लागुऔषधसहित तीनजना पक्राउ
गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रबाट पछिल्लो दुई दिनमा लागुऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आइतबार दिउँसो त्रिनपा ६ गडमे जंगलबाट प्रतिबन्धित लागुऔषधसहित सिराहाको लाहान नगरपालिका-५ का १९ वर्षीय मुस्ताक मिँया र शनिबार त्रिनपा ५ दमौटिका २१ वर्षीय सरोज घिमिरे र २९ वर्षीय देवराज तामाङलाई पक्राउ गरेको हो।
प्रहरी चौकी लालपत्ताबाट गस्तिमा खटिएको प्रहरी टोलीले मियाँलाई जंगलको बाटोमा हिँड्दै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा डाइजोलोपाम ३७ एम्पुल, लुपिजेसिक ३७ एम्पुल र फेनारागन ३७ एम्पुल बरामद गरेको हो।
त्यसैगरी विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेर नेतृत्वको खटिएको टोलीले डाईजेपाम २० एम्पुल, लुफिन २० एम्पुल फनारगन २० एम्पुल र सिरिन्ज १ थान बरामद गरेको हो। प्रहरीले उनीहरुले प्रयोग गरेको स.२.प.६९३९ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक डीएसपी मधुकुमार थापाले जानकारी दिए।