पैंचोले भित्र्याएको ‘कृषि क्रान्ति’

पैंचोले भित्र्याएको ‘कृषि क्रान्ति’

बुटवल : कृषि उपज सहजै बिक्री भए किसान उत्पादनमा रमाउँछन् भन्ने उदाहरण गुल्मीको बलेटक्सारमा देख्न पाइन्छ। जहाँ ०७१ सालमा स्थानीय युवाकै सक्रियतामा पैंचो पसलको सुरुवात भएको थियो।

गाउँमा उत्पादित तरकारी, फलफूल खरिद विक्री गर्दै सुरु भएको पैंचो पसलले कृषिमा क्रान्ति नै ल्यायो। बलेटक्सारबाट सुरु भएको यो अभियान गुल्मीका धेरै क्षेत्र हुँदै पाल्पा, अर्घाखाँचीमा पनि सफल भएको छ। बाझो बारीमा अहिले लटरम्म तरकारी झुलेका छन्। तराई झरेका युवासमेत कृषि उत्पादनका लागि गाउँ फर्किएका छन्।

गुल्मीको बलेटक्सार, हुँगा, रुरु क्षेत्रमा उदाहरणीय रूपमा व्यावसायिक तरकारी खेतीको सुरुवात भएको छ। पैंचो पसलका प्रबन्ध निर्देशक ध्रुव न्यौपाने भन्छन्, ‘हामीले किसानले उत्पादन गरेका हरेक वस्तु किनिदियौं, त्यो वस्तुलाई सहरमा बेच्यौं। जब उत्पादित वस्तुको किसानले मोल पाए अनि उत्पादनमा हौसिए।’

पैंचो पसलले किसानको उत्पादनमात्रै खरिद गर्दैन, खेती किसानी कसरी गर्ने भन्ने सीप पनि सिकाउँछ। विषादीरहित खेती, सानो क्षेत्रबाट ठूलो आम्दानी, बीउवीजन र मलमा समेत पैसोको सहयोग हुन्छ। किसानले उत्पादन गरेका उपज बारीमै गएर किन्ने भएपछि किसानलाई कुनै समस्या छैन।

‘किसानले दुःख गरेर उत्पादन गरेको वस्तु विक्री गर्न नपाएपछि निराश हुन्छन्, अनि उत्पादन नै छाड्छन्’, न्यौपाने भन्छन्, ‘मुलुकको मुख्य समस्या नै यहि हो। सरकारले किसानका उत्पादन किनिदिनुपर्ने हो, त्यसो हुन सकेको छैन। हामीले केही क्षत्रमा यो काम गरेका छौं।’

पैंचोले किसानका उत्पादन सहरी क्षेत्रमा विक्री गर्छ। आफ्नै अचार उद्योग खोलेको पैंचोमा टमाटर, बेलाउती, अम्बा, खुर्सानी, अदुवालगायत वस्तु त्यहाँ खपत हुन्छन्। गुल्मीको रिडीमा रहेको उद्योगबाट अचार, सस, जामलगायत वस्तु उत्पादन भएका छन्। ती उत्पादन पैंचोले नेटवर्क पसलका रूपमा मुलुकका विभिन्न क्षेत्रबाट बिक्री गर्दै आएको छ।

गुणस्तर विभागबाट गुणस्तरीयताको चिह्न पाएको पैंचोका ९५ प्रतिशत उत्पादन स्वदेशी छन्। उच्च पहाडी क्षेत्रमा उत्पादन भएका वस्तु भएकाले स्वास्थ्यका हिसाबले उपयुक्त भएको न्यौपाने दाबी गर्छन्। ‘गुणस्तर र स्वच्छतामा हामी निकै गम्भीर छौं’, उनले भने।

हौसिएका किसान

गुल्मी हुँगा रुक्सेका किसान रामकृष्ण कँडेलको बारी भिरालो छ। चिउरे चट्टाने बारीमा कुनै समय मुस्किलले चार पाथी जौ फल्थ्यो। त्यही बारीमा फल्ने मकै अगालोमै बोकेर सकिन्थ्यो। दुई भैसी, दुईचार बाख्रा पालेका रामकृष्णलाई मकैले बढीमा तीन महिनामात्रै खान पुग्थ्यो। तरकारी घरमै खान पनि धौ–धौ थियो। ०७२ तिर रामकृष्णको बारीले मुहार फेर्‍यो।

आफ्नो बारीमा के फल्छ भन्ने प्राविधिक ज्ञान नभएका उनले जव सीप सिके त्यही बारीमा ‘सुन’ फल्यो। ‘खेती गर्न जाने सुन नै फल्दो रैछ, नजाने लसुनले पनि कोसेरा हाल्दैन, ‘विगत सम्झिदै उनी भन्छन, ‘मेरा बाले जीवन काटे, मैले ३५ वर्ष बिताए तर अहिलेजस्तो उब्जनी कहिल्यै भएन।’

पैंचो पसलको बलेटक्सार संकलन केन्द्रले जुनसुकै कृषिउपज खरिद गरिदिँदा गुल्मीका झण्डै १२ हजार किसान व्यावसायिक खेतीमा लागेका छन्।

चारपाथी जौं हुने उनको बारीमा काँक्रा फल्छन्। अकबरी खुर्सानी, ढिकमा सिस्नो, कफीका बिरुवा उत्पादनमा उनी व्यस्त छन्। गत सिजनमा त्यही बारीबाट झण्डै चार लाखको काँक्रा बेचे। अकबरी सुर्खानीबाट पनि राम्रै आम्दानी भयो। रामकृष्णले गत वर्ष साढे १२ लाखको तरकारी बेचे। झन्डै ८ लाख नाफा भयो। यो वर्ष १५ लाखको बिक्री गर्ने योजना छ। बारीमा रामभेंडा, कफी, सुन्तलाका बोट समेत प्रशस्तै छन्। ४५ रोपनी बारीमा नफलेको फलफूल र तरकारी सायदै होला।

