सोलु करिडोरमा विप्लवको चन्दा आतंक
ओखलढुंगा : केन्द्रीय विद्युत प्रशारण आयोजना सोलु करिडोरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता चन्दा माग्न थालेपछि आयोजनाको काम सुचारु गर्न कठिन भएको छ। वन क्षेत्रको उपयोग र मुआब्जाको विषयमा टुंगो नलागेपछि आयोजनाको काम प्रभावित भइरहेको अवस्थामा विप्लवका कार्यकर्ता चन्दा आतंक मच्चाएको आयोजनाले जनाएको छ।
आयोजनाको निर्माण स्थलमा पुगेर चन्दा माग्न थालेको आयोजना प्रमुख जनार्दन प्रसाद गौतमले बताए। गौतमले सोलुखुम्बुको भूगोलमा काम भइरहेको क्षेत्रमा विप्लवका कार्यकर्ताले चन्दा माग्न थालेको जानकारी दिए।
सिरहाको मिर्चैयादेखि सोलुखुम्बुसम्म निर्माण भइरहेको १३२ केभी विद्युत प्रशारण आयोजना ओखलढुंगा हुँदै सोलुखुम्बु पुग्नेछ । पहिलो चरणमा मुआब्जाको काम सकिए पनि वन क्षेत्र प्रयोग गर्ने विषयमा टुंगो नलाग्दा काम प्रभावित भएको थियो।
वन क्षेत्रको प्रयोगसम्बन्धी विषय मन्त्री परिषद्मा पुगेर अड्किएको छ। ओखलढुंगा र सोलुखुम्बुमा गरी १५वटा सामुदायिक वनको क्षेत्र आयोजनाले प्रयोगमा ल्याउनेछ।
राष्ट्रिय प्रथामिकता प्राप्त उक्त आयोजनामा विप्लवका कारण थप प्रभावित हुने अवस्था आएको आयोजना प्रमुख गौतमले टेलिफोनमा बताए। उनले केही दिनदेखि चन्दा माग गर्ने काम भइरहेको गुनासो गरे।
कार्यस्थलमै चन्दा माग गर्न थालेपछि आयोजनाका काम अबरुद्ध हुने भन्दै सरोकारवालाको ध्यान दिनुपर्ने पनि गौतमको भनाइ छ। सरकारले सन् २०१९ भित्र उक्त आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको थियो।
लक्ष्यअनुसार प्रशारण लाइन निर्माण सम्पन्न नभएमा सोलुखुम्बुको सोलु खोलामा निर्माण भइरहेका ६ वटा २१७.५ मेगावाट क्षमताका जलविद्युत आयोजनालाई नेपाल विद्युत प्राधिकरणले ४५ प्रतिशतसम्म हर्जना तिर्ने प्रतिबद्धतासहितको विद्युत खरिद् सम्झौता गरेको थियो।