दाइजोसँगै जल्छन् महिला

दाइजोसँगै जल्छन् महिला

मधेसमा दाइजो नल्याएको र छोरी मात्रै जन्माएको बहानामा हमिदहरुले दिएको मानसिक र शारीरिक यातनाका कारण आमनाहरू नारकीय जीवन भोग्न बाध्य छन्


मुस्लिम परम्पराअनुसार नै वैवाहिक सम्बन्ध गाँसेको हो आमना खातुन र हमिद अन्सारीको जोडीले। बिहेमा चाहिने धन–सम्पत्ति र दाइजो भनेजति पुर्‍याएकै हो खातुन परिवारले। छोरीको घर बलियो होस् र परिवारले माया गरोस् भनेरै बिहेमा गर्नुपर्ने खर्चमा अलिकति पनि मन खुम्चाएन। बीरगन्जको मुख्य चोकमा रहेको नम्बरी जग्गा सस्तै मूल्यमा बेचेरै भए पनि बिहेको रीत चलायो। जसोतसो परम्परा धानेको थियो।

यसैगरी खातुन परिवारले ज्वाइँलाई मोटरसाइकल, प्रशस्तै रकम, मागेजति सुनका गहना सबै बुझाएकै थियो। आफ्नै परिवारजस्तै माया र सम्मान दिइएको थियो अन्सारी परिवारका हर सदस्यलाई। तर परिवारको आशाजस्तै बन्न सकेन छोरीको नयाँ घर र हमिदको माया पाउन सकिनन् आमनाले।

आमनालाई मान्छे नै गनेन हमिदको परिवारले। कहिले ढोका थुनेर मरणासन्न हुने गरि पिट्यो त कहिले महिनौं दिनसम्म बन्द कोठामा बन्दी बनायो। पिट्दापिट्दा थिलथिलो बनायो आमनाको शरीर। कारण थियो– आमनाको कोखबाट दुई छोरीको जन्म हुनु र प्रत्येकपटक सासूको मागअनुसार थप सम्पत्ति ल्याउन नसक्नु।

कलैया रामपुरकी स्थानीय हुन् आमना। वीरगन्ज बहुबरीका हमिद अन्सारीसँग परिवारकै इच्छाअनुसार बिहे भएको थियो। खातुन परिवारले करिब ६ वर्षअगाडि १५ लाखको हाराहारीमा पैसा खर्च गरेर आमनाको बिहे गरिदिएको थियो।

पहिलो सन्तान छोरी जन्मिँदासम्म उनीहरूको सम्बन्ध ठीकठाक नै चलेको थियो। जब दोस्रो सन्तान पनि छोरी नै जन्मिन् त्यसपछि सुरु भो आमनामाथि शारीरिक र मानसिक यातना दिने क्रम। कहिले सुन नपुगेको बहाना त कहिले दाइजोमा ल्याएको सोफा गतिलो नपरेको बहाना। उनी निरन्तर कुटिइन्। आमनालाई कुट्न कुनै बहाना चाहिँदैनथ्यो हमिदलाई। मात्रै उसको आमाले कुरा लगाइदिए पुग्थ्यो।

अधिकारकर्मी र जनप्रतिनिधिहरू आउँछन्, आमनाका दुःख र यातनाका कथा सुन्छन् र न्यायिक सहयोगको आश्वासन दिएर फर्किन्छन्, तर कहिल्यै पनि आमनाहरू न्याय पाउँदैनन्।

कहिले छोरीले दाल पोखाएको बहाना त कहिले तरकारी ढिलो पकाएको बहाना। कुटेर घरभित्रै थुनिन्थ्यो आमनालाई। कतिसम्म भने सानी छोरीलाई दूधसमेत चुसाउन दिएन हमिद परिवारले। कुट्दाकुट्दा बेहोस बनाएर कोठामा बन्द गरिदिन्थ्यो।

