सामाजिक व्यवहारमा अपव्यय

सामाजिक व्यवहारमा अपव्यय

पर्व र संस्कार आफ्नो हैसियतअनुसार गर्नुपर्छ अरूको देखासिकी र नक्कल गर्ने होइन ।


नेपालीको परपूर्वदेखि चलिआएको परम्परा र संस्कृति मितव्ययी देखिन्छ। विवाह व्रतबन्ध भोज र वर्ष दिनमा मनाइने चाडपर्वमा धेरैजसो खर्च कृषिउपजबाटै बनेका खाद्यवस्तु र परिकारको माध्यमबाटै टर्ने गथ्र्यो। लुगाफाटा र विदेशबाट आयातीत वस्तुमा ज्यादै कम लगानी हुने गरेको थियो। विवाह आदि समारोहमा फजुल खर्च, लगाइने फेसनका लत्ताकपडा शृंगारका सामग्रीमा सत्तासीन राजधानीवासी शासक वर्गले मात्र व्यापक खर्च गर्थे। तिनका व्यवहार लेनदेन मुलुकबाहिरका राजारजौटासँग हुने गरेकाले सामाजिक व्यवहार खर्चिलो र भड्किलो हुने गरेको हो।

आजभोलि के धनी, के मध्य र निम्नमध्यम वर्ग, सबैको समान सामाजिक व्यवहारमा भएसम्मको खर्च गरी आफन्त र छरछिमेकीबीच हैसियत प्रदर्शन गर्ने प्रचलन देखिन्छ। यस्ता आम जनताबाट गरिने अपव्ययबाट मुलुकको हैसियत बढ्ने त होइन, बरु बहुराष्ट्रिय कम्पनीको आय वृद्धि हुन सक्छ। सानातिना कार्य पास्नी, न्वारान, जन्मदिन र व्रतबन्धको भोज पनि अब पार्टी प्यालेसमा भव्यताको साथ हुन थालेको देखिन्छ। यस्ता भोजमा सामेल हुँदा आयोजकको मात्र होइन, आमन्त्रितको पनि आवतजावत र उपहारमा खर्च हुने गर्छ।

सामाजिक व्यवहार सुधार ऐन २०३३

नेपालमा सामाजिक व्यवहार सुधार ऐन २०३३ पञ्चायतकालमै बनेको हो। यस ऐनमा भएको दफा ४ मा दुलही पक्षले लिन नहुने व्यवस्था दफा ५ मा दाइजो नियन्त्रण दफा ७ मा जन्तसम्बन्धी नियन्त्रण, पितृकार्यको भोज, छैटी, न्वारान, जन्म दिवस, पास्नी, चूडाकर्म, बूढो पास्नी भोज नियन्त्रण दफा ९ र १० मा व्यवस्था गरिएको छ। दफा ११ मा दाइजोको प्रदर्शनी गर्न नहुने र गरिएमा कानुनअनुसार दफा २० मा दण्ड सजायको व्यवस्था गरिएको छ। यो ऐन २०३३ सालमा बनेको बेला सम्धिसन्धिनी भेटमा मात्र एक रुपैयाँको भेट गर्ने भनिएकोमा त्यो ऐनको प्रावधान सदैव वासी भएरै रह्यो। त्यस्तै जन्ती ५१ जना लैजाने आजसम्म कहिल्यै पालना भएको देखिँदैन। ऐन बनेर पनि पालना नभएको ऐनमध्येमा यो पनि एक हो। कानुन निर्माण जसजसले गर्‍यो, जसले पारित गर्‍यो सायद यो ऐनको पालना तिनले पनि सायद नै गरे होलान्।

विवाह र सामाजिक व्यवहारमा सीमाभन्दा बाहिर खर्च भएको देखिन्छ। पहिले सामाजिक व्यवहारमा अहिले सीमाभन्दा बाहिर खर्च भएको देखिन्छ। पहिले सामाजिक व्यवहार र कार्यक्रममा छरछिमेकी मिलेर सघाएको भरमा भोजभतेर परम्परागत हिसाबमा तयार हुने गरेका थिए। पछि विस्तारै होटेलका कुक बोलाई, भव्य पताका टाँगी गानाबजाना गरी बिहेमा भरसक रेडियो टेलिभिजन मोटरसाइकलमा दाइजो दिई प्रदर्शन गर्न थाले। अब त पैसा हुने र खर्च गर्न सक्नेलाई केही फरक पर्दैन। पैसा भए पार्टी प्यालेसले नै, वरनीको, स्वयम्बरको, दाइजोको सामान भव्यताका साथ तयारी गरी दिन्छ।

