‘लगानी गर्न ढुक्क हुनुहोस्’

‘लगानी गर्न ढुक्क हुनुहोस्’

काठमाडौं : सरकारले विदेशी लगानीको सुरक्षा, प्रतिफल र नाफा फिर्तालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लगानी सम्मेलन उद्घाटन गर्दै नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ भएकाले जुनसुकै क्षेत्र पनि खुला रहेको बताए।

प्रधानमन्त्री ओलीले लगानी संरक्षण गर्न र परियोजना कार्यान्वयनका क्रममा लगानीकर्ताले सामना गर्नुपर्ने कठिनाइ तत्काल सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। ‘लगानी सुरक्षा र प्रतिफलका हिसाबले ढुक्क हुनुहोस्। नेपालमा अवसर असीमित छ’, प्रधानमन्त्रीले ओलीले भने, ‘यहाँ लगानीकर्तालाई कुनै अवरोध हुने छैन। नेपाल राजनीतिक स्थायित्व प्राप्त गरी आर्थिक विकासको दिशामा अग्रसर हुन चाहेको छ।’

उनले नेपालमा लगानी गरेका कम्पनीले राम्रो प्रतिफल हासिल गरिरहेको भन्दै नेपालमा लगानी गरी लाभ लिन लगानीकर्तालाई आह्वान गरे। प्रधानमन्त्री ओलीले नेपाली बजारमात्र नभएर विश्वमै सशक्त र उदीयमान दुई ठूला अर्थतन्त्र चीन र भारतको बजारलाई समेत हेरेर प्रतिस्पर्धी लाभका क्षेत्रमा लगानी गर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि अत्यन्त अनुकूल वातावरण बन्दै गएको उल्लेख गरे। उनले भने, ‘नेपालमा लगानी गर्ने कम्पनीले लगानीको प्रतिफल विश्वका अन्य विकसित अर्थतन्त्रकै दाँजोमा हासिल गर्दै आएका छन्।’

नेपालमा सफल मानिएका विदेशी लगानीका उद्योग तथा व्यवसाय युनिलिभर नेपाल, एनसेल, बुटवल पावर कम्पनीको प्रतिफल १२ देखि १५ प्रतिशत छ। जुन विश्वका जुनसुकै अर्थतन्त्रमा पनि स्वस्थ प्रतिफल हो।

नेपालमा लगानी अनुभव साट्दै सूर्य नेपालका उपाध्यक्ष अभिमन्यु पोद्दारले लगानीको प्रतिफल स्वस्थ रहेको र लगानी फिर्ता लैजाने सम्बन्धमा कुनै गुनासो नरहेको बताए। उनले काठमाडौंको हात्तीगौंडामा ६ अर्ब रुपैयाँ लगानी गरेर पाँचतारे होटल निर्माण गर्न लागेको जानकारी दिँदै नेपालमा लगानी गर्न आफू उत्साही भएको बताए।

सम्मेलन उद्घाटन समारोहमा भारतको मुतहुट ग्रुपका अध्यक्ष एमजी जर्ज मुतहुटले नेपालको वित्तीय क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए।

नेपालको पर्यटन क्षेत्रमा लगानी गरेको अस्ट्रेलियाको सिल्भर हेरिटेज ग्रुपका सीईओ माइक बोल्सोभरले थप लगानीबारे सोचिरहेको बताए। सल्भर हेरिटेज ग्रुपले सन् २०११ देखि सांग्रिला होटलमा मिलेनियर्स क्लब क्यासिनो र डेढ वर्षदेखि भैरहवामा टाइगर प्यालेस रिसोर्ट सञ्चालन गरेको छ। उक्त ग्रुपले नेपालमा ६ अर्ब ८० करोड रूपैयाँ लगानी गरेको छ। सिल्भर हेरिटेजले पूर्वी नेपालको झापा र सुदूरपश्चिमको धनगढीमा रिसार्ट खोल्न इच्छा व्यक्त गरेको छ।