मुस्लिम समुदायमा छोरीबुहारीलाई घरबाहिर जाने अनुमति छैन। जानै परे मुख छोपेर या बुर्का पहिरिएर दाजुभाइसँग हिँड्नुपर्ने परम्परा छ। बाहिरी मान्छेसँग घरका छोरीबुहारी बोल्नै हुँदैन। कसैले उनीहरूको खोजखबर गर्नु हुँदैन। यसैले पनि घरभित्र यातना पाएकी आमनाबारे समाज पनि बेखबर थियो। पञ्च भलादमीसँग निकै मीठा कुरा लगाउँथिन् आमनाकी सासू।

बारा जिल्लाको कलैया, रामपुरमा रहेको आमनाको माइती पुगेका छौं हामी। हरियो सलले पूरै मुख छोपेर एउटा बेन्चमा बसेकी छन् आमना। रातभर छोराछोरीको मायाले छट्पटाएर रुने गर्छिन् रे उनी। भावुक हुँदै सुनाउँछिन् उनी, ‘मैले नाबालक छोरीलाई दूध खुवाउनसमेत पाइनँ, छोरीहरू भेट्न पनि दिँदैनन् उनीहरू।’ हामीसँग केही असहज देखिएकी छन् आमना। सुक्सुकाउँदै बोल्छिन्, ‘नाइँ कुरा नगर्ने’।

उनी माइतीमा बस्न थालेको ६ महिना बढी भइसक्यो। उनका दुई छोरी ससुराल (घर) मै छन्। भेट्नसमेत पाउँदिनन् उनी। सानी छोरी दुई वर्षकी भइन्। उनलाई दूध चुसाउनै दिएनन् श्रीमान्ले। श्रीमान्ले अर्को बिहे गरिसकेका छन्। आमना र उनको माइतीका आफन्त न्यायका लागि पटकपटक प्रहरीकहाँ पुगिसके। अनेकौं मान्छेलाई सहयोगको याचना गरिसके उनीहरूले। नतिजा शून्य छ। न त बहुबिहेको कसुरमा उनका श्रीमान्ले सजाय पाए न त आमनाले सन्तानसँगै बसेर खुसी साट्न पाइन्।

आमनालाई न्याय दिन्छु भनेर अधिकारकर्मीहरू पनि पुगेका थिए तर उनीहरू आमनाका दुःख र यातनाका कथा सुनेर मात्रै फर्किए। कसैले पनि आमनालाई न्यायनिम्ति सहयोग गरेनन्। आउनेहरूको यस्तै व्यवहारका कारण उनलाई कसैप्रति विश्वास छैन। घरमा कोही गएर केही सोध्न थाल्यो भने उनी रिसाएर बर्बराउँछिन्। बाहिर निस्केर कुरा गर्न नै चाहन्नन्। उनलाई मान्छेप्रति घृणा छ। उनलाई सहयोग गर्न खोज्नेहरूलाई हमिदले पैसा दिएर चुप लगाउँछ भन्ने उनको आरोप छ।

उनी श्रीमान् र छोराछोरीसँगै बस्न चाहन्छिन्। दुःखसुखका साथ जीवन बिताउन चाहन्छिन् तर ससुराल जान सक्ने अवस्था छैन। गाउँका पञ्चभलादमी र प्रहरीका अगाडि निकै माया गरेजस्तो गर्छ अन्सारी परिवारले आमनालाई। राम्रोसँग खानलाउन दिने र माया गर्ने वचन पनि दिन्छ। तर घरको गेटभित्र पसेपछि सुरु हुन्छ उनीमाथि शारीरिक यातना क्रम। बेल्ट फुकाएर हान्छन्, लात्तैलात्ताले भकुर्छन् र बेहोस बनाउँछन् हमिदले।

उनी आमनालाई घर छाडेर जान दबाब दिन्छन् र मारिदिएर लास गायब बनाउने धम्की दिन्छन्। कैयन्पटक अमानाका दाजुलाई समेत धम्की दिएको छ हमिदले। मेराविरुद्ध बोलिस् र प्रहरीमा भनिस् भने तेरो परिवारै सिध्याइदिन्छु भन्दै म्यासेज पठाउँछ उसले। डरैडरमा तर्सिन्छन् उनीहरू। अमाना भन्छिन्, ‘यस्तो अवस्थामा कसरी न्याय माग्न जाऊँ? को बोलिदिन्छ मेरो साक्षी?