सहरबाट तरकारी खेतीकै लागि गाउँ फर्किएका २५ वर्षे युवा भुवन खराल मानविकी संकायबाट स्नातक तह पढ्दै थिए। गाउँमा कृषिको अभियान नै चल्यो। उनलाई पनि आफ्नो बाँझो बारीमा तरकारी लगाउने इच्छा जाग्यो। गत वर्ष सात लाखको गोलभेंडा बिक्री गरेका उनले यो वर्ष १२ रोपनी बारीमा २२ हजार बोट सुर्खानी रोपेका छन्।

वार्षिक २० हजार भाडा तिर्ने गरी लिएको जग्गामा फलेको खुर्सानी पाकेर रातम्मे छ। खुर्सानी एकपटक रोपेपछि बढीमा तीन वर्ष उत्पादन दिन्छ। ‘खुर्सानी पाकेर टिप्न भ्याइनभ्याइ छ’, खरालले भने, ‘जागिर खान नलागी आफै कृषि व्यवसाय गर्दै छु।’

खुर्सानी र गोलभेंडाबाट यो वर्ष १२ लाख जति आउने उनको अनुमान छ। ‘विक्री नभएर कुहिन्छ कि भन्ने चिन्ता छैन’, उनले भने, ‘किसानलाई बजारको समस्या हो, तर पैंचो पसलले यी सबै सहज बनाएको छ।’ खराल गुल्मी जिल्लामै बढी खुर्सानी उत्पादन गर्ने पहिलो किसान हुन्।

सबै उत्पादनबाट पैसा

पैंचो पसलको बलेटक्सार संकलन केन्द्रले किसानले उत्पादन गरेका जुनसुकै उपज खरिद गर्छ। भुटुक, गिठो, अमला, सिस्नो, तामा, भूइँकटहर, रुखकटहर, सागपात, अमिलो सबै खरिद हुन्छ। गुल्मीका झण्डै १२ हजार किसान व्यावसायिक खेतिमा लागेका छन्।

पैंचो पसलका प्रबन्ध निर्देशक न्यौपाने भन्छन, ‘किसानले बजार खोजेका थिए, हामीले बजार दियौं। अहिले गाउँमा व्यावसायिक तरकारी खेती गर्नेको ‘ह्विम’ नै चलेको छ।’ किसानको उत्पादन संकलन गर्न पैंचो पसलले ३६ वटा संकलन केन्द्र बनाएको छ। गुल्मी र पाल्पाका किसानले तिनै संकलन केन्द्रबाट आफ्नो उत्पादन बिक्री गर्दै आएका छन्।

पैंचोले किसानको हरेक उत्पादन बजार भाउअनुसार खरिद गर्छन्। त्यसका लागि विभिन्न स्थानमा संकलन केन्द्र खोलिएका छन्। गुल्मीको बलेटक्सारबाट सुरु भएको संकलन केन्द्र धेरै स्थानमा पुगिसकेको छ। पैंचोले ती कच्चा पदार्थ प्रयोग गरेर अचार, जाम, ससलगायत उत्पादन गर्दै आएको छ। गुल्मीको रिडीमा रहेको सो उद्योगको उत्पादन सातै प्रदेशमा पुगेको छ। विभिन्न सहरमा शाखा सञ्चालनमा छन्। बुटवलमा हरियो तरकारी बिक्री केन्द्र छ। किसानलाई प्राविधिक सहयोग पनि गर्दै आएको छ। पैंचोले ३५ करोड लगानीमा सबै काम गरिरहेको छ। विभिन्न स्थानमा चार सयले प्रत्यक्ष रोजगारी पाएका छन्।

व्यावसायिक किसान योजना

१२ हजार किसानलाई खेती गर्न सिकाएको पैंचोले व्यावसायिक उत्पादनमा जोड दिँदै अभियान नै चलाउने योजना पारित गरेको छ। केही दिनअघि बलेटक्सारमा सकिएको साधारणसभाले एक सय व्यावसायिक किसान उत्पादन गर्ने कार्ययोजना पारित गरेको छ। ती किसानको घरमा कम्तीमा एक सय टनेल हुनेछन्। पैंचोका सञ्चालक शरण कर्मचार्य भन्छन्, ‘बाँझिएको पहाडको बारीलाई उर्वर बनाउने योजना छ। यसबाट हामीलाई कच्चा पदार्थ आउँछ, किसानले पैसा कमाउँछन्। आयात प्रतिस्थापनमा सघाउ पुग्छ।’

नेपाली उत्पादनलाई भारतबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्न कठिन छ। भारतबाट गुणस्तरहीन सामान भित्रिँदा पनि सरकार रोक लगाउने योजनामा छैन। गोलभेंडा, काँक्रोलगायत उपजको नेपालमै राम्रो उत्पादन छ। बुटवलको कृषि संकलन केन्द्रलगायत ठूला व्यापारीले स्वदेशी उत्पादन खरिद नगर्दा गोलभेंडा सिजनमा खपत नभई फाल्नुपर्ने अवस्था छ।

पैंचोका प्रबन्ध निर्देशक न्यौपाने भन्छन्, ‘सरकारी तहबाट किसान र स्वदेशी उद्योगलाई प्रोत्साहनको काम भएन।’ आयात प्रतिस्थापन गर्न स्वदेशमै बढी उत्पादन हुने वस्तु आयातमा कडाइ गर्नुपर्ने माग किसानको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.