आयोजक परिवारले ब्युटी पार्लर गई शृंगार गरी भोजमा आमन्त्रितलाई हात जोरी स्वागत गरे पुग्छ। आजभोलि बिहेमा सहरमा भए जति पार्टी प्यालेसलाई भोज आयोजना गर्नलाई भ्याइनभ्याइ छ। ठूला होटेलमा पनि महिना दिनसम्म खाली पाउन कठिन छ। काठमाडौंको त कुरा छाडौं टोलटोलमा पार्टी प्यालेस पनि आबद्ध छन्।

भारी रकम बिदेसिने

अर्थशास्त्रको सिद्धान्तअनुसार मुद्रा चलायमान हुनु राम्रो हो। बजारमा मुद्रा परिचालित भएमा मानिसले काम पाउँछन्, रोजगार बढ्छ। तर नेपालमा सामाजिक व्यवहारमा गरिने खर्चले नेपालको रोजगार बढाउँदैन वस्तुतः यसले विदेशका बेरोजगारलाई रोजगार प्रदान गर्छ। नेपालमा जगजाहेर छ कि नुनदेखि सुनसम्म विदेशबाट आयातीत हुन्छ। अब त फूलका माला, लत्ताकपडा, शृंगारका सामग्री, भोजका मिठाई, फलफूल, मसला र परिकार तयार गर्ने खाद्य सामग्री विदेशबाट आउने गर्छन्। किनकि मुलुकभित्रका उत्पादित वस्तु र साधनको प्रयोगबाट भोजको गरिमा बढाउँदैन।

अब हामीलाई हाम्रो मौलिक संस्कारसँग कुनै लगाव छैन। विदेशका तयारी वस्तु भएमा त्यो कृत्रिम हुन्छ तर हामीलाई त्यही सुन्दर लाग्छ। हामी भारतीय टेलिसिरियलका आदि छौं, त्यहाँ देखाइएका संस्कार र कृत्रिम व्यवहारको प्रदर्शनी हामीलाई रुचिकर लाग्छ। ती टेलिसिरियल विज्ञापनको सहयोगविना बन्दैन। बहुराष्ट्रिय कम्पनीको निम्ति तिनले विज्ञापन र तिनका उत्पादनको प्रचारप्रसार त्यही सिरियलमार्फत गरी आम जनताको ध्यानाकर्षण गराउँछन्। हाम्रो नेपाली महिला जगत् त्यही कृत्रिम र त्यसले उत्पन्न गरेको भ्रमसँगै दिवास्वप्न देख्ने गरेको छ। अनि वास्तविक जीवनमा पनि त्यही कुराको चाहना राख्छौं। भारतीय सिने जगत्मा कुर्तासुरुवाल देखिए त्यही, लेहंगाको फेसन चले त्यही अनि पूरा शरीर देखाई पारदर्शी रूपमा शरीरको प्रत्येक अंग प्रदर्शन हुने लुगाको प्रचलन भए त्यही सही। हाम्रो बिहेवारी भोजनमा त्यस्तै देखिन्छन्।

अनुकरण गर्ने प्रवृत्तिले सानोसानो आय हुने परिवारको पनि जोतिरहेको जीवनदायिनी खेती र बसेको घरवास बिक्री गर्ने र अनावश्यक कुरामा खर्च गरी सुकुम्वासीमा दर्ता हुनु उपयुक्त होइन।

भारतीय सिरियलले नेपाल र छरछिमेकीलाई मात्र बिगारेको छैन स्वयं विहार, बंगाल, पञ्जाब र कश्मिरीमाथि पनि नकारात्मक प्रभाव पारेको छ। किनकि भारतमा शतप्रतिशत धनी छैनन्, त्यो सिनेजगत्को संस्कारलाई आम गरिबीका रेखामुनि हुनेले भारतमा पनि धान्न सक्दैन। दुःखको कुरा हाम्रो बिहेवारी संस्कार त्यस्ता टेलिफिल्मका प्रदर्शनबाट विस्तारै विस्थापित हुँदैछन्।

