रमेश प्रसाईको एकल कविता वाचन
बिर्तामोड :
कत्ति पनि विचलित नभईकन, नित्य, निरन्तर, अनवरत नदीसरी बहँदै,
चन्द्रमा छुने अभिलाषा बोकेको, अटल शिखर चुम्ने संकल्प लिएको,
एक यात्री हुँ म।
झापा मेचीनगर निवासी रमेश प्रसाईको एकल कविता वाचन शनिबार बिर्तामोडमा सम्पन्न भएको छ। विद्यालय अध्ययनका क्रममा धेरैपटक ‘भएन’ भनेर कविता च्यात्ने दुर्गा माध्यमिक विद्यालय गरामुनिका गुरु खिलप्रसाद शिवाकोटीको जन्मदिन पारेर कवि प्रसाईले आफ्ना कविता सुनाएका हुन्।
कवि प्रसाईले आफ्ना विचार र कवितामार्फत कार्यक्रममा उपस्थित सबैलाई भावनामा डुबाए। प्रायः राष्ट्रियताका विषयमा धारणा राख्ने रमेशले एकल कविता वाचनमार्फत मायाप्रेमका विषयसमेत कवितामार्फत सार्वजनिक गरे। कविता तथा अन्य माध्यमबाट आफ्ना विचार राख्दा आफूभित्रको कुण्ठा बाहिर आउने उनी बताउँछन्। ‘विचारले देश बदल्छ, मानसिकता बदल्छ, समाज बदल्छ। त्यसैले आफ्ना विचार राख्छु। पाठक, श्रोता र दर्शकको पनि राम्रो साथ पाएको छु’, उनले भने।
झापाली साहित्य समाजले रमेशलाई पहिलोपटक कविता वाचनको मौका जुराइदिएको हो। सैयौं दर्शक र श्रोतामाझ एक दर्जन कविता वाचन गरेका प्रसाईले समाजमा देखा परेका नकारात्मक विषयलाई कवितामार्फत उजागर गरे। आयोजक झापाली साहित्य समाजले रमेशको एकल कविता वाचन भने पनि गायिका मेनुका पौडेललाई सुटुक्कै दर्शकसामु ‘सरप्राइज’ दिँदै भिœयाएको थियो। मेनुकाले कार्यक्रममा विभिन्न राष्ट्रिय गीत प्रस्तुत गरिन्।