निमाको हत्यामा संलग्न चार पक्राउ
धरान : धरान उपमहानगरपालिका- ८ सिथ्त भोटेपुलका निमा तामाङको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। होली मनाउने क्रममा गत बिहीबार विवाद हुँदा छुरी प्रहारबाट निमाको हत्या गरिएको थियो।
निमाको हत्यामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय धरानले ४ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा धरान ८ का १८ वर्षीय सुशान्त लिम्बू, निश्चल विक, शरण राई र धरान ७ का १७ वर्षीय मनिस लावतीला रहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी सुमनकुमार तिम्सिनाले बताए।
पक्राउ परेका चारैजनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पुरानो रिसिविका कारण वादविवाद हुँदा चारजनाको समूहले निमालाई छुरी रोपेर हत्या गरेको डीएसपी तिम्सिनाले बताए। पक्राउ परेका चारैजनाविरुद्ध कर्तव्य ज्यान ऐन अन्र्तगत मुद्धा दर्ता गरी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ।
यसैगरी धरान ५ का सुजन भुजेल र राजन राईलाई आक्रमण गरी अंगभंग बनाएको आरोपमा प्रहरीले अन्य चारजलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान १५ का प्रशान्त लिम्बू, आविष्कार लिम्बू, धरान १९ का रोशन तामाङ, विजु भुजेल र धरान १४ का अभिषेक मगरलाई घरेलु हतियारसहित पक्राउ गरिएको छ।
चारैजनाको समूहले खुडा, कट्टी र बञ्चरो प्रहरा गरी सुजन र राजनलाई घाइते बनाएको आरोपमा ज्यान मार्ने मुद्धा दर्ता गरी कारवाही पक्रिया अगाडि बढाएको डीएसपी तिम्सिनाले बताए ।
होलीकै दिन इलाका प्रहरी कार्यालय धरानका प्रहरी जवान राजकुमार श्रेष्ठलाई हातपात गर्ने धरान कै दिपक लिम्बू, एल्विस राई, रुपा राई, विनोद राई, जेनिष राई, आकाश मुखिया कमल मल्ल ठकुरीलाई पक्राउ गरी अभ्रद्र व्यभार मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले १८ वर्षमुनिका युवाहरु अपराधिक क्रियाकलापका घटनामा संलग्न हुन थालेको भन्दै अभिभावकलाई आफ्ना छोरा छोरीमाथि निगरानीमा राख्न समेत अनुरोध गरेको छ।