हाम्रा नवयुवक र नवयुवतीले भ्यालेनटाइन डे र क्रिसमसलाई आधिकारिक पर्व मान्न थालेका छन्। हुन त स्वयं नेपालमा केही यस्ता युवकयुवती पनि छन् जसले विवाहको भोजभतेरको खर्च कटौती गरी गरिब दुःखीको गर्जो टार्न थालेका छन्। त्यस्तै भारतमा मध्यम वर्ग र निम्न वर्गले भोजको आयोजना गर्दा केराको पातमा पकवान पस्किन छाडेको छैन। तथापि सन्त्रासचाहिँ के हो भने यो परम्परा र संस्कार हराएर जान्छ कि भन्ने मात्र हो। हाम्रा पछिल्लो पुस्ताले आयातीत संस्कार मान्दामान्दै आफ्ना संस्कार बिर्सने हुन् कि भन्ने मात्र हो।

परम्परा र संस्कृतिको लोप

नेपालमा विभिन्न जाति, जनजाति, अल्पसंख्यक, पिछडिएकाको बसोवास छ। राई, लिम्बू, तामाङ, मगर, थारू, क्षेत्री, बाहुन, सुनुवार, राउटे, कुसुन्डा आदि सबैको आफ्नो वैवाहिक परम्परा र मौलिक चाडपर्व मनाउने गरिन्छ। थारू जातिका पहिले केटा पक्षले केटी पक्षलाई हैसियतअनुसार बिहे गर्न नगद दिने गर्दथे। अब हरायो र अब केटी पक्षले नै अरू क्षेत्री, बाहुन र तराईका यादव, झा, माडवारीको जस्तो दाइजो केटालाई दिई पार्टी प्यालेसमा भव्यसँग बिहे आयोजना गर्न थालेका छन्। तिनका बिहेमा भात, मासु, तरकारी, पकाउने कोसेलीमा चामलका परिकार बगियो रोटी, केरा, दहीचिउरा पठाउँथे, जुन हराउँदैछ। पहाडका राई, लिम्बूमा केटी भगाउने र केटा पक्षको घरमा बिहे गर्ने चलन थियो। केटी पक्षलाई त्यति ठ्ूलो मार थिएन।

अब परिवर्तन भयो र भारतीय टेलिफिल्मको अनुकरण त्यहाँ पनि हुन थालेको छ। केटी पक्षले भारी समारोह आयोजना गरी दाइजो दिन थालेको छ। चौधरीको केटी पक्षलाई केटा पक्षले रकम दिने, राई, लिम्बूमा केटी भगाउने जस्ता प्रथा आजको युगमा नसुहाउँदो हुन सक्छ। तसर्थ त्यसमा परिवर्तन ल्याउनु स्वाभाविक हो। तर सामाजिक व्यवहारमा औकातभन्दा बढी खर्च गरी अस्वाभाविक प्रदर्शन गर्नु राम्रो होइन। नेपालमा अरूको नक्कल गर्ने चलन व्यापक छ। अनुकरण गर्ने प्रवृत्तिले सानोसानो आय हुने परिवारको पनि जोतिरहेको जीवनदायिनी खेती र बसेको घरवास बिक्री गर्ने र अनावश्यक कुरामा खर्च गरी सुकुम्वासीमा दर्ता हुनु उपयुक्त होइन।

भ्रष्टाचारमा वृद्धि

यथार्थमा जसोजसो सामाजिक व्यवहारमा अपव्यय गरी अनावश्यक खर्च गरी आडम्बर प्रदर्शन गरिँदैछ। भ्रष्टाचारका अपराध पनि त्यही हिसाबमा वृद्धि हुँदै गएको छ। छोराछोरीलाई डाक्टर वा इन्जिनियर जसरी भए पनि पढाउनैपर्ने, विदेशमा पढाउनैपर्ने अनि बिहे गर्दा सानदारसँग छरछिमेकीलाई देखाउने गरी गर्नैपर्ने। जागिरको पैसाले यस्तो खर्च सचिव र कुनै संस्थानको हाकिमलाई भए पनि पुग्दैन। बाँकी कहाँबाट आउँछ। सबैको पैत्रिक सम्पत्तिले धान्दैन। अनि अर्को उपाय नहुँुदा भ्रष्टाचार नै हो एउटा आधार। आधा माथवरलाई खुवायो आधा आफू। आम जनताको बाटोघाटो, पुलपुलेसा, अस्पताल, वृद्धभत्ता जे मासे पनि या लुटे पनि भयो। यसको खोजी हुँदैन। भए पनि मिलाउन सके मिल्यो नसके केही वर्ष अख्तियार र विशेष अदालत र न्यायालयको तारेखसम्म धाउन हो। हारेमा अघि भ्रष्टाचार गर्दा एक करोड गरेको भए दस वर्षमा त्यो रकमको अवमूल्यन हुँदै दस लाख हाराहारीमा पुग्न सक्छ।

