बरदान बन्यो वाग्मतीको फोहर पानी

बरदान बन्यो वाग्मतीको फोहर पानी

मकवानपुर : काठमाडौंबाट बग्ने वाग्मती वर्षात्मा बाढी बनेर आइदिन्छ, हिउँदमा निरन्तर फोहरसँगै बगिरहन्छ। फोहर पानीकै कारण माछा पनि राम्ररी बाँच्न सक्दैनन्। गाईवस्तुलाई खुवाउनसमेत योग्य नहुने फोहोर पानीका कारण कतिपयले खोलालाई मृत वाग्मती पनि भन्छन्।

तर त्यही वाग्मती बग्दै मकवानपुर र सिन्धुलीको सिमानासम्म पुग्दा भने स्थानीयलाई बरदान भएको छ। ५५ वर्षीय बहादुरसिं लोप्चनको दैनिकी २५ वर्षदेखि वाग्मतीमा बितेको छ। वाग्मती खोला नजिक सिन्धुलीको हरिहरपुर गाउँपालिकास्थित चप्राडाँडाका स्थानीय उनले जब वाग्मतीको बगरमा पाइला राखे, अन्यत्र फर्कनु परेको छैन।

वाग्मतीको फोहर पानी प्रयोग गरेर बगरमा उनी मकैखेती गर्छन्। ‘बगरमा मकै रोपेपछि वाग्मतीको पानीकै भरमा खेती गर्ने हो, मल पनि छर्नु पर्दैन गोड्नु पनि पर्दैन’, उनले भने, ‘पानीमा बग्ने फोहरले नै मलको काम काम गर्छ।’ आफ्नो एक बिघा पाखो बारी छाडेर बगर झरेका उनी १५ कठ्ठा बगरमा खेती गर्छन्। ‘आफ्नो पाखोबारीमा वर्षात् भएमा अलिअलि उब्जनी भइजान्छ, एकनाले बाली हो’ लोप्चनले भने, ‘पाखो बारीमा वर्षभरि दुःख गर्दा पनि ६ महिना खान पुग्ने अन्न फल्दैन। बगरले वर्षभरि खान पुग्ने अन्न दिएको छ।’ छोरी ज्वाईसहित नौ जनाको परिवारलाई बगरबाट उत्पादन हुने मकैले खान पुग्ने उनले बताए।

लोप्चनजस्तै मकवानपुरको वाग्मती गाउँपालिकास्थित झुरझुरेका विशाल राईको पनि वाग्मतीको फोहर पानीले नै परिवार धानेको छ। बगरमा रोपेको मकैको हेरचाह र बाख्रा गोठालो उनको दैनिकी हो। ‘२०५० सालको बाढीले गाउँ नै बगाएपछि बगरमा खेती सुरु गरेको होे’, उनले भने, ‘पाखो बारीभन्दा राम्रो उब्जनी हुने भएपछि धेरै गाउँले बगरमै खेती गर्छन्।’ पाखो बारी तीन कठ्ठा जमिनमा हुने उत्पादन बगरमा एक कठ्ठामा हुने उनले बताए।

मकवानपुर र सिन्धुलीका गरी करिब पाँच सय परिवारले बगरमा खेती गरिरहेको उनको अनुमान छ। उनीहरूले मकै धानलगायत मौसमी बाली लगाउने गरेका छन्। वाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले वाग्मती र हरिहरपुर गाउँपालिकाभित्र पर्ने वाग्मती खोलाको करिब ३० हजार हेक्टर बगरमा स्थानीयले खेतीपाती गरिरहेको बताए। ‘राज्यको नीतिअनुसार १० हजार हेक्टरभन्दा ठूलो जमिन संघीय सरकारले संरक्षण गर्ने नीति भएकाले वाग्मती करिडोरका रूपमा विकास गर्न हामीले पहल गरिरहेका छौं’, उनले भने, ‘त्यसको लागि हाम्रो बजेटले धान्न सक्दैन, संघीय सरकारसँग पहल गरिरहेका छौं।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.