आमनाका दाजुले उनलाई पटकपटक बन्द कोठाबाट निकालेर उपचारका लागि अस्पताल पुर्‍याएका छन्। दर्जनौंपटक बहिनीको न्यायका निम्ति समाज गुहारेका छन्, तर सबैजना तैं

चुप, मै चुपमा छन्। कोही बोल्दैनन् अमानाका पक्षमा। अमाना भन्छिन्, ‘तपाईंले मलाई न्याय दिनुहुन्छ। मलाई अंश र मानाचामलसहित छोरीहरूसँग बस्न पाउने व्यवस्था गरिदिनुहुन्छ? ’ कतिपटक हमिदका मान्छेले खातुन परिवारको ढोका हान्न आइपुग्यो रातमा। उनीहरूले प्रहरीमा जाहेरी दिए, सुरक्षाका लागि आदेशपत्र बोकेर बसेका छन्।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो। उनकै गाउँमा चारजना छोरीहरू दाइजोकै निहुँमा ससुराल छाड्न बाध्य भए। आमनाकै छिमेकी मर्करी खातुन र साहबुन खातुन पनि हाल माइतीमै छन्। हाम्रा छोरी सोझा भएर घर गर्न नसकेका हुन् भन्ने आमनाकी आमाको गुनासो छ। सोझा केटीलाई मात्र लोग्नेले छाड्ने गरेको गाउँलेको बुझाइ छ। उनीहरूले यो भनेनन्, ‘रात दिन कोठाभित्रै कुटिरहने र विनाकारण यातना दिनेहरूसँग आफ्नो बाठोपन कहाँनेर देखाउने होला? ’

देशैभर दाइजोकै निहुँमा हजारौं महिला यातना खप्न बाध्य छन्। कैयन् महिला घरभित्रै जलाइन्छन् भने कति महिला यातना खप्न नसकी आत्महत्या गर्न बाध्य पारिन्छन्। तर हाम्रो समाज भने सदावहार उस्तै छ। कहिल्यै महिलाका पक्षमा बोल्दैन।

जसले मार्नेसम्मको हर्कत गर्छ उसैकै साथमा फेरि पनि पठाउँछ आफ्नी छोरी–बुहारीलाई। सुरक्षा निकायमा रहेका कर्मचारी पनि संवेदनशील रहेको देखिन्न महिला मुद्दामा। केही महिनाअगाडि पर्साकी रविताकुमारी शाह दाइजोकै कारण आत्महत्या गर्न बाध्य बनिन्। फूलमाला लगाइसकेपछि बिहे गर्नुअगाडि केटापक्षले दाइजोमा थप रकम मागेको र नदिए बिहे नगर्ने धम्की दिएपछि रविताले आत्महत्या गरेकी थिइन्।

त्यस्तै ७४ फागुनमा धनुषाकी हजरा खातुनलाई सासू, ससुरा र श्रीमान्ले घरभित्रै आगो लगाएर हत्या गरे। उनको ससुरालबाट पटकपटक सुन र नगद ल्याउन दबाब दिँदै हजरालाई शारीरिक र मानसिक यातना दिने गरेका थिए। यस्तै गत माघ महिनामा जनकपुरकी सीमा शर्माले आफ्नी दुई वर्षीया छोरी अञ्जुम आरालाई पनि विष खुवाई आफूले पनि आत्महत्या गरिन्। उनकी सासूले माइतीबाट डेढ तोलाको सुनको सिक्री ल्याउन दबाब दिने गरेको र श्रीमान्ले रातदिन कुट्ने गरेका थिए। प्रत्येक पटक माइतीबाट सम्पत्ति ल्याउन नसकेपछि उनले छोरीसहित आत्महत्याको बाटो रोजिन्।

