के गर्दैछन् विश्वकै कान्छा निर्देशक?

के गर्दैछन् विश्वकै कान्छा निर्देशक?

भाइबहिनी हो, तिमीहरूले ‘गिनिज वल्र्ड रेकर्डस्’का बारेमा कतै सुनेको वा पढेको पक्कै हुनुपर्छ । प्रत्येक वर्ष प्रकाशित हुने एउटा सन्दर्भ पुस्तक हो ‘गिनिज वल्र्ड रेकर्डस्’ । यसमा विश्व कीर्तिमानीको नाम संकलन हुने गर्छ । सन् २००० सम्म यसको नाम ‘गिनिज बुक अफ रेकर्डस्’ थियो । यो पुस्तक सर्वाधिक बिक्री भएको कपीराइट पुस्तकका रूपमा स्वयं एक कीर्तिमानधारी पुस्तक पनि हो ।

संसारसामु आफ्नो नाम चिनाउने एउटा उपयुक्त माध्यम हो, ‘गिनिज वल्र्ड रेकर्डस्’ । यसमा नाम लेखाउन अरूभन्दा भिन्न हुनु अनिवार्य सर्त हो । फरक काम गरेर ‘गिनिज वल्र्ड रेकर्डस्’मा नाम लेखाउन सफल व्यक्ति हुन्, सौगात विष्ट ।

सानै उमेरमा फिल्म निर्देशन गरेका नेपालका सौगात विष्ट विश्वकै कान्छा निर्देशक बने । सात वर्ष तीन सय ४० दिनको उमेरमा उनले व्यावसायिक रूपमा फिचर फिल्म ‘लभ यु बाबा’ निर्देशन गरे । यसलाई ध्यानमा राख्दै ‘गिनिज वल्र्ड रेकर्डस्’ले उनलाई विश्वकै कान्छा फिल्म निर्देशकको मान्यता दियो । साथै, ‘योंगेस्ट फिल्म डाइरेक्टर’को उपाधि पनि दियो ।

६ जनवरी २००७ मा जन्मेका सौगातले निर्देशन गरेको फिल्म १२ डिसेम्बर २०१४ मा ८० वटा हलमा एकैसाथ रिलिज भएको थियो । ‘गिनिज वल्र्ड रेकर्डस्’मा भारतीय कान्छा निर्देशक किसन       श्रीकान्तले सन् २००६ मा ‘फुटपाथ’ फिल्म निर्देशन गरेर बनाएको विश्व कीर्तिमान सौगातले भंग गरेका हुन् ।

सौगातले निर्देशन गरेको फिल्ममा उनका बाबा गजित विष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा लगायतले अभिनय गरेका थिए । फिल्मको कथा, पटकथा उनकै बाबा गजितले लेखेका थिए ।

यति मात्रले सौगातको अभियान रोकिएन । उनले व्यावसायिक रूपमा दोस्रो फिचर फिल्म ‘हैरान’समेत निर्देशन गरिसकेका छन् । यो फिल्म गत जेठ ४ मा रिलिज भएको थियो । यो फिल्ममा सामाजिक विषयवस्तु समेटिएको छ । सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ फिल्ममा ।

सबैसँग धेरै मिल्ने स्वभाव सौगातको छ । साथीहरूसँग निकै घुलमिल हुन्छन् उनी । सबैसँग मिलेर खाजा खान्छन् । गिनिजमा रेकर्ड राखेपछि साथीहरूले उनलाई फरक रूपले हेर्ने गरेको उनको अनुभव छ ।

सौगात हाल शान्तिनगरस्थित बेबिलोन नेसनल स्कुलमा ६ कक्षामा अध्ययन गर्दै छन् । काठमाडौंको घट्टेकुलोमा बस्दै आएका उनी आफ्नो बाबा गजित विष्टले मैतीदेवीमा सञ्चालन गर्दै आएको डान्स स्कुलमा नृत्यसमेत सिक्दै छन् ।

सौगातका बाबा गजित फिल्म क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् । त्यसैले उनलाई फिल्मी क्षेत्रको बाटो सहज भएको हो । भिडियो विज्ञापनबाट उनी अभिनयमा प्रवेश गरे । त्यसपछि उनले ‘कखरा’ नामको डकुमेन्ट्रीमा अभिनय गर्ने अवसर पाए । यसको प्रदर्शनपछि उनलाई धेरै अफर आउन थाल्यो ।

