देशको परिकल्पित रेखाचित्र

देशको परिकल्पित रेखाचित्र

आमनेपालीले अखबारहरूका मुख्य पृष्ठको ब्यानर न्युजमा नकारात्मक शीर्षक पढ्नु परेको धेरै भइसक्यो। कहिलेकाही“ सकारात्मक समाचार आयो भने सम्पादन त्रुटि जस्तो लाग्छ। आमनागरिकको जीवनमा पहिलो प्रहरको सुरुआत नै नकारात्मक समाचारको शीर्षक पढेर भएको लामो समय भएपछि अचेल लाग्छ— देश नै डिप्रेसनको सिकार छ, हाम्रो मनमस्तिष्क निराशावादी बन्दै गएको छ। यस तथ्यलाई पछिल्लो दशकको नेपाली साहित्यले पनि पुष्टि गरेको छ।

आख्यान हुन् वा कविता, समयले बोकिल्याएका घाउका दस्तावेज जस्ता बनेका छन्। र यस स्थितिको परिवर्तनको कामना गरिरहेका छन्। स्वाभाविक पनि हो, लामो अन्योल र हिंसाग्रस्त उथलपुथलको अघिल्तिर साहित्य स्वैरकाल्पनिक शैलीमा आदर्शवादी बन्न सक्दैन। तर पनि, समयले एउटा निकास खोजिरहेको सत्य हो। केही उज्यालो सबैले खोजिरहेको सत्य हो। चोकहरूमा देशको स्थितिको कुरा चल्दा सबै केही चमत्कार खोजिरहेजस्ता देखिन्छन्। सबै एउटा तिलस्मी मानिसको प्रवेश खोजिरहे जस्ता सुनिन्छन्।

लगभग लगभग कालो आख्यानको युग बन्नै लागेको यस घडीमा लेखक डीआरले एउटा जोखिम मोलेका छन्, आख्यानमा। गीतकारका रूपमा ख्याति कमाएका डीआरले आफ्नो पहिलो उपन्यासलाई ‘तिलस्मी’ नाम दिएर समयको अघिल्तिर एउटा ठूलो प्रश्नको किल्ला खडा गरिदिएका छन्। शिखा प्रकाशनले बजारमा ल्याएको यस आख्यानले यथार्थवादी युगको मर्ममा प्रश्नहरूको शूल खडा गरेको छ। हुन र अमेरिकी लेखक जोन वार्थले दशकौं अघि भनेका थिए, ‘यथार्थ त्यस्तो ठाउँमा हो, जहाँ सबै घुम्न जान चाहन्छन्। तर कोही बस्न चाहँदैन।’ नेपाली यथार्थवादको ऐना सायद हाम्रो अनुहार ठीकसँगै देखाउन नसक्ने गरी मैलिसकेको छ। हामी कल्पनाकै सही, एउटा मुक्ति पर्खिरहेका छौं।

नाम ‘तिलस्मी’ भए पनि यो उपन्यासमा राजा आर्थरका कथाका जस्ता अथवा एकदेव ढकालका ‘उधुम’ र ‘आतंक’ जस्ता रचनामा पाइने मायावी, जादुयी वा अलौकिक पात्र वा घटना पाइँदैनन्। सबै पात्र जमिनमा उभिएका छन्, र आजको नेपाली समयलाई सम्बोधन गरिरहेका छन्। घटनाहरू पृथक् लागे पनि सबै सम्भाव्यता र आवश्यकताकै सूत्रमा टेकेर लेखिएका छन्। तर पुस्तकले उठाएको एक मात्र जोखिन भन्नु यसको नायकको अतिशत सकारात्मक सोच र कार्य हो, जसलाई आजको विकृत यथार्थको दूरबिनबाट हेर्दा असम्भव अथवा तिलस्मी देखिन्छ। कारण, आजको आम कल्पना त्यो हदमा सकारात्मक हुन सकेकै छैन।

कथामा सम्भ्रान्त परिवारमा जन्मेको बालक विराज पर्खालभित्रको एउटा रहस्यमयी दरबारमा हुर्कन्छ। ठूलो पर्खालको घेराभित्र बाहिरको समाज र यथार्थसँग बेखबर संसारमा जन्मिएको उसलाई बाहिर गएर खेल्न, साथी बनाउन, दुनियाँ हेर्न वर्जित गरिएको छ। कपिलवस्तु दरबारभित्रको सिद्धार्थजस्तो ऊ, त्यसैले, जीवनको दुःखद पक्षसँग विमुख छ। तर प्रवेशद्वारमा रहेको एउटा प्वालबाट एक दिन बाहिर हेरेर उसले देखेको उसकै उमेरका अन्य बालकहरूको स्वतन्त्रताले ऊभित्र विद्रोहको आगो सल्काइदिन्छ।

