पर्यटकीय क्षेत्र चिनाउन भिडियो प्रतियोगिता
भैरहवा : ओझेलमा परेका पर्यटकीय क्षेत्रको विकासको लागि भिडियो प्रतियोगिता हुने भएको छ। ‘जब चिनिनेछ तपाईको गाउँ ठाउँ, तब खुल्नेछ तपाईको आफ्नो पहिचान’ नारासहित मुलुकभित्र ओझेलमा परेको तथा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धनको उद्देश्यले भिडियो प्रतियोगिता हुन लागेकाे हो।
आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा राखेर ‘वि विल राईज’ फाउण्डेशनले भिडियो प्रतियोगिता अवधारणा सार्वजनिक गरेको हो। नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने लक्ष्यसहित फाउण्डेशनले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी उक्त कार्यक्रमको घोषणा गरेको हो। आइतबार फाउण्डेशनले भैरहवामा पत्रकार सम्मेलनको गरेर कुनै पनि भिडियो निर्माताले प्रतियोगितामा सहभागिता जनाउन सक्ने बताएको छ।
मुलुकको धेरै स्थलहरु अझै पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेपनि सबैको नजरमा आउन नसकेको हुँदा त्यस्तो क्षेत्रको पर्यटन विकासमा प्रतियोगिताले सहयोग पुर्याउने विश्वास लिएको फाउण्डेसनमा प्रवन्ध निर्देशक निर्मल श्रेष्ठले जानकारी दिए। उनले निर्माताले कुनै पनि स्थानको प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदि विषयमा एउटा आधार बनाएर भिडियो तयार पार्न सक्ने बताए। भिडियो मोबाइलबाट समेत छायाँकन गर्न सकिने तर एचडी क्वालिटीमा हुनु पर्ने आयोजकको शर्त छ।
कुनै पनि विषयमा डकुमेन्ट्री बनाएर पठाउन सकिन्छ तर बनाइएको डकुमेन्ट्री एउटै विषयमा मात्र केन्द्रित हुनुपर्छ । अधिकतम ५ मिनेटको भिडियो चयन गर्न डकुमेन्ट्री निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डकुमेन्ट्री निर्माता मोहन मैनाली, डकुमेन्ट्री एवं चलचित्र निर्देशक सम्झना उप्रेती लगायतको समूह रहेको श्रेष्ठले जानकारी दिए।
उत्कृष्ट भिडियोहरुलाई फाउण्डेशनको युट्युब र फेसबुक पेजमा राखेर प्रचार प्रसार गरिने र सर्वाधिक लाइक, कमेन्ट र शेयर हुने भिडियोलाई पिपुल च्वाईस एवार्ड प्रदान गरिने छ। यसरी उत्कृष्ट छानिएका भिडियोलाई ३ लाख २५ हजार सम्मको पुरस्कार प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ।
जनवरी १ तारिखबाट सुरु भएको प्रतियोगिता ४ महिना चल्ने आयोजकले बताएका छन्। भिडियोले स्थानीय तहमा लुकेर रहेका पर्यटकीय क्षेत्रहरुको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भैरहवाका पर्यटन व्यवसायीको भनाइ छ।