दाइजोबाट पीडित महिलाको संख्या देशभर रहे पनि विशेषतः मधेसी समुदायमा यसको असर ज्यादा परेको देखिन्छ। पर्सा, बारा र रौतहटमा बेटी पढाऊ बेटी बचाऊ अभियानमा निरन्तर सक्रिय सामाजिक अभियन्ता प्रकाश थारूका अनुसार मधेसी समुदायमा शिक्षा कमी नै मुख्य कमजोरी हो। समाजमा चेतनाको अभाव छ, छोरी जन्मिनासाथ उसको पढाइ, लालनपालनभन्दा दहेजको चिन्तामै हुर्कन्छिन् छोरीहरू। मुस्लिम धर्म महिलाका लागि कट्टर छ। धार्मिक मान्यताअनुसार महिला अझै पनि बुर्काभित्रै छन्। ‘छोरीलाई पढाउनुपर्छ र सक्षम बनाउनुपर्छ भन्ने सोच नै छैन। छोरी जन्मेको दाइजोका लागि मात्रै हो भन्ने मानसिकता बोकेर बसेका हुन्छन् धेरै आमाबुवा’, प्रकाश थारूले अनुभव सुनाए।

अहिले स्थानीय तहमा पनि जनप्रतिनिधि छन्। उनीहरूले दाइजोकै निहुँमा यातना दिने पुरुष र परिवारलाई सजाय दिँदैनन् भन्ने प्रश्नमा प्रकाश भन्छन्, ‘जनप्रतिनिधिहरू पनि त्यही समाजका उपज न हुन्। उस्तै धार्मिक संस्कार र सामाजिक परम्परा अपनाउने हुँदा आफ्ना भोटरहरूको विरुद्धमा खुलेर बोल्न सक्दैनन्। यसले गर्दा पनि पीडित महिलाका पक्षमा बोल्ने कोही हुँदैन।’

दाइजोका कुरा उठ्नासाथ सामाजिक इज्जत, परम्परा र धार्मिक मान्यताका सवालका कुरा पनि आउँछन् तर कुनै पनि धर्ममा बिहेमा दाइजो÷तीलक दिनैपर्ने बाध्यकारी नियम नभएको तर्क गर्छिन् नेपाल मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी।

अन्सारीका अनुसार दाइजो प्रथा धार्मिक नभएर सामाजिक मान्यता मात्रै हो। शिक्षा र चेतना अभाव हुनु तथा केही शिक्षित युवामा पारिवारिक दबाबस्वरूप यो प्रथा फस्टाएको हो। दाइजो लिनुदिनु गैरकानुनी कार्य हो भन्ने थाहा नहुनाले समाजमा यो प्रथा रहिरहेको मोहनाको दाबी छ।

मधेस मात्रै नभएर नेपालका हरेक ठाउँमा दाइजो प्रथा रहेको छ। परिवारमा धेरै सन्तान हुनु, चाँडै बिहे गरिदिने चलन हुनुले पनि यसले थप प्र श्रय पाएको बताउँछिन् अन्सारी। उनका अनुसार स्थानीय जनप्रतिनिधिले सचेतना फैलाउनुपर्‍यो, बिहे हुँदै गरेको घरमा निगरानी राख्नुपर्‍यो, गैरकानुनी कार्य गर्नेलाई सजाय दिलाउनुपर्‍यो र स्थानीय प्रशासनलाई सक्रिय बनाउनुपर्‍यो। तब मात्र समाजमा यसको असर कम पर्नेछ। समाजका पढेलेखेका युवाले सकारात्मक सन्देश प्रवाह गर्नु जरुरी भएको प्रवक्ता अन्सारीको भनाइ छ।

पछिल्लो समय सरकारले प्रदेश २ मा ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान सुरु गरेको छ। दाइजो र महिला हिंसाको विरुद्धमा विभिन्न संघसंस्थाले काम पनि गरिरहेका छन्। कहीं शिक्षित युवायुवतीले विनादहेज बिहे पनि गरेका छन् तर आमनाहरूको अवस्था उस्तै छ। उनका लागि न्याय खोजिदिनेहरू आफैं मौन छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.