सबै पात्र जमिनमा उभिएका छन्, र आजको नेपाली समयलाई सम्बोधन गरिरहेका छन्। घटनाहरू पृथक् लागे पनि सबै सम्भाव्यता र आवश्यकताकै सूत्रमा टेकेर लेखिएका छन्।

बाहिर, उसकै घरको भित्तोको आडमा पसल थापेर बस्ने एउटा गरिब राई दम्पतीको छोरो धनराजले पुरानो टायरलाई गाडी बनाएर खेलेको, र उसकै उमेरका अन्य साथीहरूले त्यस खुसीमा सहभागिता जनाएको देखेपछि त्यस स्वतन्त्रताको भोक विराजको कलिलो मनमा दावानल बनेर भड्किन्छ। त्यसपछि विराज निरन्तर बाआमासँग वैचारिक द्वन्द्वमा उत्रन्छ, जुन उपन्यासको अन्त्यतिर मात्रै समाधानको बिन्दुमा पुग्छ।

विराजको परिवारमा तीन अहम् मान्यता छन्, जसको विपक्षमा उसले मतदान गरेको छ। पहिलो, धनी परिवारका सदस्यले गरिबसँग संगत गर्नु हुँदैन। दोस्रो, तथाकथित उँचो जातकाहरूको बिहे अन्य जातकासँग हुनु हुँदैन। र तेस्रो, मान्छेको सफलताको मापन ऊ विदेश गयो गएन, र त्यहाँ धेरै पैसा कमाउने काममा लाग्यो कि लागेन भन्ने कुराले गर्दछ। वास्तवमा आजको नेपाली समाजको चिन्तनपद्धतिमा काई बनेर बसेका मान्यताहरू हुन् यी, जसले हरेक ठूलासाना परिवर्तनलाई सारमा विफल तुल्याइरहेका छन्। यिनै कुराले नेपाली समाजको अग्रगमनमा तगारो हालिरहेका छन्, र देशलाई अधोगत बनाइरहेका छन्। यस उपन्यासले यी तीन अहम प्रश्नमाथि प्रहार गरेको छ, यसबाट तिलस्मिक निकाशका लागि उठाइनुपर्ने केही कदमहरूप्रति संकेत गरेको छ।

विराजको सकारात्मक हठले उसको परिवारका सबै संकुचनलाई उपन्यासमा भत्काएको छ। प्रश्न यो सम्भव छ वा छैन भन्ने होइन। प्रश्न, हामीसँग, हाम्रो व्यवस्था, सरकार र राजनीतिसँग विराजको जस्तो सकारात्मक हठ छ वा छैन भन्ने हो। विराज आफ्नो सकारात्मक अर्घेल्याइँले पर्खालबाट बाहिर निस्केको छ, गरिब परिवारको धनराजसँग मित्रता गाँसेको छ र यस मित्रताबाट देशको गरिब अनुहार पढेको छ। यहीँबाट देशको विकासका लागि गरिनुपर्ने कामको सूची पढेको छ, बालक्लब गठन गरेको छ र सकारात्मक काम सुरु गरेको छ। सकारात्मक कार्यको आलोकमा उर्वशीजस्ता साथीलाई पनि जोडेको छ, र परिवर्तनको सूत्रधार बनाएको छ।

ऊ पढ्न अमेरिका जान्छ पनि, तर आफन्तका हजार प्रलोभनलाई लत्याएर घर फर्कन्छ। आफ्नै विवेकको बलमा संघसंस्था गठन गरी गाउँघरमा विकासको आलोक फैलाएको छ, साथीभाइलाई रोजगार बनाएको छ, विदेश पलायनको क्रम रोकेको छ, गुण्डागर्दी समाप्त पारेको छ। र आफैं राईकी छोरी गाउँकी केटी जुनिकासँग अन्तर्जातीय विवह गरेर जात, क्षेत्र र वर्गको पर्खाल तोडेको छ। उपन्यासको अन्त्यमा उसको परिवारलाई उसका सम्पूर्ण कदमहरू स्वीकार गर्न अभिप्रेरित गरेको छ, र सफल पनि भएको छ। रूढताको प्रतीक बनेर बसेकी उसकी आमा चन्द्रवतीलाई परिवर्तनको समर्थक बनाएर छोडेको छ।

