दोस्रो विश्वयुद्ध लडेका गोर्खा मेजर बनेमको निधन
धरान : दोस्रो विश्व युद्धमा विभिन्न मुलुकमा बहादुरी पूर्वक लडेर नेपालको नाम राखेका सुनसरीको धरान उपमहानगर ११ निवासी ९४ वर्षीय पूर्व गोर्खा मेजर इन्द्रजित बनेम (लिम्बू) को निधन भएको छ।
दोस्रो विश्व युद्ध लडेर मिलिटरी क्रस विजेता हेनरी गोर्खा मेजर बनेमको धरान ११ स्थित निवासमा सोमबार राति निधन भएको हो।
सन् १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्वयुद्धको समयमा बनेमले बर्मामा भएको युद्ध लडेर बहादुरी देखाएका थिए । बनेमले सन् १९६३ मा मलायाको (हाल मलेसिया) को युद्धमा बहादुरी देखाए वापत बेलायती महारानीबाट मिलिटरी क्रस पाएको पूर्व बेलायती सेना धरान ८ का रमेश राईले बताए।
उनका अनुसार स्व. बनेम अवकासपछि धरान बसोवास गरिरहेको अवस्थामा विभिन्न सामाजिक काममा समेत सक्रिय थिए। बनेमको निधनले गोर्खालीको जिउँदो इतिहासको अवसान भएको हाल सिंगापुर प्रहरीमा कार्यरत पिसी पदम रानामगरले बताए।उनले बनेमजस्तै विश्वयुद्ध लडेर बहादुरी प्रस्तुत गरेका अग्रजहरुको प्रेरणका कारण हाल बेलायत र सिंगापुरमा नेपालीले भर्ती हुने अवसर पाएको बताएका छन्।
बनेमका दुई छोरा र दुई छोरी छन्। छोराहरु बेलायत र अष्ट्रेलियामा रहेका कारण बनेमको अन्तिम दाहसंस्कार शुक्रबार मात्र गरिने भएको छ।