‘म माफी माग्दिनँ’
काठमाडौं : मञ्चमा चुक घोप्ट्याएजस्तो अँध्यारो छ। कल्याङमल्याङ अजीवअजीव आवाज सुनिन्छ। खोला सुसाएजस्तो, चिहानको वरिपरि फैलने त्रासदी जस्तो सन्नाटा।
केहीबेरमा मधुरो प्रकाशसँग मञ्च गतिशील बन्छ। एक व्यक्ति डरलाग्दो भावभंगीमा अग्लो डोरीबाट लुसुलुसु तल झर्दैछ। कोही कफिनको ढोकाबाट विस्तारै चिहाउँछन्। कोही फोहोरको डंगुरबाट पर्दा हटाउँछन्। केही व्यक्ति वागमतीको ढल छिचोल्दै त्यहाँ आइपुग्छन्।
सबैजना भेला भएर अट्ठहास छाड्छन्। ठूलोठूलो स्वरमा गीत गाउँछन्। उनीहरूको गीतको भाषा फरक छ। जिउज्यानको आकार फरक छ। अझ भनौं उनीहरूको माग पनि असहज र अश्लील लाग्छ हामीलाई। उनीहरू सामाजिक रूपमा पिछडिएका, अपहेलित पात्र हुन्। उनीहरूको शरीर र हाउभाउ पनि असामान्य लाग्छ। समाजले उनीहरूको अस्तित्व स्विकार गर्दैन।
कसैको पेट असामान्य रूपमा ठूलो छ, सँगै हात चल्दैन। कोहीको अनुहारमा विभिन्न डल्ला पलाएका छन्। कोहीको खुट्टामा हावा भरिएको छ। देख्दै हात्तीको खुट्टाजस्तो। कुनै नारी पात्रको अस्वाभाविक रूपमा वक्षस्थल उकासिएको छ। कोहीको यौनअंग नै ठाउँ सरेको जस्तो देखिन्छ। उनीहरूलाई हेर्दा जोकोही त्रसित हुन्छन्। उफ कस्तो डरलाग्दो सपना। साँच्ची हरेक दर्शकलाई खतरनाक सपना देखेजस्तो लाग्छ। तर यो सपना नभएर नाटकका कलाकारको चित्रण हो।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा शनिबारदेखि मञ्चन भइरहेको नाटक ‘म माफी माग्दिनँ’ मा फरक विषय उठाउन खोजिएको छ। नाटकका पात्र एकअर्कामा नेता बन्न चाहन्छन्, कुशल अभिनेता बन्न चाहन्छन्। थिएटरमा उत्कृष्ट अभिनय गर्न चाहन्छन्। तर उनीहरूलाई कसैले गन्दैन। मान्छे भनेर कोही पनि बोल्न चाहँदैन। फिल्म खेल्न गएकी एक पात्रलाई निर्माता, निर्देशक र अभिनेताले बारम्बार बलात्कारको कोसिस गर्छ।
पुक्क पेट उठेको, हात नभएको पात्र मञ्चमा आउँछ र एउटी महिला पात्रलाई दुव्र्यवहारको कोसिस गर्छ। सबै मिलेर त्यही दुव्र्यवहारकर्तालाई उनीहरूले हाँसेर सहयोग गरिरहेका छन्। सबैजना ती युवतीको पछि लाग्छन्। पुनः गीत गाउँदै चिच्याउँछन्, ‘नारीहरू हामीले पेल्न पाउनुपर्छ, उनीहरूको शरीरमा खेल्न पाउनुपर्छ। बलात्कार गर्नु त हाम्रो अधिकार हो।’
सबैजना चिच्याउँदै हाँस्छन्। उनीहरूको हाँसो पनि अस्वाभाविक छ। संवाद पनि अनौठो छ। मञ्चमा देखाइने अभिनय पनि केही अश्लील लाग्छ। यौनको मामिलामा केही खुल्ला दृश्य देखाइएको छ। यो नाटक १६ वर्षभन्दा मुनिकालाई हेर्न बन्देज छ। पात्रहरूले समाजका अनगिन्ती समस्या र बेतिथिविरुद्ध आक्रोश पोख्छन्।
‘तँ सुपर हिरो कसरी बन्छेस्, तँ त काली छेस्’ ‘म बन्छु सुपर हिरो’, एक मोटी पात्रले अर्की पात्रलार्ई मञ्चमै धकेलिदिन्छिन् र आफू मञ्चमा आएर क्याटवाक गर्छिन्। उनीहरू एकआपसमा घरी लड्छन्, घरी आत्मीय बन्छन्। नाटकका पात्रले फरकफरक भूमिकामा आफूलाई अब्बल देखाएका छन्।
‘म माफी माग्दिनँ’ नाटकका निर्देशक हुन्, स्विट्जरल्यान्डकी अनिता बेर्ताेलामी र आयरल्यान्डका शिव ग्रिन्स। उनीहरू दुवैजना हाल जर्मनीको फाइबर्गमा रंगकर्ममा सक्रिय छन्। डेनमार्कको कमेडिया इन्टरनेसनल स्कुलबाट दुवै जनाले स्नातक तह पूरा गरेका छन्। यो नाटक अन्य चलनचल्तीका नाटकभन्दा फरक शैलीमा निर्माण गरिएको छ।
निर्देशकद्वयका अनुसार यो शैलीलाई बफुन भनिन्छ। बफुनको नेपाली अर्थ ‘बेसोमती हास्यव्यंग्य नाटक’ भन्ने हुन्छ। निर्देशकद्वयले यस नाटकलाई कुनै निश्चित विषय र प्रस्तुतिभन्दा पनि संसारलाई हेर्ने फरक दृष्टिकोणको आधारमा बुझिदिन आग्रह गरेका छन्।
नाटकका पात्रहरू आम जीवनमा देखिरहेका पात्रभन्दा फरक लाग्छन्। उनीहरूको शरीर, हाउभाउ र आफूलाई सभ्य ठान्ने मानिसले उनीहरूलाई बेसोमतीकोे रूपमा बुझ्ने गरेको रंगकर्मी घिमिरेले युवराज बताए। समाजले खतराको क्षेत्र ठान्ने यस्ता पात्रहरू समूहमा देखिने गर्छन् र समाजलाई खिसिटिउरी गर्ने, प्रश्न गर्ने गर्छन्।
नाटकमा पवित्रा खड्का, सविन कट्टेल, झकेन्द्र बीसी, संगीता उराव, दीपिका ढकाल, मोहनप्रकाश, गोविन्द ओली, सुमित भण्डारीलगायतका कलाकारको अभिनय छ। उनीहरूले आफ्नो वास्तविक परिचय भुलेर पात्रको चरित्र निभाउँदा अपांगता भएका व्यक्तिप्रति अझ बढी सम्मान उत्पन्न भएको बताए। नाटक चैत १६ गतेसम्म चल्नेछ।