेछ भने सो रकम कपालीसरह हुन्छ। 

यसै आधारमा भ्रष्टाचारका मुद्दा चलेका पुरुषका पत्नी वा सम्पत्ति धारण गर्ने छोरी, बुहारी, सासू, आमा आदिलाई चलेको पाइन्छ। भ्रष्टाचार गरी सम्पत्ति त्यसरी कसैका नाममा राखेको भएमा सम्पत्ति जफत भएको देखिन्छ। तर सजाय भएको देखिँदैन। भ्रष्टाचार गर्ने पुरुषले कमाएको सम्पत्तिबाट परिवारको स्तर उन्नतिका निम्ति व्यापक खर्च भएकोबारे प्रश्न भने उठेको पाइन्छ। सन्तानको उच्च शिक्षा स्तरीय दैनिक जीवन, विवाह, भोजभतेर समारोह, भव्य महल, गाडी ऐसआराम आदि भ्रष्टाचारका आयस्रोतबाट महिलाले पनि एकाघरमा बसी चैन गरेका हुन्छन्। तामझामको जीवनमा महिला पनि सहभागी हुन्छन्।

कतिपय पुरुषलाई तिनका अर्धांगिनीले भ्रष्टाचारका निम्ति प्रेरित गर्दछन्। समाजमा सुनिन्छ पनि, अमूक हाकिमकी पत्नी पतिको तर्फबाट असुली गर्दै हिँड्छिन् भन्ने चर्चा चल्छ। यो वर्ग हाम्रो समाजमा पाँच/दस प्रतिशत होलान्, जसले भ्रष्टाचारबाट अकूत कमाई आफू र आफ्नो परिवारको हैसियत बढाएको पाइन्छ। अहिले त भ्रष्टाचार वा दह्रो कारबाही नहुँदा खुला छन्।

राजनीतिक क्षेत्रमा माथिल्लो तहबाट संरक्षण हुने हुँदा कारबाही हुने चिन्ता पनि छैन। यस किसिमको वर्गमा भ्रष्टाचारबाट लाभ प्राप्त गरे पनि मुलुकका ९० प्रतिशत महिलाको गरिबी भ्रष्टाचार, शोषण र अन्यायबाट कायम भएका हुन्। ती माथि भनिएका आधारमा प्रताडित छन्। भ्रष्टाचारको कारण रोजगार, आयको अभावमा हातमुख जोर्नसम्म तिनलाई कठिन छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.