उपन्यासको एउटा विशिष्ट पाटो के पनि छ भने बालमनोविज्ञानका सूक्ष्म पक्षहरूको मिहिन उद्घाटन गर्दै लेखकले किशोरावस्थाका मानसिक, शारीरिक र यौनिक सम्भाव्यतालाई पनि यथार्थको नजिक पुगेर चित्रण गरेका छन्।

झट्ट हेर्दा उपन्यासकारको यो हर्कत एउटा आदर्शवादी स्वैरकल्पना लाग्न सक्छ। तर, आवश्यकता र सम्भाव्यताको सूत्रबाट हेर्दा के यति कुरा असम्भव हो त ? बिल्कुलै होइन। हामी सबै तयार भयौं भने जात र वर्गको पर्खाल भत्कन सक्दैन ? हामीले जति क्रान्ति र भाषणबाजी गरे पनि हामीले आफैं भन्ने गरेको सामाजिक परिवर्तनका लागि हामी आफैं तयार नभएको सत्य हो। दुनियाँको अगाडि प्रतिपादित राजनीतिक र सामाजिक सिद्धान्तले जात, वर्ग, क्षेत्र वा लिंगमा विद्यमान असमानता हटाउनुपर्ने कुराको जति वकालत गरे पनि, तिनले परोक्ष रूपमा हामीलाई त्यति नै यी असमानताको उपस्थितिप्रति सचेत गराएका पनि छन् र कसोकसो हामीलाई यिनै असमानताकै वरिपरि आफ्नो पहिचान निर्माण गर्न अभिप्रेरित पनि गरेका छन्।

त्यस्तो एउटा तिलस्मिक निकाशको आविष्कार बाँकी छ, जसले मान्छेलाई यी कृत्रिम मान्यताको सोचाइभन्दा माथि उठाओस्, र उसलाई सिर्जना र उन्नतिको अर्को उचाइतिर प्रक्षेपित गरोस् जहाँ असमानता भन्ने सोच नै अमानक बनेर टुक्रन्छ। वास्तवमा, सिद्धान्तहरूको सीमा नै के भयो भने यो सम्भव छ भन्ने कुरा नै तिनले मानेनन्, र सबै उन्नत सपनालाई आदर्शवाद भनेर बढारिरहे। यो अहम् प्रश्न उपन्यास ‘तिलस्मी’ले जन्माएको छ।

उपन्यासको अघिल्तिर केही अहम् प्रश्न भने छन्। नेपाली इतिहासको जुन घडीलाई यसले सन्दर्भ बनाएको छ, त्यसको सामाजिक र राजनीतिक द्वन्द्वको गम्भीरता उपन्यासमा यथार्थको हदसम्म पुगेर खोतलिएको भने छैन। नेपाली समाजको रूपान्तरण यस उपन्यासको मूल मुद्दा हो, र देशले विराज जस्तो एउटा अभिनेता खोजेको पनि साँचो हो। तर समाजिक समीकरणको जटिलता उपन्यासले अंगीकार गरेको भन्दा धेरै गुणा गम्भीर पनि छ।

जात र वर्गसँगै क्षेत्रका, बहुल लैंगिकताका, उपवर्गका, सभ्यताका, धर्मका र अन्य अनगिन्ती विविधताका प्रश्न यहाँ विद्यमान छन्। र सबैको सम्यक् निकास त्यति सजिलैचाहिँ सम्भव छैन, जसरी विराजलाई एक रूपक अलंकार बनाएर उपन्यासकारले उभ्याएका छन्। परम्परित कथोपकथनकै शैलीमा आएको उपन्यासले शैलीगत प्रयोग पनि खोज्ने पाठकहरूलाई भने उत्साहित नगर्न पनि सक्छ। र सबै कुरालाई यथार्थकै ऐनाले हेर्न बानी परेका पाठकलाई यो निकै आदर्शवादी पनि लाग्न सक्छ। तर नामै ‘तिलस्मी’ राखिदिएर उपन्यासकारले यस्ता तमाम प्रश्नको एकमुष्ठ जवाफ दिएको पनि सत्य हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.