झापाबाट २३ विद्यार्थीले एसईई दिन नपाउने
बिर्तामोड : यस वर्षको माध्यमिक तहको परीक्षा (एसईई) मा झापाबाट २३ विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका छन् । राजश्व नबुझाएका कारण झापाका सात स्थानीय तहका २३ विद्यार्थीले चैत १० गतेबाट हुन लागेको परीक्षा दिन नपाउने भएका हुन्।
राजश्व नबुझाउनेमा पशुपति मावि बाह्रदशी गाउँपालिकाका ७, मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा माविका ३, मेची जनसाधारण माविको १, भानु माविको १, जनता मावि १, शिवसताक्षी नगरपालिकास्थित भानु माविका ३, भगवती माविका १, दमक नगरपालिकास्थित पशुपति संस्कृति मावि दमकको १, बुद्धशान्ति गाउँपालिकाको गणेश माविका २ र अर्जुनधारा नगरपालिकास्थित लक्ष्मी माविका २ गरी २३ विद्यार्थी परीक्षा दिन नपाउने भएका हुन्।
बाह्रदशी गाउँपालिकास्थित पशुपति माविका प्रधानाध्यापक विद्यासागर चौधरीले विवाह भएर गएका र कोही वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक गएकाहरुले राजश्व नबुझाएको बताए।
काँकडभिट्टा माविका प्रधानाध्यापक तुलसी निरौलाले आफ्नो स्कुलका ३ जना विद्यार्थी विवाह भएर गएकाले परीक्षामा सामेल नहने बताए। उनले पटकपटक फोन गरेर फर्म भर्न बोलाउँदा पनि परीक्षा नदिने भनेर विद्यार्थीबाट जवाफ पाएको बताए।
त्यसैगरी ६ विद्यार्थी विद्यालयमा अनुपस्थित, दुईको मृत्यु र एकजना बिरामी परेर परीक्षा दिन नसक्ने जिल्ला शिक्षा समन्वय एकाइ समितिको तथ्याङ्कले देखिएको छ। झापामा यसवर्ष माध्यमिक तहको परीक्षा (एसईई) मा १५ हजार ६ सय ८९ जना परीक्षार्थी सहभागी हुँदैछन्। जसमा छात्राको सङ्ख्या धेरै रहेको कार्यालयका उपसचिव रामप्रसाद ढुङ्गानाले बताए। परीक्षार्थीमध्ये सात हजार ९ सय ३८ छात्रा र सात हजार ३ सय ३६ छात्र रहेका छन्।
उपसचिव ढुङ्गानाका अनुसार नियमिततर्फ १५ हजार ३ सय १ र ग्रेड वृद्धितर्फ ३ सय ८८ जना परीक्षार्थी छन्। झापामा यसपटक कारागारबाट तीन कैदीबन्दीले एसईई परीक्षा दिने भएका छन्।
झापाका १५ स्थानीय तहमा ५३ परीक्षा केन्द्र रहेका छन् बिर्तामोडस्थित महेन्द्र रत्न माविमा भने ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिनेछ। प्रश्नपत्र जिल्ला प्रहरी कार्यालयमा राखिएको र उत्तरपुस्तिका भने सम्बद्ध केन्द्रमा पुगिसकेको कार्यालयका उपसचिव ढुङ्गानाले बताए। उनले परीक्षा केन्द्रका केन्द्राध्यक्ष समेत टुङ्गो लागिसकेको बताए।