उद्घाटनसत्रमा अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च र दिगो आर्थिक विकासका लागि मुलुकभित्र पर्याप्त स्रोत तथा प्रविधि नभएकाले विदेशी लगानी आह्वान गरिएको बताए। ‘औद्योगीकरण प्रवद्र्धन, आधुनिक पूर्वाधार निर्माण, रोजगारी सिर्जना, निर्यात वृद्धि तथा नवप्रवद्र्धन र प्रविधि विकासका लागि हामीलाई विदेशी लगाानी चाहिएको हो,’ अर्थमन्त्रीले भने।

पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह तथा यसको गुणस्तर सुधारका लागि सरकारले सार्वजनिक–निजी साझेदारीको विभिन्न उपाय अघि सारेको अर्थमन्त्री खतिवडाले बताए।

पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालको जैविक विविधताले कृषि उत्पादनमा तुलनात्मक लाभ रहेको बताए। उनले जलविद्युत् र पर्यटनमा नेपाल अतुलनीय लगानी गन्तव्य भएको स्पष्ट पारे।

सम्मेलन उद्घाटन सत्रमा एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष सिसिन चेनले तीव्र आर्थिक विस्तारका लागि पूर्वाधारमा लगानी बढाउन सुझाव दिए। ‘उत्पादकत्व वृद्धि र सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता र गुणस्तर कायम गर्न अत्यावश्यक पूर्वाधारमा लगानी बढाउनुपर्छ,’ उनले भने। एडीबीले नेपाललाई वार्षिक ५० करोड डलर बराबरको वित्तीय स्रोत पूर्वाधार विकासका लागि दिने प्रतिबद्धता गरेको छ।

पश्चिम नेपालमा निर्माणाधीन गौतम बुद्ध विमानस्थल, मेलम्ची खानेपानी आयोजनाजस्ता एडीबीको लगानीमा निर्माण भएका ठूला पूर्वाधार आयोजनाले विकासको रफ्तार अझै तेज बनाउने उनको भनाइ थियो। विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष हात्र्विग साफरले नेपालमा लगानीको अथाह सम्भावना भएकाले निजी लगानीकर्तालाई ढुक्क हुन आग्रह गरे। ‘नेपालले रूपान्तरणका लागि उत्साही ढंगले पहल गरेको छ,’ उनले भने, ‘विगतमा सशस्त्र द्वन्द्व, लामो राजनीतिक संक्रमण, भूकम्पको मार बेहोरेको नेपाल नयाँ सोच र दृष्टिकोणले अघि बढ्न लागेको अनुभूति गरेको छु।’

सरकारले लगानी भिœयाउन उद्योग, ऊर्जा, वन तथा भूमि व्यवस्था, वातावरण, हवाईसेवा, वितीय सेवा, सार्वजनिक खरिद,       श्रम बजारसम्बन्धी नियमनमा सुधार ल्याएको छ। सूचनाप्रविधि, बौद्धिक सम्पत्तिको अधिकार, विदेशी विनिमय, बैंक तथा वित्तीय सेवा र सार्वजनिक वित्तका क्षेत्रमा निकट भविष्यमै सुधार अघि बढाइने अर्थमन्त्रीको भनाइ छ। नियामक पक्षमा सुधार गर्दै व्यवसाय सञ्चालनमा आउने झन्झट सकेसम्म कम गर्ने प्रतिबद्धता जनाउँदै सरकारले लगानीका लागि आह्वान गरेको हो।

सम्मेलनमा सहभागी सम्भावित लगानीकर्ताका लागि ऊर्जा, कृषि पूर्वाधार, औद्योगिक पूर्वाधार, पर्यटन पूर्वाधार, यातायात, शिक्षा र स्वास्थ्यका ७७ परियोजना प्रदर्शनीमा राखिएको छ। यीमध्ये ५० परियोजना सरकारले अध्ययन गरेका र २७ परियोजना निजी क्षेत्रबाट अध्ययन भई राखिएका हुन्।

लगानी सम्मेलनमा ४० देशबाट ६ सभन्दा बढी विदेशी लगानीकर्ता, सोही हाराहारीमा गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ता सहभागी छन्। सरकार र निजी क्षेत्रले शनिबार इच्छुक लगानीकर्तासँग सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर गर्ने कार्यक्रम छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.