पर्यटकको पर्खाइमा ‘सुन्तले’

पर्यटकको पर्खाइमा ‘सुन्तले’

भोजपुर : रामप्रसाद राई गाउँपालिका भुल्केका रवि राई भोजपुर सदरमुकाम बस्न थालेको नौ वर्ष भयो। सदरमुकाममा उनको एउटा फोटो स्टुडियो र इलेक्ट्रिक पसल छ।

कामको बोझ हल्का गर्न उनको परिवार र अन्य साथीहरू एक साताको अन्तरालमा अनिवार्य ‘सुन्तलेडाँडा’ पुग्छन्। त्यहाँको चिसो हावा, सौन्दर्य र मिठो आतिथ्य सत्कारले जो कोहीलाई पनि लोभ्याउने उनको भनाइ छ। सुन्तले डाँडाको सौन्दर्य र चिसो हावापानीले मानसिक बोझ पनि हल्का गर्ने उनी सुनाउँछन्।

रविजस्तै स्थानीय भोजपुर सदरमुकामवासी र आसपासका सर्वसाधारणको पहिलो रोजाइ हो ‘सुन्तले डाँडा’। सुन्तलेडाँडा सदरमुकामदेखि ११ किलोमिटर उत्तरमा पर्छ। भोजपुर नगरपालिकाको–२, ३ र ५ को सिमानामा रहेको यो डाँडाबाट मकालुलगायत हिमशृंखला देख्न पाइन्छ। हिमालको सुन्दर दृश्य अवलोकन गरेर भरपुर आनन्द लिन पर्यटक यहाँ आउने गरेको स्थानीय छिरिङ शेर्पा बताउँछन्। यसबाहेक अरुणनदी, धनुकुटा लेगुवाबजार, मैयुङ डाँडा, टेम्केडाँडा, भोजपुर सदरमुकाम, दक्षिणी भेगको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।

सरकारले एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा भोजपुरको टेम्केडाँडा (मुन्दुम ट्रेल) लाई सूचीकृत गरेको छ। तर टेम्केडाँडाजस्तै पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना र आन्तरिक तथा बाह्य पर्यटकको आगमन बोक्ने स्थलमध्येको सुन्तले डाँडालाई पछाडि राखिएकोमा स्थानीयको गुनासो छ। भोजपुर नगरपालिका बोखिमका प्रितिराज राई भन्छन्, ‘भोजपुरमा सुन्दर स्थलहरू धेरै छन्। तर, पहिचान र प्रवद्र्धन गर्न नसक्नाले सुन्तले डाँडालगायत दर्जनौं स्थल अझै ओझेलमा परिरहेका छन्।’

ग्रामीण क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लाबजार जोड्ने सडक सञ्जालको विस्तारसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ। चहलपहल बढेसँगै घुम्न आउने आगन्तुकका लागि खान, वस्नको सुविधासहित होटल र लज खोलिएका छन्। उत्तरी भेगका मानिसको प्रमुख पैदलमार्ग पनि भएकाले सुन्तलेडाँडा उत्तरी क्षेत्र र सदरमुकाम जोड्ने प्रमुख नाका हो। २०७३÷७४ मा नगरपालिकाले यहाँको कच्ची सडकलाई स्तरोन्नति गरेर तीन लेनको बाटो बनाएको छ। यही रुट हुँदै सदरमुकामदेखि दिङ्लासम्म ल्यान्डरोभर जिप, यात्रुबसलगायत सवारीसाधन दिनहुँ कुद्ने गर्छन्।

पर्यटनको प्रचुर सम्भावना हुँदा हुँदै पनि सरोकारवाला निकायले चासो नदिँदा सुन्तलेडाँडा प्रवद्र्धन हुन सकेको छैन। सुन्तले डाँडालाई सुन्दर र व्यवस्थित बनाउन योजना बनाएरै बजेट निकासा गर्नसके पर्यटनलाई व्यावसायिक बनाउन सहज हुने सुन्तले पर्यटन समितिका अध्यक्ष सूर्य गोले बताउँछन्। ‘सुन्तले डाँडाका लागि सम्बन्धित निकायबाट बजेट निकासा भएको छैन।’

उनले भने, ‘योजनासहितको बजेट निकासा गरेर घेराबारा, ठाउँठाउँमा पिकनिक स्पट, लज, सुलभ होमस्टे राख्नसके यसलाई व्यावसायिक बनाउन सकिन्थ्यो।’ चैतवैशाखको वसन्त, साउनभदौको हरियाली वनजंगल र चउर डाँडा, कात्तिक मंसिरको खुला शरद र माघमा पर्ने हिमपातका बेला दृश्यावलोकन गर्न आन्तरिक पर्यटकको निकै चहलपहल हुन्छ। पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नसके यो डाँडामा आन्तरिक अलावा बाह्य पर्यटकको आगमन हुने स्थानीय सुन्तले बजारमा ५ वर्षदेखि होटल व्यावसाय गर्दै आएका गणेश तामाङ बताउँछन्। उनले भने, ‘बर्सेनि विभिन्न शीर्षकमा छुट्टिने बजेटको केही हिस्सा पर्यटन प्रवद्र्धनका लागि छुट्याएर व्यवस्थित रूपमा काम गर्नसके यहाँको पर्यटन व्यवसाय फस्टाउन सक्थ्यो। यसमा कसैको ध्यान छैन, वडा परिषद्मा हामीले उठाएका कुरा कसैले सुन्दैन। यही छ विडम्बना।’

गतसाल मात्रै नयाँ वर्ष, पार्टी, भोजभतेर, पिकनिकका लागि आउने आन्तरिक पर्यटकका लागि भनेर आठ लाखको लगानीमा पिकनिक पार्क बनाइएको छ। आन्तरिक तथा बाह्य पर्यटन भिœयाउने उद्देश्यले २०७४ असारमा स्थानीय पान्थले सामुदायिक वनको करिब १४ रोपनी जग्गामा पार्क निर्माण गरिएको थियो।

तात्कालीन जिल्ला वनको वृक्ष सुधार, वृक्षरोपण तथा निजी वन कार्यक्रम (२०७३÷७४) अन्तर्गतको आठ लाख बजेटमा पार्कको बनाइएको थियो। पार्कभित्र बस्ने, सित्तल छल्ने पाटी–चौतारी, भोजभतेरका लागि आवश्यक चुलोचौका, खानेपानीको लागि हिल्टेक धारो, चर्पी, सुन्दर सफा खुला चउर, वरपर तारघेराबारा गरिएको छ। सुन्तले डाँडालाई ‘सुन्तले बजार’ भनेर परिचित यो ठाउँमा करिब २४ घरधुरी बसोबास गर्छन्। साथै अधिकांशले होटल तथा थोककिराना पसल खोलेर बसेका छन्। समुन्द्री सतहदेखि २६ सय मिटरको उचाइमा रहेको यो ठाउँ बाह्रैमहिना चिसो हुन्छ। गर्मी र विभिन्न घुम्ने बाहनामा पर्यटक यहाँ आउने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.