अलिना भइन् मिसेस टप अफ द वर्ल्ड
काठमाडौं : राष्ट्रिय पहिचानको सौन्दर्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजित ‘मिसेस टप अफ द वर्ल्ड नेपाल–२०१९’को उपाधि अलिना तुलाधरलाई प्रदान गरिएको छ। विवाहित महिलामा लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ई प्लानेट प्रालिले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा तुलाधरलाई उक्त उपाधि प्रदान गरेको हो।
सो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली प्रतिनिधिको चयन, संयोजन प्रक्रिया र सम्पूर्ण व्यवस्थापन अनिला श्रेष्ठको अगुवाइमा ग्रिन आर्टस् मिडिया प्रालिले गरेको हो।
मिसेस टप अफ वर्ल्ड–२०१९ मा सहभागी हुनुपूर्व अलिनाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगितासम्बन्धी अभिमुखीकरण र प्रशिक्षण प्राप्त गर्ने छिन्। यो प्रतियोगिता लात्भियाको रिगा सहरमा २०१९ मे २९ देखि जुन २ सम्म सञ्चालन हुने छ।
स्नातकोत्तर अध्ययन पूरा गरेकी तुलाधर हाल सिभिल ग्रुपमा आबद्ध छिन्। उनी ब्युटिसियन पनि हुन्। यसअघि रजनी थापाले सन् २०१५ को संस्करणमा नेपालको तर्फबाट मिसेस टप अफ द वल्र्डमा सहभागिता जनाएकी थिइन्।
ई प्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार सौन्दर्य प्रतियोगिताको क्षेत्रमा चलिआएको धार परिमार्जन गर्दै व्यक्तिगत सौन्दर्यभन्दा पनि राष्ट्रिय सौन्दर्यलाई उजागर गर्न खोजिएको हो।