भ्रष्टाचारी कायमै भए पनि यहाँ इज्जत जाने वा सामाजिक व्यवहार बिहेबारीमा रोक टोक छैन। त्यसमाथि विदेश छोराछोरी पुर्‍याउँदा भ्रष्टाचारको रकम लुकाउने अर्को उपयुक्त बाटो पनि निस्कन्छ। पैसा त्यता पुर्‍याउन वा आफूसँग भएको रकम छोराछोरी वा ज्वाइँ आदिले कमाएको भन्न पनि पाइयो। नेपालमा भ्रष्ट मानसिकता भएकाको आजभोलिको चिन्तन यस्तै देखिन्छ। आजभोलि होटेल र पार्टी प्यालेसमा भव्य भोज गर्नु भनेको माथवरलाई वा राजनीतिक वृत्तलाई रिझाउनु पनि रहेछ। स्वादिष्ट परिकार र रक्सीको खोला बगाएपछि कुरा गर्ने मेलो ठेक्कापट्टा लेनदेनमा कुरा मिलाउने कारणबाट पनि एउटा न एउटा कार्यक्रमको बहानामा भोजको आयोजना गरेको देखिन्छ। यसबाट आयोजकको हैसियत, सान समाजमा बढ्ने हुँदा पनि मफतमा धन आइलाग्नेले यसता समारोह पार्टी प्यालेस वा होटेललाई भारी खर्च गरी आबाद गर्ने गरेका छन्।

यस्ता फजुल खर्च हुने भोजभतेरमा के साम्यवादी, के समाजवादी वा लोकतन्त्रवादी हुन् सबैको लर्को लागी समारोहको शोभा बढाइदिएको देखिएको छ। हामी बुद्धिजीवी पनि मुलुकले तोकेको कानुन र मापदण्डविपरीत त्यस्ता समारोह आयोजना गर्ने आयोजकले केकसरी कुन स्रोतबाट आयोजना गरेको हो भन्नेबारेमा प्रश्न नगरी तिनका मक्सद पूरा हुने गरी समारोहमा सामेल भई शोभा बढाएकै छौं।

नेपालमा मुठीभरिको संख्यामा सम्भ्रान्त र धनीमानी व्यक्ति छन्। अधिकांश विनापरि श्रम आर्जन गर्छन्। शोषक, सामन्ती, माफिया, दलाल र बिचौलियाको कामै त्यही छ। आम जनताको शोषण गर्ने प्रकृतिको दोहन गर्ने र यताको कुरा उता सारी मुखका भरमा कमाउने। यस्ता वर्गले आफ्नो इज्जत प्रतिष्ठा बढाउन पनि मफतमा आएको धन खर्च गरी आमरूपमा भोज गर्ने गरेका हुन्छन्। यो वर्गविशेषको चरित्र जुन दलको सरकार आए पनि छेपाराले रङ फेरेजस्तो तुरुन्त रङ फेर्नु हो।

सत्ताधारी र ठूलाठूला पदाधिकारीलाई सत्तामा पुग्न यिनकै भरथेक हुन्छ। सरकारमा जुन दल र जुन व्यक्ति आए पनि सदावहार चलखेल यिनकै रहन्छ। तसर्थ भारतको तुलना आम मध्यवर्गीय र निम्न मध्य वर्गीयले गर्न कठिन छ। तथापि आम नागरिकका निम्ति पर्व संस्कार भन्ने कुरा अर्थपूर्ण हुन्छ। बाउबाजेदेखि मान्दै आएका हुँदा संस्कार त मान्नैपर्‍यो। संस्कार मान्ने कुरा भारी खर्चले मात्र हुने होइन। थोरै खर्चमा उल्लासमय बनाई आफन्त, नातागोता र साथीभाइबीच उत्साह जगाउने हो। पर्व र संस्कार आफ्नो हैसियतअनुसार गर्नुपर्छ अरूको देखासिकी र नक्कल गर्ने भने होइन। पर्व र संस्कार मान्ने नाममा कंगाल बन्ने पनि होइन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.