‘जन्मभूमि’ फिल्मबाट फिल्मबारे धेरै अनुभव सँगालेका उनी भन्छन्, ‘मेरो दिमागमा फिल्म गर्ने आइडिया आयो । मेरो आइडिया बाबालाई सेयर गरेँ । उहाँले ओके भन्नुभयो ।’ फिल्मका बारेमा जानकारी लिन युट्युब पनि माध्यम बनेको उनको भनाइ छ । सौगात भन्छन्, ‘बाबा र परिवारकै अन्य सदस्यका कारण म आज यो ठाउँमा छु । देशको नाम चिनाउन सफल भएको छु । यसमा मलाई गर्व लाग्छ ।’

सुरुमा सौगातलाई फिल्मको दृश्य आफू अनुकूलकै चाहिन्थ्यो । एडिटिङ गरेर मिलाउन मिल्छ भन्ने उनलाई थाहा थिएन । डबिङ, एडिटिङ गर्दा यसबारे जानकार हुँदै गए । पहिलोभन्दा दोस्रो फिल्मा धेरै सुधार गरेको उनी बताउँछन् ।

एक पार्टीमा जाँदै गर्दा ‘गिनिज वल्र्ड रेकर्डस्’बाट एप्रुभ भएको म्यासेज सौगातको बाबाको मोबाइलमा आएको रहेछ । त्यसपछि उनको परिवारमा खुसियाली छायो । सौगात भन्छन्, ‘मैले गरेको कामको सफलता सानैमा पाएँ ।’

अर्को प्रसंगमा उनको भनाइ छ, ‘आफ्ना सन्तानमा भएको क्षमता बाबा आमालाई मात्र थाहा हुन्छ । मेरो क्षमताका बारेमा दुवैले समयमै थाहा पाउनुभयो । अनि फिल्म बनाउन सपोर्ट गर्नुभयो ।’

सौगातले फिल्म र सम्मानको सिलसिलामा देशविदेशका धेरै ठाउँ पुग्ने अवसर पाएका छन् । उनी जापान, कतार, चीन, भारत, सिंगापुर, यूएई पुगिसकेका छन् । त्यस्तै नेपालका धेरै सहर पुगेका उनलाई पोखरा सबैभन्दा राम्रो लाग्छ ।

‘हरेक बालबालिकाले धेरै पढ्नुपर्छ भनेर बाबुआमाले सोचेका हुन्छन्’, सौगातका बाबा गजित भन्छन्, ‘पढाइका साथसाथै खेल्न पनि दिनुपर्छ । खेलले पनि उनीहरूको क्रिएसन बढ्छ ।’

गजितका अनुसार सौगात सानोमा निकै राम्रो नाच्थे । उनी आफैं कोरियोग्राफर भएको हुँदा आफ्नो बिँडो थाम्ने भयो भन्ने लाग्थ्यो । कलाकार बन्छ कि जस्तो लाग्न थाल्यो । गजित भन्छन्, ‘पछि अचानक निर्देशनमा चासो देखायो । हामीलाई पनि अनौठो लाग्यो ।’

सबैसँग धेरै मिल्ने स्वभाव सौगातको छ । साथीहरूसँग निकै घुलमिल हुन्छन् उनी । सबैसँग मिलेर खाजा खान्छन् । गिनिजमा रेकर्ड राखेपछि साथीहरूले उनलाई फरक रूपले हेर्ने गरेको उनको अनुभव छ ।

उनले शिक्षकहरूबाट पनि धेरै सपोर्ट पाएका छन् । ‘मैले सम्मान पाउँदा उहाँहरू पनि खुसी हुनुहुन्छ । कामको सिलसिलामा बाहिर जाँदा पनि स्कुलको राम्रो सपोर्ट पाएको छु’, उनी भन्छन् ।

सौगात अब आफू पढाइमा फोकस हुने बताउँछन् । उनी भन्छन्, ‘एसईईसम्मको पढाइ भनेको जग हो । यसलाई बेलैमा बलियो बनाउनु पर्छ । त्यसैले पढाइमै फोकस हुन्छ मेरो ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.