भत्ताको व्यथा

भत्ताको व्यथा

धनगढी : हातमा लौरो, काँपिरहेको शरीर, कमजोर आँखा । कृषि विकास बैंक कैलाली शाखा परिसरमा सयौं ज्येष्ठ नागरिकको लाममा ९० वर्षीय कालीप्रसाद चौधरी चर्को घाममा लामबद्ध थिए । अघिपछि उभिएका ज्येष्ठ नागरिकसँग अडेस लागेर उभिएका चौधरीको हातमा ८ हजार रुपैयाँको चेक थियो ।

‘९० वर्षको भएँ । चार महिनाको भत्ता लिन बैंकमै आएको हुँ’, मसिनो बोलीमा उनले भने, ‘नजिकैको वडा कार्यालयबाट वितरण गरिदिएको भए कति सहज हुन्थ्यो ? ’चौधरी आफूले भोट दिएर जिताएका जनप्रतिनिधिप्रति आक्रोशित देखिन्थे । उनले भने, ‘वृद्धभत्ता घरघरमै पु¥याइदिन्छौं भनेर प्रतिबद्धता गरेका जनप्रतिनिधि अहिले कुन्नि काँ गए ? ’

धनगढी उपमहानगरपालिका–३ की ८० वर्षीया रूपादेवी गिरी बैंकको पश्चिमतिरको गेटबाट लाम छिचोल्दै भित्र छिर्ने प्रयासमा थिइन् । नजिकै रहेका गार्डले भने, ‘आमा त्यो लाइनमा लाग्नुस् ।’ती वृद्धाले लाम नियालिन् र सुइड्ढय सुस्केरा हाल्दै भनिन्, ‘ओहो ! त्यो सकसपूर्ण लाममा फेरि कसरी लाग्नु ? हिजो पालो नपुगेर फर्कें, आज पनि त्यत्रो लाम ।’

रूपादेवी असिनपसिन अनुहारसहित टाउकोमा सल हालेर सय जनाभन्दा बढीको लामको अन्तिममा गइन् र थचक्क बसिन् । ‘आज पनि भत्ता नदिए म घरै जान्नँ’, उनले भनिन् ।

कालीप्रसाद र रूपादेवी मात्रै होइन, आइतबारदेखि वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता लिन बैंकमा लाम लागेका धेरै वृद्धवृद्धा सकस भोग्न बाध्य छन् । ‘म उभिन सक्दिनँ । लडेर मेरो ढाड भाँच्चिएको छ । मलाई लाममा नबसी रकम दिनुप¥यो,’ ७८ वर्षका कृतबहादुर तामाङले भने । तर उनको गुनासो सुन्ने कोही थिएन त्यहाँ ।

एकजना सहयोगीसहित आएका तामाङ लाम लागे । सहयोगीले उनलाई आफ्नो छातीमा अड्याए । तामाङले भने, ‘सरकार ! हामीलाई वडामै रकम दिने व्यवस्था गरिदेऊ ।’

धनगढी उपमहानगरपालिकाले मंसिरदेखि फागुनसम्मको ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाभत्ता कृषि विकास बैंकका शाखा कैलाली पुल र क्याम्पस रोडबाट वितरण गरिरहेको छ । अघिल्लो दिन लाम लागेर पालो नआएका धेरै वृद्धवृद्धा भोलिपल्ट फेरि लाममा बसेका थिए ।

‘हिजो ९ बजे लाममा लागेको थिएँ । २ बजेपछि बैंक बन्द भयो भनेर सटर तानिदियो । फर्केर गएँ, आज फेरि लाममा लागेकी छु’, देवी देउवाले भनिन् । ‘तपार्इंको घरमै वृद्धभत्ता ल्याइदिन्छौं भन्ने नेता कहाँ गए होलान् ? ’

हरेक वडामा सुरक्षा चौकी भएको धनगढी उपमहानगरपालिकामा भने सामाजिक सुरक्षा भत्ताका लागि वृद्धवृद्धाले सकस भोग्नुपरिरहेको ज्येष्ठ नागरिक लोकबहादुर कोलीले बताए । ‘वृद्ध भत्ता बढाउँछु भन्नेले बढाएनन् । अब यस्तो लामो लाम छिचोलेर बैंकको काउन्टरसम्म पुग्ने कसरी ? ’ उनले गुनासो गरे ।

कृषि विकास बैंकका दुवै शाखामा पुगेका ज्येष्ठ नागरिक, लाम बस्न नसकेर पल्टिरहेका देखिन्थे भने उनीहरूका साथमा आएका आफन्त सहारा दिइरहेका थिए ।

‘बिरामी छन्, लाममा उभिन सक्दैनन् । औंठाछाप लगाएर ल्याए पनि बैंकले मान्दैन । त्यसैले बाजेलाई बोकेर उभिइरहेकी छु’, धनगढी नगरपालिका १२ की शान्ति चौधरीले भनिन् । ‘गाउँगाउँमा भत्ता पु¥याउने चुनावी बाचा गरेका जनप्रतिनिधिलाई अहिले यी ज्येष्ठ नागरिकले पाएको सकसबारे चासो छैन ।’

धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिलाई ज्येष्ठ नागरिकको यो सकस राम्ररी थाहा छ । तर उनीहरूले सामाजिक सुरक्षा भत्ता सहज रुपमा उपलब्ध गराउन कुनै कदम चालेका छैनन् । ‘मलाई ज्येष्ठ नागरिकको त्यो सकस थाहा छ, तर सबै वडामा बैंक नभएका कारण समस्या समाधान गर्न असमर्थ छौं । यसबारे कार्यपालिकामा कुरा उठेको छ । अर्को बैठकमा सामाजिक सुरक्षा भत्ता वडामै वितरण गर्ने प्रस्ताव लैजानेछु’, उपमहानगरपालिकाकी उपमेयर सशुीला भट्टले भनिन् ।

उपमहानगरपालिकाले फूलबारी र उर्माका ज्येष्ठ नागरिकलाई कञ्चन विकास बैंकबाट र अन्य ठाउँका जेष्ठ नागरिकलाई लागि कृषि विकास बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.